को हुन् एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्त ?



गैर आवासीय नेपाली संघ एनआरएनए को अध्यक्षमा जर्मनीमा बस्ने कुमार पन्त निर्वाचित भएका छन् ।

संघको काठमाडौंमा सम्पन्न नवौं विश्व सम्मेलनबाट पन्त अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्ष पदका लागि भएको निर्वाचनमा पन्तले एक हजार दुई सय १७ मत पाए । उनका प्रतिस्पर्धी अध्यक्षका अर्का उम्मेदवार कुल आचार्यले एक हजार ७० मत पाएका थिए ।

पन्त जर्मनी र आचार्य बेलायतमा रहेर व्यवसाय गर्छन् । पन्तले जर्मनी, बेल्जियम, स्वीट्जरल्याण्डमा गरी २९ वटा होटल संचालन गरेका छन् । उनले सन् २०२१ सम्म संघको नेतृत्व गर्नेछन् । २० वर्ष अगाडि युरोप छिरेका कुमार पन्तले युरोपका विभिन्न देशका करिब एक दर्जन तारे होटलमा लगानी गरेका छन् ।

कामदारबाट मालिक कसरी बने ?

त्रिभुवन विश्व विद्यालयबाट समाजशास्त्रमा स्नातक गरेका पन्त अध्ययनका क्रममा पहिलोपटक ग्रीसको एथेन्स पुगेका थिए । युरोप जाँदा बुवाले दिएको एक हजार युरो सकिएर बेखर्ची बनेपछि भान्दाइको सहयोगमा जर्मनी छिरेका कुमारले होटल व्यवसायमा एकपछि अर्को सफलता हासिल गरे ।

जर्मनीमा एक कोरियन रेष्टुरेन्टमा काम शुरु गरेका पन्त ८ महिनामै म्यानेजर बने। तर, उनलाई आफ्नो पढाईको चिन्ताले सताइरहेको थियो । होटेल मालिकसँगको समझदारीमा उनले अध्ययन गर्ने अवसर पनि पाए । चार वर्ष उक्त रेष्टुरेन्टमा काम गरेपछि पन्तले आफ्नै होटेल सञ्चालन गर्ने सोच बनाए ।

होटेलका लागि बल्लतल्ल पाएको घरको मासिक भाडा पाँच हजार युरो थियो । उनले साथीभाईसँग सापटी लिएर ९० हजार युरो जम्मा गरे तर उक्त रकम भवनको रंगरोगनमै सकियो । अरु केही सीप नलागेपछि उनी पुरानै कोरियन साहुलाई गुहार्न पुगे । कुमारको मेहनत र इमान्दारीबाट प्रभावित ती मालिकले झण्डै डेढ लाख युरोका सामान आफैं जमानी बसेर मिलाइदिए ।

त्यसपछि फ्रयांकफर्टमा खुल्यो द एभरेष्ट होटेल । अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल नजिकै रहेको उक्त होटेल सधैँजसो प्याक हुन थाल्यो । पन्तको व्यवसाय फल्दै फुल्दै गयो । १३ वर्ष अगाडि सन् २००६ मा खुलेको द एभरेस्ट होटेलसंगै पन्तले लगानी गरेका तारे होटलको संख्या युरोपमा मात्र १० पुगेको छ । बर्लिन, ज्यूरिचसम्म होटल सञ्चालनमा ल्याइसकेका पन्त अब अमेरिकामा पनि होटेल सञ्चालनमा ल्याउने तयारीमा छन् । अहिले पन्त र एनआरएनएका पूर्व अध्यक्ष जिवा लामिछानेको साझेदारीमा यूरोपका विभिन्न शहरमा होटेल विस्तार भएका छन् ।

फुजेलबाट फ्र्यांकफर्टसम्मको संघर्षपुर्ण यात्रा !

गोर्खा फुजेलमा जन्मेका ४३ वर्षीय पन्तले विद्यालय तहको शिक्षा गाउँकै विद्यालयबाट पूरा गरे । ०५० सालमा काठमाडौंको रत्नराज्य क्याम्पसमा पत्रकारितामा स्नातक अध्ययन गदैगर्दा उनी ग्रिस पुगेका थिए ।

त्यसबेला १ हजार युरो बोकेर एकहजार माइलको यात्रा गरेका कुमारको व्यवसाय एक दिनको मुनाफामात्रै लाखौं हुन्छ । सन् २००४ मा एनआरएनएमा संलग्न भएका उनी सन् २००९–२०११ मा एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद आईसीसी सदस्य भए । सन् २०१३–२०१५ मा एनआरएनएका महासचिव र त्यसपछिको दुई कार्यकाल उनी एनआरएनएको उपाध्यक्षको जिम्मेवारीमा थिए ।

नेपालमा लगानी भित्र्याउन, नेपाल बाहिर रहेका करिब ७० लाख श्रमीकको हक हितका लागि काम गर्न आफू सधैँ सक्रिय रहने उनले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्