जनता माध्यामिक विद्यालयमा ११ ,१२ कक्षा सञ्चालन गरिने



सागर रिजाल प्युठान । जनता माध्यामिक विद्यालय ऐरावती गाउँपालिका–६ बिजुलीमा पर्छ । यो विद्यालय वि.स. २०१६ सालमा स्थापना भएको हो । प्राथमिक तह(१–५) बाट सञ्चालनमा आएको विद्यालयमा अहिले वृद्धि हुदै कक्षा १० सम्म अध्ययन हुन्छ । गाउँपालिकाकै पुरानो विद्यालयको रुपमा स्थापित रहेको विद्यालयमा ११÷१२ कक्षा सञ्चालन नहुँदा समस्या आएको छ ।

उच्च शिक्षा हासिल गर्ने विद्यालय गाउँमा नहुँदा यहाँका विद्यार्थी गाउँ छाडेर पढनका लागि अनेत्र जाने गर्दछन् । यो समस्या हटाउनका लागि बिजुलीबासीले गाउँपालिकासंग ११÷१२ कक्षा सञ्चालनका लागि अनुमती मागेका छन् । गाउँपालिकाले गाउँबासीको मागलाई सम्बोधन गर्नेे गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो,–‘प्रक्रिया पुगेपछि सञ्चालनका लागि अनुमति दिन्छौँ । ’ बिजुलीबासी कक्षा सञ्चालनका लागि एकवद्ध भएका छन् । जिल्लाकै ६ नंम्बरमा स्थापित यस विद्यालय स्तरउन्नती नहुँदा यहाँका स्थानियहरु चिन्तीत छन् । गाउँमै उच्च शिक्षा सञ्चालन भएपछि आफ्ना छोराछोरी बाहिर पढनका लागि जान नपर्ने स्थानिय नारायण थापाले बताउनुभयो ।

गाउँमा सबै प्रतिवद्ध छन् , उहाँले भन्नुभयो,–‘थप कक्षा सञ्चालनका लागि हामी सबै एकजुट हुनुपर्छ । ’ शिक्षा भनेकै गाउँ सुधारको पहिलो अभियान भएकाले यसका लागि अग्रसर भएर गाउँबासी अगाडी वढने उनले विश्वास व्यक्त गर्नुभयो । उहाँ संगै सम्पूर्ण गाउँबासी गाउँमा उच्च शिक्षा ११÷१२ कक्षा सञ्चालन गर्न प्रतिबद्ध हुनुभएको छ । थप कक्षा सञ्चालनका लागि विद्यालयमा भौतीक पूर्वाधार भएकोे विद्यालयका प्रधानाध्यापक खडानन्द पोडेलले बताउनुभयो । अहिले ४ कोठे भवन बन्दै छ , उहाँले भन्नुभयो,–‘ यो भवन भएपछि हालचालको लागि भवन प¥याप्त छ । ’ संघिय शिक्षा मस्यौदामा माध्यामिक शिक्षा भनेर ९–१२ लाई भनिएपनि हाम्रो यस विद्यालयमा कक्षा १० सम्म पढाई भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘विद्यालयलाई १२ कक्षा सम्म सञ्चालन गर्न नसक्दा कक्षा ८ सम्म झर्छ कि भन्ने डर छ । ’ थप कक्षा पढाउनका लागि विषय शिक्षक विद्यालयमा भएको उहाँले बताउनुभयो ।

असारदेखि कक्षा सञ्चालन गर्ने गाउँलेको तयारी जनता माध्यामिक विद्यालय बिजुलीले ११÷१२ कक्षा थप्ने विषयमा विहिवार विशेष भेलाको आयोजना गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष याम बहादुर गुरुङको अध्यक्षतामा भएको भेलामा गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेत प्रमुख अतिथि रहनुभएको थियो । उहाँ संगै बिजुली गाउँका स्थानिय, विद्यालयका शिक्षक, राजनीतिक दलका प्रतिनिधि, उद्योगी तथा व्यवसायीहरु लगाएत सम्पूर्ण अभिभावहरुको उपस्थिती रहेको थियो । भेलाले असारदेखि ११ कक्षा सञ्चालन गर्ने योजना बनाएको छ ।

गाउँलेहरु अहिलेसम्म आफ्ना छोराछोरीलाई पढनपाठनका लागि बाहिर पठाउनुपर्ने बाध्यता भएपनि अबका दिनमा गाउँमै पढाउन पाउने भएपछि खुसी भएका छन् । भेलामा गाउँपालिका उपाध्यक्ष बस्नेतले कुनै पनि मुलुकको सपना साकार पार्न सबैभन्दा पहिला आफ्नै जिवन सुन्दर हुनुपर्र्ने र हरेक मान्छेको सुन्दर जीवन शिक्षालेनै बनाउने बताउनुभयो । उच्च आंकक्षा सहित यस पूर्वी प्युठानको सबैभन्दा पुरानो ईतिहास बोकेको विद्यालयलाई ११÷१२ कक्षा सञ्चालन गर्ने अभिलासा सहित आयोजित यस भेलाले आफुलाई प्रसन्न बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयोे,–‘हामीले आज सपना देखेका छौँ, निरन्तर प्रयास गरेपछि त्यो विपनामा परिणत हुन्छ र उच्च साहस र मनोबल सहित अभियानमा जुटौ हामी हाम्रो उदेश्य प्राप्ती गर्ने छौ । ’ आज हामिले शिक्षाको बारेमा चर्चा गर्दै गर्दा हाम्रो शिक्षा नीतिमा पनि पूर्नविचार गर्नुपर्ने देखिन्छ । हाम्रो शिक्षा व्यवसायिक हुनुपर्छ , कामकाजी हुनुपर्छ , पढेको मान्छे सज्जन र भरोसायोग्य हुनुपर्छ साथै सक्षम समेत हुनुपर्ने उहाँले बताउनुभयो । भेलाका प्रमुख अतिथि समेत रहेका बस्नेतले हिजोको दिनमा विकास माग र पहुँचका आधारमा हुनेगथ्र्यो, अहिले मुलुक परिवर्तन भईसकेको बताउनुभयो ।

आज विकास समानता र आवश्यकताका आधारमा हुनेगर्छ । आज यहाँको भूगोल, यहाँका जनता र यहाँको आवश्यकता सबै एकैठाउँमा केन्द्रित भएकोे छ । उहाँले भन्नुभयो,–‘यस अभियानमा मेरो साथ रहने छ । ’ वरिपरिका आफ्नो भन्दा कान्छो ईतिहास बोकेका विद्यालयहरु ११÷१२ कक्षा सञ्चालनमा आईसकेको देख्दा अलिकति रहर पैदा हुनु र त्यो भन्दा धेरै प्रेसर पैदा हुनु तपाई हाम्रो लागि स्वभाविक छ तर पनि ११÷१२ कक्षा सञ्चालन गर्न नसक्दा अहिलेनै कक्षा घटुवा हुनुपर्ने बाध्यता छैन् । उहाँले भन्नुभयो,–‘ हामी अब अभियानमा वढौ, गाउँपालिका तहबाट गर्न सक्ने सबै क्षेत्रमा मेरो जोडदार साथ रहने छ ।’ साथै उपाध्यक्ष उच्च कक्षा सञ्चालनका लागि गाउँपालिकाबाट पाउँने एक महिनाको पारिश्रमिक विद्यालयलाई दिने बताउनुभएको छ ।

आर्थिक जुटाउन समिति गठन उच्च कक्षा संञ्चालनका लागि भेलाले विद्यालय व्यवस्थापनि समितिका अध्यक्ष याम बहादुर गुरुङको संयोजकत्वमा १५ सदस्यीय मूल समिति, ३३ सदस्यीय उपसमिति र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष समेत रहने गरि ६ सदस्यिय सल्लाहाकार समिति गठन गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्