साउदीमा नेपाली कामदारलाई तलब कार्यान्वयनमा समस्या, दूतावासकै शंका



काठमाडौं , मंसिर २५ । साउदीमा नेपाली कामदारलाई तलब कार्यान्वयनमा समस्या भएको छ । साउदी अरबस्थित नेपाली दूतावासले नेपालका म्यानपावर कम्पनी र साउदी अरबस्थित रोजगारदाताहरुका कारण नेपाली कामदारहरुलाई तोकिएको न्यूनतम तलब कार्यान्वयनमा समस्या उत्पन्न भएको बताएको छ । नेपाली दूतावासले केही दिनअघि सार्वजनिक गरेको राजदूतावासको प्रथम चौमासिक कार्य एवं उपलब्धिहरुमा उक्त भनाइ उल्लेख छ ।

नेपालका म्यानपावर कम्पनीले दूतावासले एकपक्षीय रुपमा तलब तोकेर समस्यामा पारेको भन्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाइरहेका बेला दूतावासले नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयनको अवस्था र यसको मागपत्र प्रमाणीकरणसँगको सम्बन्ध शिर्षकमा उक्त भनाइ सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा दूतावासले भनेको छ, ‘नेपाल सरकारले गतवर्ष असोजमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा वैदेशिक रोजगारीका विभिन्न पेशामा आउने नेपाली नागरिकहरुका लागि सीप अनुसारको मासिक पारिश्रमिक र खाना सुविधा सम्बन्धी निर्णय गरेको सम्बन्धमा सबैलाई अवगत नै छ । नेपाल सरकारको यो निर्णय कार्यान्वयन गराउनु नेपाली राजदूतावासका लागि अत्यन्त ठूलो चुनौति रहिआएको छ । यसमा रोजगारदाता र नेपालका इजाजतपत्रवालाहरुको इमान्दार सहयोगको आवश्यकता रहने भए तापनि सोको अनुभुति आशातित भएको छैन ।’

साउदीका अधिकांश रोजगारदाताहरुले न्यूनतम तलव ८ सय र खानाका लागि २ सय रियाल दिने भएपनि दुतावासले न्यूनतम तलव १ हजार खानाका लागि ३ सय रियाल भन्दा कम हुननहुने अडान राख्दै आएको छ ।

नेपाल सरकारले गरेको पारिश्रमिक सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सहयोग गरिदिन साउदी सरकारलाई पनि अनुरोध गरिएको भन्दै दूतावासले अगाडि भनेको छ, ‘नेपाल सरकारले निर्धारण गरेको पारिश्रमिक रोजगारदाताहरुले उपलव्ध नगराएको लिखित गुनासो श्रमिकहरुबाट प्राप्त भएमा राजदूतावासले त्यस प्रकारका रोजगारदाता र इजाजतपत्रवालाहरुबाट आउने थप मागपत्रहरु पूर्व मागपत्रबाट सिर्जना भएका समस्या समाधान नभएसम्म प्रमाणीकरण नगर्ने कार्यको थालनी भएको छ । यस सन्दर्भमा कम्पनी भ्रमण र सचेतना कार्यलाई पनि महत्वका साथ अगाडि बढाइएको छ ।’

नेपालका इजाजतपत्रवालाहरुको इमान्दार सहयोग प्राप्त हुन सकेमा न्यूनतम पारिश्रमिक कार्यान्वयन निकै सहज हुने राजदूतावासको प्रष्ट धारणा रहिआएको छ भन्दै दूतावासले नयाँ प्रावधान अनुसार आउने कामदारहरु समेत उत्तिकै जिम्मेवार भई राजदूतावासलाई सहि र विश्वसनीय सूचना प्रदान गर्नेमा पनि राजदूतावास विश्वस्त रहेको उल्लेख गरेको छ ।

दूतावासले विभिन्न सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरुबाट साउदी अरब गएका नेपाली महिला श्रमिकहरुको पारिश्रमिक, आवास, कार्यस्थल, घर फिर्ती, औषधोपचार लगायतका विषयमा समस्याका कारण सप्लाई र कन्ट्राक्टिङ कम्पनीमा नेपाली महिला कामदार प्रतिबन्ध गर्ने दूतावासको निर्णय कार्यान्वयनमा सफलता पाएको बताएको छ । साउदी अरबमा पछिल्ला दिनमा कामदारले समयमा तलब नपाउने, करारपत्रमा उल्लेख भएअनुसार सेवासुविधा नपाउने, स्वदेश फर्कन नपाउनेलगायत समस्या बढी आउने गरेका छन् ।

दूतावासको तथ्यांकअनुसार समीक्षा अवधिको चार महिनामा ४ हजार ४३ भन्दा बढी उजुरी परेको र ती सबै समस्या समाधान गरेको छ । चार महनिाको अवधिमा साउदी अरबका रोजगारदाता कम्पनीले १९ हजार ४ सय ६५ नेपाली कामदारको माग गरेको भन्दै दूतावासले त्यस अवधिमा तलब समयमा नपाएर समस्यामा परेका १ हजार ९ सय २६, बहिर्गमन भिसा समस्या भएका १ सय ११, बिरामी तथा अस्पताल भर्ना समस्या भएका २८, करार समाप्त नगरी घर फर्किन चाहनेको समस्या भएका ७२, करार सम्झौता उल्लंघनले सिर्जित समस्या भएका ४ सय २७, अस्थायी आवासीय अनुमतिपत्र नवीकरण नभएका कारण सिर्जना भएका समस्या १ हजार ३ सय ७६ र भगौडा कामदार १ सय ६ गरी ४ हजार ४३ वटा समस्या दूतावासले समाधान गरेको बताएको छ । तर यसै अवधिमा काम लिएर दूतावास जाने नेपाली म्यानपावर कम्पनी तथा साउदी रोजगारदाताहरुले दूतावासले असहयोग गरेको गुनासो गरिरहेका छन् ।

साउदीमा पुगेको ८९ जना नेपाली कामदार अहिले जेलमा रहेका छन् । रोजगारदाता कम्पनी, म्यानपावर कम्पनी र कामदार स्वयंको गैरजिम्मेवारीका कारण जटिल अवस्थामा पुगेका ४१ जना नेपाली कामदारलाई दूतावासको सेल्टरमा राखी समस्या समाधान गरिएको दूतावासको दावी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्