नेपाली नागरिकलाई पेशा व्यवसाय गर्ने स्वतन्त्रता

अधिकार कुण्ठित गर्ने गरी नियमावली सच्याउन पहल


वैदेशिक रोजगार व्यवसायीहरूले आफुले सञ्चालन गरेका अभिमुखीकरण तालिम संस्थामाथिको स्वामित्व संरक्षणका लागि कानूनी लडाइँमा जानुपर्ने भएको छ । गत भदौ १ गते जारी भएको वैदेशिक रोजगार पाँचौं संशोधन नियमावलीमा म्यानपावर कम्पनी सञ्चालन गरेका व्यवसायीले अभिमुखीकरण तालिम संस्था सञ्चालन गर्न नपाउने व्यवस्था छ ।

व्यवसायीहरूले त्यस विषयमा सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीसँग छलफल गरेका छन् । छलफलका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्षहरू प्रेम बहादुर कटुवाल, बलबहादुर तामाङ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पुर्व अध्यक्ष एवं संघका सल्लाहकार किरण किशोर घिमिरे, संघका पुर्व द्वितीय उपाध्यक्ष हरि बहादुर पाण्डे क्षेत्री, व्यवसायी हेमन्त जिसी, सीता देवकोटा लगायतका व्यवसायीहरु छलफलका लागि मन्त्रालय गएका थिए ।

हाल म्यानपावर कम्पनीसहित ओरियन्टेशन ट्रेनिङ सञ्चालन गरेका व्यवसायी ५२ जना रहेको व्यवसायी पाण्डेले जानकारी दिए । व्यवसायीहरूले नेपालको संविधान २०७२ ले नेपाली नागरिकलाई पेशा व्यवसाय गर्ने स्वतन्त्रता प्रदान गरेकोे भएपनि मन्त्रालयले उक्त संवैधानिक अधिकार कुण्ठित गर्ने गरी नियमावलीमा प्रावधान ल्याएको भन्दै सचिव केसीलाई नियमावली सच्याउन आग्रह गरेका थिए । सचिव केसीले व्यवसायीहरूका माग गम्भीरताका साथ सुनी नियमावलीमा परिवर्तनको लागि पहल गर्ने आश्वासन व्यवसायीलाई दिएको छलफलमा सहभागी संघका पुर्व अध्यक्ष तामाङले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्