त्यस्तो गर्नु ठिक हो त ?



सानो छँदा आलु काउली, मासु, चिउरा, पुलाउ खान पाइने लोभमा दशैंको बेलामा टाढा टाढाको नाता लाग्ने मानिसहरूको घरमा गइन्थ्यो । नयाँ लुगाप्रतिको मोह कम भए पनि दशैंमा नातागोता साथीहरूसँग भेटघाट गर्ने कार्यक्रमचाहिँ अहिले झन् बढदै गएको छ । यो राम्रो सामाजिक पक्ष हो ।

अहिले कतिपय बयस्कलाई उच्च रक्तचाप, मधुमेह आदि भएको छ । त्यस्तो मान्छेले त दशैंको बेला जिब्रोलाई लगाम नै दिनुपर्छ । तर प्राय यस्ता मानिसहरूलाई पनि दशैंमा खानको लोभ रोक्न गाह्रो हुन्छ । एकछिन खान त रमाइलो नै हुन्छ । तर स्वास्थको पनि ध्यान दिनु पर्छ भन्ने कुराचाहिँ बेवास्ता गरिन्छ । एक गाँस “कम खानु खास गाह्रो कुरा त होइन, स्वास्थ्य समस्या परेका मानिसललाई कोचेर खाँदा त बित्यास नै पर्छ ।”

दशैंको बेलामा मासु त जोडिएको नै हुन्छ । “दशैंमा मासु भात नखाए के दशैं” भन्ने सोच प्राय हुन्छ । पहिले पहिले मासु खान शायद चाड पर्व नै पखर्नु पर्ने हुनाले यसो भनिएको हो कि ?

हुन त अहिलेको बेलामा मासु खान दशैं नै पर्खन त पर्दैन । तै पनि विशेष गरी तिहार र दशैंका बेलामा मासु भात, मासु चिउरा, मासुका अनेक परिकारहरूसँगै मसालेदार र तेल घिउले लदबद भएको खानेकुरा घरघरमा नै खाइन्छ । गाउँ ठाउँमा मासुभात खानको लागि पहिलेदेखि नै खसी, बोको, सुगुर आदि पालेर राखेको हुन्छ । यो बेलामा समुदायमा खसी, बोको, सुगुर मिलेर पनि काटिन्छ, बेसगरी खाइन्छ । तर यरी धेरै मासु र खाना खाँदा हामीले कति स्वस्थ भोजन गर्दछौं, सोच्ने बेला भएको छ ।

दशैं तिहार र अन्य धेरै संस्कृति, धार्मिक चाडपर्वलाई परिवार र साथीहरूसंग मिलेर मनाउनाले हाम्रो जीवनमा धेरै नै सकारात्मक उर्जा मिल्छ । दशैं तिहारको बेला गाउँ घरमा त कति जना वर्षभर बाहिर काम गरेर घर फर्किन्छन् । इद र क्रिसमस मान्नेहरू आफ्नो धार्मिक दिवस पनि त्यसैगरी पारिवारिक जमघट गरेर रमाइलो गर्छन् । प्रत्येक चाडले मानव मनमा खुसी ल्याउछ, सम्बन्धहरू नजिक पार्छ, वातावरण रमाइलो पार्छ । यसले गर्दा स्वास्थ्यमा पनि विशेष गरी मानसिक स्वास्थ्यमा त झन् प्रभाव पर्छ ।

तर यो रमाइलोको बेलामा यदि खानपिनमा (विशेष गरी विभिन्न स्वास्थ्य समस्या भएका बयस्क वा बुढाबुढीहरूले) खानपिनमा ध्यान राखेनन् भने त दशैं र चाडपर्व सिद्धिनेबित्तिकै अनेक स्वास्थ्य समस्या भएर डाक्टर, अस्पताल, औषधि आदिको पछि लाग्नुपर्छ । “दशैंमा मनाइएको आनन्द अहिले निस्किरहेछ । के गरौं, मासु देखेपछि स्वादिष्ट तरकारी खाँदा हात र मुख थाम्न सकिन्न, कसैको घरमा तास खेल्न गयो भने भुटेको मासु र चिउरा दिंदा नाइँ भन्न सकिन्न” यसो भन्छन् कतिपयले ।

“एक छिन नाइँ” भन्न नसकेपछि दशैंको बेलाको मासु र चिउरा, पुलाउ, मासु र भात धेरै खाएर रक्तचाप बढेर, मधुमेह भएकाहरूको त रगतमा चिनी बढेर समस्या परेपछि र बाथको समस्याले गाँजेपछि र खुट्टा र हातका हड्डीहरू धमाधम दुख्न थालेपछि “अति बढी नै खाइएछ कि क्या हो” भन्ने लाग्छ । तर खाएर शरीरको रगतमा गइसकेपछि ती वस्तुलाई चाहेर पनि निकाल्न सकिन्न । औषधिले केही दुखाई त कम गरे पनि दुखाइ सहनु नै पर्छ । फेरि कति चोटी त समस्या यती बढ्छ कि औषधिहरू पनि “कमजोर” साबित हुन्छन् ।

औषधि धेरै खाँदा फेरि अरु समस्या । औषधिले सधैं रोगहरू निको पार्दा हुन त, अमेरिकामा त धेरै जनाको अनेक रोगहरू निको भइसक्यो होला । तर वास्तवमा त्यस्तो हुँदैन । फेरि दुखाई कम गर्ने कतिपय औषधिको धेरै प्रयोग गर्दा त्यसले मृगौलामा नै समस्या पार्छ भनेर सिद्ध भइसकेको छ । तै पनि बरु पछि जे होला, देखा जाएगा । अहिले त आनन्दसँग खाउँ, मरेर जाने चोला त हो नि, किन पिर गर्नु ? भन्ने जस्ता तर्क दिएर कतिजनाले खाइरहन्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्