दशैं, टिकट र सरकार




दशैं महान धार्मिक चाड मात्र नभएर लाखौं नेपालीहरूको पारिवारिक मिलनको बखत पनि हो । विगतको केन्द्रीकृत व्यवस्थाको कारणपनि होला अहिले पनि लाखौं नेपालीहरु आफ्नो भाग्य र भविष्यको परीक्षण गर्दै राजधानी काठमाडौं वरपर केन्द्रित छन् । दशैं यस्तो अवसर हो जतिबेला सबैलाई बा आमाको काखमा फर्कने अवसर मिल्दछ । देश धर्म निरपेक्ष भएसँगै लामो बिदा त काटेको छ तरपनि दशैं मनाउन घर जानेको लर्को त कसले रोक्न सक्थ्यो ।

प्रत्येक वर्ष करिब २५ लाख यात्रुहरुले काठमाडौं छाड्ने ट्राफिक प्रहरीले अनुमान गरेको छ ।

जनताको अत्यावश्यक सुविधाको ग्यारेन्टी गरेको बताउने सरकारको यातायात र सडक सुबिधातर्फ पटक्कै ध्यान नपुगेको बुझ्न गार्हो छैन् । दशैं लाग्नु अगावै बाटो जामको कारण बिरामीसमेत समयमा अस्पताल पुग्न नसकेको र मृत्युवरण गर्नुपरेको घटनाले त्यसलाई पुष्टि गर्छ ।

शुक्रबार दिउँसो काठमाडौंबाट नेपालगन्ज हिँडेका तेज बहादुर बस्नेत शनिबार साँझ बल्ल गन्तव्यमा पुगे । उनी भन्छन्, ‘अघिपछि भन्दा सात घण्टा ढिला भयो ।” बाटो जामको फाइदा उठाउने काला बजारीहरुको पनि चर्चा गरेर साध्य छैन । केहीदिनमै बजार अनुगमनको अर्को नाटक मञ्चन हुनेछ तर जनताको सास्तीमा कुनै कमी आउने छैन ।

दशैं छोराछोरी घर फर्केलान् भनेर दिन गनेर बसेका बाआमा लाई भेट्न आतुर सन्तान उत्साहको साथ बसपार्क त पुग्छन् तर टिकट नपाएपछि निराश हुँदै फर्कने वातावरण अहिले छ । आफूले चाहेको दिनको गाडीमा खाली सीट नभएपछि बस खाली भएका दिनको टिकट काटेर फर्किनेको संख्यापनि कम छैन । बर्दियाका प्रेम डाँगीले यसपाली अफिसमा चाँडै बिदा मिलाए । उनले १२ गते घर जाने चाँजो पाँजो मिलाएर गत बुधबार नै काउन्टरमा पुगे । टिकट काउन्टरमा लाईन बसेर थकित भएका उनले त्यो दिनको टिकट बाँकी नरहेको थाहा पाए । उनी भन्छन्, “त्यसपछि मैले १८ गतेको टिकट काट्न पर्यो ।”

त्यसो त १८ गते सम्मलाई अन्तिम र क्याबिनका बाहेक सबै सीट बुकिङ भइसकेको राप्ती काउन्टरमा कार्यरत राजेश केसी बताउँछन् ।

तुलसीपुर डिलक्सका एक यातायात व्यवसायी भन्छन्, ” अहिले १८ गते सम्मका सबै टिकट बुकिङ भइसकेको छन् ।”

भदौको अन्तिम साताबाट सुरु भएको बुकिङमा दैनिक करिब १० हजारले टिकट काटिरहेको बताइएको छ ।

बाटोमा आउने ठूला सवारी साधनको सुस्त गति र बाहिर जाने सवारीसाधनका चालकलाई मादक पदार्थ सेवनकाे जाँच गर्नुपर्ने भएकाले जामको अवस्था आएको प्रहरी बताउँछ ।

सरकारले २५ लाख जनतासँग सम्बन्धित यातायात व्यवस्थापन र जनताको आधारभूत अधिकारबारे चासो नदिएको जनताले गुनासो गरेका छन् ।

गुनासो कक्षको स्थापना त भएको छ तर वृद्ध, अशक्त, अपाङ्गता भएका ब्यक्तिहरुकोलागि विशेष व्यवस्था हुन नसकेको तर्फ ध्यान दिन अब अबेर भएन र ?

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्