नेपाली श्रमिकले पाउँदैनन् समान ज्यालाः श्रम मन्त्री यादव भन्छन् – पहल गर्छु



काठमाडौं, मंसिर २८ । नेपालबाट विदेशिने कामदारले अरु देशका श्रमिकले पाउने पारिश्रमिकभन्दा कम श्रम पाउने गरेको गुनासो गर्ने गर्दछन् । युवालाई राम्रो आम्दानी हुने देशमा रोजगारीका लागि पठाउन पहल भइरहेको नेताहरुले बताउँदै आएपनि उनीहरुको यो गुनासोको समस्या जस्ताको तेस्तै छ ।

यसैक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले अरु देशका श्रमिक सरह नेपालका श्रमिकले समान ज्याला पाउनुपर्ने विषयमा पहल गर्ने बताएका छन् ।

सर्लाहीमा शुक्रबार भएको ‘विदेशबाट आउने विप्रेषणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।‘अरु देशका श्रमिकले पाउने पारिश्रमिकभन्दा नेपालका श्रमिकले कम श्रम पाउनु हुँदैन, समान पारिश्रमिकका लागि योजना बनाउन लागेको छु,’ मन्त्री यादवले भने ।

युवालाई राम्रो आम्दानी हुने देशमा रोजगारीका लागि पठाउन पहल भइरहेको भन्दै उनले वैदेशिक रोजगारीमा जाने व्यक्तिले सीप सिकेर जानुपर्नेमा पनि जोड दिए । सीप सिकाउनका लागि सातवटै प्रदेशमा प्रादेशिक तालीम केन्द्र सञ्चालनको तयारी भइरहेको उनले बताए ।

स्वदेशमा भित्रिने विप्रेषणलाई उत्पादनतर्फ कसरी लगाउन सकिन्छ भन्नेबारेमा र विदेशबाट श्रमिकले सिकेर आएको सीपलाई सदुपयोगका विषयमा विभिन्न पक्षसँग छलफल भइरहेको पनि मन्त्री यादवले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्