घोराही २ को गंगा माबि रामपुर प्रदेशकै प्रविधि मैत्री बिद्यालय



घोराही उपमहानगरपालिका वडा नम्बर २ स्थित गंगा माध्यमिक विद्यालय रामपुर प्रदेशकै प्रविधि मैत्री विद्यालय भएको छ । सो विद्यालयमा अब देखी कम्प्युटरका माध्यमबाट स्मार्ट बोर्ड प्रयोग गरेर पढाई हुनेछ ।

नेपाल सरकारले प्रत्येक प्रदेशका एक एक विद्यालयलाई प्रविधिमा स्मार्ट विद्यालय बनाउने निति अनुरुप प्रदेश नम्बर ५ मा गंगा माध्यमिक विद्यालय रामपुर प्रविधि मैत्री स्मार्ट विद्यालय भएको हो । प्रदेश सरकारको सिफारिसमा नेपाल टेलिकमले उपलब्ध गराएका सामग्री सबै जडान भएका छन् ।

६० थान कम्प्यूटर, १६ थान सिसि क्यमरा, १२ थान स्मार्ट बोर्ड, १४ थान मल्टिमिडिया प्रोजेक्टर लगायतका सामग्री जडान भएका हुन् । हस्तान्तरित सबै सामग्री कक्षा कोठामा जडान भैसकेको छ । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष जगतप्रसाद चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आथित्यतामा मंगलबार एक कार्यक्रम गरी विद्यालयलाई प्रविधी मात्रै बिद्यालय घोषणा गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले शैक्षिक गुणस्तर र प्राबिधिक ज्ञानको बिकास गर्न प्रविधि मैत्री शिक्षण सिकाईले सहयोग गर्ने बताउनुभयो ।

उहाँले नगर क्षेत्रका सबै विद्यालयलाई बाल तथा अपाँग मैत्री बनाउने नगरको योजना रहेको भन्दै त्यससँगसँगै विद्यालयलाई प्रविधि मैत्री पनि बनाईने समेत उल्लेख गर्नुभयो । कार्यक्रममा विशिष्ठ अथिति नेपाल टेलिकमका बरिष्ठ लेखा अधिकृत केशवराज देवकोटा, वडा नम्बर २ का अध्यक्ष केशवराज आचार्य, विद्यालयका प्रधानाध्यापक शशीधर उपाध्याय, सहायक प्रधानाध्यापक एम बि केसी लगायतले प्रविधिले शिक्षा क्षेत्रमा परिवर्तने ल्याउने बताउनुभयो ।

यसैबिच प्रविधिबाट शिक्षण गर्ने विधिका बारेमा जानकारी दिन सोही विद्यालयका शिक्षकहरुका लागि तिन दिने तालिम दिईएको छ । नेपाल टेलिकमका प्राविधिकहरुले प्रविधिबाट शिक्षण गर्ने विधि, प्रविधि सञ्चालन लागयतका बारेमा जानकारी दिएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्