कामदारले पाउने एक महिनाको तलब बराबरको रकम व्यवसायीले सेवा शुल्क पाउनुपर्ने



काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित नेतृत्वले सेवा शुल्क परिवर्तन र म्यानपावर कम्पनी नवीकरणका लागि वार्षिक रुपमा कामदार वैदेशिक रोजगारमा पठाएको शर्त परिमार्जन तत्कालका लागि संघको प्रमुख एजेण्डा रहेको बताएको छ ।

संघको सम्पन्न २७औ साधारणसभाबाट अध्यक्षमा विजयी विष्णुप्रसाद गैरेको कार्यसमितिले बिहीबार पदवहाली गरी औपचारिक रुपमा कार्य प्रारभ्भ गरेको छ । शुक्रबार नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा, महामन्त्री शशांक कोइराला र वरिष्ठ नेता राम चन्द्र पौडेललाई भेटी वैदेशिक रोजगार क्षेत्रका समसामयिक समस्याका बारेमा छलफल गरेको संघ नेतृत्वले शनिबार संवाद चौतारीले आयोजना गरेको अन्तरक्रियामा उक्त जानकारी दिएको हो ।

अन्तरक्रियामा संघका अध्यक्ष गैरेले संघले गर्ने कामका बारेमा आफ्नो चुनावी प्रतिवद्धतामा स्पष्टताका साथ उल्लेख गरेको बताउँदै ती प्रतिवद्धतालाई तत्कालीन र दीर्घकालीन योजना बनाई दुई वर्गमा विभाजित गरेर कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाएर अनुसार काम गर्ने बताए । उक्त प्यानलले वैदेशिक रोजगार नियमावली तथा सेवा शुल्क परिमार्जन लगायतका काम गर्ने उल्लेख गरेको थियो ।

संघको २७ औं साधारणसभा उद्घाटन शत्रका विशिष्ट अतिथि रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउन यस क्षेत्रमा समस्या समाधान गर्ने ईच्छा व्यक्त गरेको भन्दै अध्यक्ष गैरेले वैदेशिक रोजगारीमा जाने कामदारको अधिकार र उनीहरुलाई पठाउने निजी क्षेत्रका व्यवसायीको हित रक्षा गर्ने विषयमा आफुहरु केन्द्रित हुने बताए ।

रोजगारदाताले सेवा शुल्क दिन नसकेको अवस्थामा प्रति कामदार दश हजार रुपैयाँ सेवा शुल्क लिएर कामदार पठाउन नसकिने विषय संघको अघिल्लो कार्यसमितिको पालादेखि नै निरन्तर उठ्दै आएको विषय रहेको भन्दै नवनिर्वाचित अध्यक्ष गैरेले अब वैदेशिक रोजगारीमा कामदार पठाउने अन्य दक्षिण एशियाली मुलुकको अभ्यास अनुरुप कम्तीमा कामदारले पाउने एक महिनाको तलब बराबरको रकम व्यवसायीले सेवा शुल्क पाउनुपर्ने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा छलफल केन्द्रित गरिने बताए ।

खाडी मुलुकहरुमा त्यहीँका नागरिकहरुलाई रोजगारीमा प्राथमिकता दिने नीति त्यहाँका सरकारले अख्तियार गरेकोले नेपाली कामदारका लागि अवसर घट्दै गएको भन्दै नवनिर्वाचित अध्यक्ष गैरेले वैदेशिक रोजगार बोर्डमा रहेको कोष मार्फत यूरोप सहित अन्य मुलुकमा नयाँ रोजगार गन्तव्य खोज्न ढिला गर्न नहुने मान्यतामा आफु रहेकोले सरकारलाई त्यस विषयमा घचघच्याउने बताए ।

वैदेशिक रोजगार व्यवसायीहरुले ऐन नियमको परिधिमा कार्यालय सञ्चालन गरी आचार संहिताको पालनामा आफुले जोड दिने भन्दै अध्यक्ष गैरेले पछिल्ला दिनमा संस्थागत रुपमा हुने वैदेशिक रोजगारी ठगीका उजुरीको संख्या घट्दै गइरहेको बताए ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष विमल ढकालले वैदेशिक रोजगारका क्षेत्रमा रहेका समस्याहरुको समाधान गर्न आफुले पूर्व अध्यक्षको हैसियतमा भूमिका निर्वाह गर्न तयार रहेको भन्दै संघको नयाँ नेतृत्वले मन्त्रालय र मन्त्रीसँग उचित समन्वय गरेर समस्याहरुको समाधान खोज्नुपर्ने धारणा राखे ।

पूर्व अध्यक्ष ढकालले संघको निवर्तमान नेतृत्वले मन्त्रालयमा पुगेर मन्त्रीसँगको छलफलमा एउटा कुरामा सहमति गर्ने अनि बाहिर आएर अर्कै कुरा व्यवसायी र मिडियाकाबीच राख्दा आपसी अविश्वास उत्पन्न गरेको दाबी गर्दै त्यसकै कारण छिट्टै समाधान हुनसक्ने कतिपय समस्याहरुले पनि लामो समयसम्म निकास नपाएको र त्यसले व्यवसायीबीच निराशा र छट्पटी उत्पन्न गराएको बताए ।

पूर्व अध्यक्ष ढकालले भने, ‘विगतमा साथीहरुले मन्त्रीसँग एउटा कुरा गर्ने बाहिर आएर अर्कै कुरा गर्नु भयो, त्यसले कतिपय अवस्थामा दिग्भ्रमित पनि तुल्यायो, मन्त्रीको छविलाई पनि खराब गर्ने काम ग¥यो, तर अब हामी भित्र जे भएको हो बाहिर पनि त्यही सत्य बोल्छौं मन्त्रीको छवि पनि खराब हुन दिदैनौं । टक्कर आउन पनि दिदैनौं ।’

पूर्व अध्यक्ष ढकालले वर्तमान मन्त्री छोटो समयको राजनीति गर्ने व्यक्ति नभई दीर्घकालीन लक्ष्य राखेको राजनीतिककर्मी भएकाले राष्ट्रिय सरोकारको विषयमा काम गर्ने आफुले विश्वास लिएको बताए ।

संघमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका उम्मेदवारहरुले पुरै प्यानल जितेको विषय नौलो र आश्चर्यको विषय नै नभएको पूर्व अध्यक्ष ढकालले दावी गरे । उनले भने, ‘संघमा हाम्रो समर्थक साथीहरुको उपस्थिति लगभग दुई तिहाई छ, विगतमा हामीबीच आपसी मिलन भएन, कतिपय वागी उम्मेदवारहरु पनि प्रतिस्पर्धा गर्न आउँदा हामीले हा¥यौं, अहिलेजस्तै अनुशासन कायम हुनसक्यो भने संघमा सधै फोरमका उम्मेदरवारहरुले जित्ने पक्कापक्की छ । तर जित्नेले संसारै जितेको सम्राट जस्तो गर्ने र हार्नेले पनि संसारै गुमेको जस्तो हिनताबोध गर्नु आवश्यक छैन ।’

ढकाल अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका थिए । त्यसबेला वर्तमान प्रधानमन्त्रीले प्रतिस्पर्धी प्यानलको चुनावी सभामा आएर गरेको भाषण अनुसार काम नभएपछि व्यवसायी आक्रोसित र निराश भएको भन्दै पूर्व अध्यक्ष ढकालले नयाँ नेतृत्वले गम्भीर गृहकार्य गरी समन्वयका आधारमा मन्त्रालयसँग काम गर्न सक्नुपर्ने सुझाव पनि दिए ।

नवनिर्वाचित महासचिव सुजित श्रेष्ठले विगतमा व्यवसायी र कामदारका पक्षमा काम नभएकाले व्यवसायी र संघबीचको दुरी बढेर गएको र एक खालको फाटो देखिएको भन्दै नयाँ कार्यसमितिले व्यवसायीको संघप्रति अपनत्व हुने गरी कामको शुरुवात गर्ने प्रतिवद्धता जनाए ।

अध्यक्ष गैरेले जस्तै व्यवसायीहरुका समसयालाई समाधान गर्न तत्काल र दीर्घकालीन योजना बनाएर काम गर्र्ने भन्दै महासचिव श्रेष्ठले तत्कालका लागि म्यानपावर कम्पनीको नवीकरणका लागि वैदेशिक रोजगार (पाँचौ संशोधन) नियमावली २०७६ मा आएको पछिल्ला दुई आर्थिक वर्षमा प्रत्येक वर्ष एक–एक सयजना कामदार वैदेशिक रोजगारीमा पठाएको हुनुपर्ने भनी आएको व्यवस्था परिवर्तन गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसँग छलफल गर्ने जानकारी दिए ।

महासचिव श्रेष्ठले १५ महिनादेखि अवरुद्ध मलेसिया रोजगारी खुले पनि केही प्राविधिक समस्याहरु सिर्जना गराइएकाले त्यसको समाधान खोज्ने र वैदेशिक रोजगार मागपत्र प्रमाणीकरण निर्देशिका अनुरुप डिमाण्ड प्रमाणीकरण नगरी केही नेपाली दूतावासहरुमा समस्या सिर्जना गरिएकाले त्यसको समाधान गर्ने पनि तत्कालीन कार्यभार रहेको बताए ।

सेवा शुल्कमा परिमार्जन गरी कामदार पठाउने दक्षिण एशियाका अन्य देश सरह बनाउने, व्यवसायीका पक्षमा ऐन कानूनको परिमार्जनका लागि दवाव दिने संघको नवनिर्वाचित नेतृत्वको दीर्घकालीन कार्ययोजना रहेको पनि महासचिव श्रेष्ठले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्