वैदेशिक रोजगारीमा देखिएका वेथिति र विसंगति हटाउँछु : नवनियुक्त श्रममन्त्री यादव



काठमाडौं , मंसिर ६ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीमा देखिएका वेथिति र विसंगति हटाउन पहल गर्ने बताएका छन् ।

बिहीबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका यादवले वैदेशिक रोजगारीमा धेरै विसंगति रहेको र यसलाई हटाउन आफ्नो भूमिका रहने बताएका हुन् । वैदेशिक रोजगारी बन्द भन्दा पनि यसलाई सहज सरल बनाउने आफ्नो योजना रहेको बताए । उनले भ्रष्टाचारमा आफू कठोर हुने समेत प्रतिक्रिया दिए ।

नवनियुक्त मन्त्री यादवले भने, ‘रेमिट्यान्स देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको छ, त्यसमा तलमाथि नहोस् भन्ने विषयमा मेरो विशेष ध्यान रहेको छ ।’ मन्त्रालय म्यानपावर व्यवसायीहरुले चलाउँछन् भन्ने प्रचार ‘गलत फहमी’ रहेको भन्दै मन्त्री यादवले भने, ‘सबैका जायज माग सम्बोधन गरिने छ, तर उनीहरुलाई हाभी हुन दिइने छैन । विगतमा देखिएका बेथिति एवं विसंगतिहरुलाई समाप्त गरेर पारदर्शी हिसावले वैदेशिक रोजगार क्षेत्रलाई अघि बढाउने छु ।’

आफ्नो मन्त्रालयको काम रोजगार दिलाउने पनि भएको भन्दै सकेसम्म स्वदेशमै रोजगारी दिलाउनेतर्फ पनि ध्यान दिने उनले बताए ।‘वैदेशिक रोजगारीमा देखिएका वेथिति र विसंगति सम्पूर्ण हटाएर बाहिर जाँदा पनि गौरव गर्ने वातावरण बनाउन भूमिका खेल्नेछु’ उनले भने, ‘वैदेशिक रोगजारीका शिलशिलामा भ्रष्टाचार हुन दिन्न, तर सकेसम्म स्वदेशमै रोजगारी दिलाउने वातावरण बनाउने पनि मेरो योजना छ ।’

नवनियुक्त मन्त्री यादवले सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमलाई सफल बनाउने पनि जानकारी दिए ।बिहीबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका श्रम मन्त्री यादवले उत्पादन र रोजगारसँग जोडिएका कारण मन्त्रालयको जिम्मेवारी अति नै चुनौतीपूर्ण रहेको भन्दै कामको शुरुवात निवर्तमान मन्त्रीको कार्यकालमा भएका निर्णयले सिर्जना गरेका समस्या समाधान गर्ने लक्ष्य राखेको बताए ।

कार्यकालमा वैदेशिक रोजगार क्षेत्रमा परेको गाँठो फुकाउने विषयमा आफू केन्द्रित रहने बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्