नित्यानन्दको डकुमेन्ट्री अब ‘यु ट्युबमा’



दाङ ।
स्वर्गीय नित्यानन्द शर्माको व्यक्तित्वमा आधारित भएर वृत्तचित्र निर्माण भएको छ । साहित्यकार, पर्यटनविद् तथा संस्कृतिका खोज एवम् अनुसन्धानकर्ता समेत रहेका शर्मा दाङ साहित्य तथा संस्कृतिका धरोहर मानिन्छन् ।

नेपाली साहित्यको उन्नयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका शर्माले दाङको पर्यटन र संस्कृतिलाई विस्तार गर्न खेलेको भूमिका निकै प्रशंसनीय रहेको वृत्तचित्रमा उल्लेख गरिएको छ ।
दाङ जिल्लामै रहेर लामो समयदेखि पत्रकारिता र साहित्य लेखनमा सक्रिय रहँदै आएका आदिम के।सी।को नेतृत्वमा रहेको समूहले शर्माको वृत्तचित्र निर्माण गरेको हो ।

सम्भवतः दाङमा यस्तो खालको वृत्तचित्र निर्माणको अभ्यास पहिलो रहेको वृत्तचित्रका निर्देशकसमेत रहेका के।सी।ले बताए । साथै निर्देशक केसीले मोफसलमा साहित्यिक तथा सामाजिक व्यक्तिहरू सधैं ओझेलमा पर्ने गरेको बताउँदै यस्ता व्यक्तिको योगदानलाई विश्वव्यापी बनाउनका लागि पनि यो अभ्यासको थालनी मोफसलबाटै गरिएको बताए ।

उनले थपे, यो परम्पराको लागि थालनी हो, अब यसलाई सबैले अनुकरण गर्न जरूरी छ, यस्तो गर्न सकेमा यस्ता प्रतिभा पर्दा पछाडि नपर्ने र ओझेल पनि पर्ने छैनन्।
यस्तो कार्यको सोच कसरी आयो भन्ने जिज्ञाशामा केसीले भने सामाजिक व्यक्तिलाई पछिल्लो पुस्तासम्म पुर्‍याउने र उनीहरूको योगदानसँग साक्षात्कार बनाउनका लागि यो सोच आएको हो ।

टेलिभिजन कार्यक्रमका लागि छायाङ्कन गरिएका दृश्यलाई शर्माको मृत्युपश्चात वृत्तचित्रका रूपमा सम्पादन गरेका हौँ । हामी पूर्ण रूपमा वृत्तचित्रको गहिराइमा छैनौँ होला तर यो अबश्य पनि उदाहरणीय काम बनेको छ भन्ने हाम्रो आशा छ ।

निर्देशक केसीले बताए । हामीसँग प्रशस्त फुटेज थिएन, फुटेजको अभावमा पनि यत्तिको बनाउन सकिएको छ, यसलाई हामी आरम्भको उपलब्धीका रूपमा लिएका छौँ ।वृत्तचित्रका परिकल्पनाकार सुदन नेपालले बताए ।

वृत्तचित्रमा छायाङ्कन तथा परिकल्पना सुदन नेपालको रहेको छ । पोस्ट प्रोडक्सन नारायण नेपालको रहेको छ भने प्राविधिक क्षेत्रको काम सि.एन च्यानलको रहेको छ । वृत्तचित्रको सम्पादन हिमाल आर्टसको रहेको छ ।

वृत्तचित्रमा आदिम केसीले स्वराङ्कन गरेका छन् । आगामी दिनमा पनि निरन्तर रूपमा यस्ता डकुमेन्ट्री बनाउँदै जाने परिकल्पनाकार नेपालले जानकारी दिए।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्