नियन्त्रित लागूऔषधसहित ६ जना पक्राउ



 

 

काठमाडौं । नियन्त्रित लागूऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । काठमाडौं लगायत विभिन्न जिल्लाबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट सिन्धुपाल्चोक चौतारा नगरपालिका–२ का ३४ वर्षीय विदुर थापालाई नियन्त्रित लागूऔषध डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल, नुर्फिन ५० एम्पुल र नाइट्राभेट १ सय ८० ट्याव्लेटसहित प्रहरीले बुधबार साँझ पक्राउ गर्यो ।

नारायणगढबाट काठमाडौंतर्फ आउँदै गरेको ना।५ ख ९५५ नम्बरको बसमा जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित बसबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका– २ नागढुंगाबाट भारत विहारका १९ वर्षीय महम्मद सवीरलाई नियन्त्रित लागूऔषध डाइजेल्याब १ सय एम्पुल, फेनारगन १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना।७ ख ५९५९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

पर्सा, पर्सागढी नगरपालिका–१ मनवा बजारबाट सोही नगरपालिका–२ बस्ने २० वर्षीय रामचरण महतो चौधरी समेत ३ जनालाई नियन्त्रित लागूऔषध नाइट्रोभेट ६० पिससहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध सेवन गरी स्थानीयसँग बादविवाद गरिरहेको भन्ने खबर प्राप्त हुन साथ प्रहरी चौकी मनवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका–१० बुद्धचोक बस्ने सोही महानगरपालिका–९ घर भएका ३८ वर्षीया देवी कुमारी गुप्तालाई डाइजेपाम ३ सय एम्पुल, फेनरागन ३ सय एम्पुल र नुर्फिन ३ सय एम्पुल सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखरा अमरसिंह चौरमा उनको झोला जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्