बेइजिङ । गम्भीर सीमा विवादमा अल्झिएका दुई देश भारत र चीन आज सातौं चरणको वार्ता गर्दैछन् । दुवै पक्षबीच तनाब कम गर्न सैन्य कमाण्डरस्तरीय सातौं वार्ता हुन लागेको हो ।
यो वार्तामा चीनबाट वरिष्ठ कुटनीतिज्ञ समेत सहभागी हुने भारतीय सञ्चारमाध्यम टाइमम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
सो पत्रिकाका अनुसार बैठकमा चिनियाँ विदेशमन्त्रालयका अधिकारी एवं जनमुक्ति सेनामा राजनीतिक कमिसार समेत सहभागी हुनसक्ने जनाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको जनमुक्ति सेनामा सैन्य कमाण्डरको साथसाथ राजनीतिक कमिसार पनि हुनेगर्छन् ।
यसअघि गत २१ सेप्टेम्बरमा भएको छैठौं चरणको वार्तामा भारतको तर्फबाट एकजना वरिष्ठ कुटनीतिज्ञ पूर्वी एशियाका लागि संयुक्त सचिव नवीन श्रीवास्तवले सहभागिता जनाएका थिए ।
१० सेप्टेम्बरमा दुवै मुलुकका विदेशमन्त्रीबीच रुसको मस्कोमा वार्ता भएको थियो । सो वार्तामा सीमा क्षेत्रमा भएको तनाब घटाउन पाँच बुँदे सहमति समेत भएको थियो । यद्यपी सहमति कार्यान्वयन भने हुनसकेको छैन ।
भारतको पूर्वीलद्धाख (चीनको अक्साई चीन) क्षेत्रस्थित लाइन अफ एक्चुअल कन्ट्रोलमा मे महिनादेखि सुरु भएको तनाब गत जुन १५ मा हिंसात्मक झडपमा परिणत भएको थियो ।
सो झडपमा २० जना भारतीय सेनाको ज्यान गएको थियो भने कैयौं घाइते भएका थिए । त्यसपछि दुवै देशबीच ४५ वर्ष यताकै सबैभन्दा ठूलो तनाब उत्पन्न भएको छ । दुवै देशले अत्याधुनिक हतियारले लैस पचासौं हजार सैनिक सीमा क्षेत्रमा तैनाथ गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।