वैदेशिक रोजगारी: कामदारको कमाइको सुरक्षा र लगानीमा जोड



काठमाडौं , मंसिर २९ । नेपाली कामदारहरुले वैदेशिक रोजगारीमा आर्जन गरेको कमाइ अनावश्यक उपभोगमा खर्च हुने गरेको छ । वैदेशिक रोजगारीबाट आर्जन भएको रेमिट्यान्स उत्पादनमुलक क्षेत्रमा परिचालन गर्न पर्छ तर यो गर्नका लागि पनि वित्तीय साक्षरता आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

अनावश्यक खर्च गरेको भन्दै सरोकारवालाहरुले उनीहरुलाई आफ्नो कमाइको सुरक्षा र लगानीका लागि वित्तीय साक्षरता आवश्यकता रहेकोमा जोड दिएका छन् । अन्तर्रा्ष्ट्रिय आप्रवासी कामदार दिवस, २०१९को अवसरमा नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो आवश्यकता रहेकोमा जोड दिएका हुन् ।

कामदारहरुको लागि वित्तीय साक्षरतामा अभिमुखीकरण तालिमको भूमिका सम्बन्धमा अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले वैदेशिक रोजगारीमा गएका युवा युवतीहरुले कमाइ गरेको भएपनि वित्तीय साक्षरताको अभावमा आर्जनको दीर्घकालीन लगानी हुन नसकेको बताएका छन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक तथा विदेशी विनिमय व्यवस्थापन महाशाखा प्रमुख डा. भागवत आचार्यले नेपाल राष्ट्र बैंकले औपचारिक रुपमा सबै क्षेत्रका लागि वित्तीय साक्षरता कार्यक्रम घोषणा गरिसकेको जानकारी दिँदै वैदेशिक रोजगार क्षेत्रका लागि पनि त्यसमा समेट्ने बताए ।

वैदेशिक रोजगारीबाट आर्जन भएको रेमिट्यान्स उत्पादनमुलक क्षेत्रमा परिचालन गर्नका लागि पनि वित्तीय साक्षरता आवश्यक रहेको भन्दै उनले रेमिट्यान्सलाई दीर्घकालीन उत्पादनमा प्रयोग गर्ने कार्यक्रम नल्याए वैदेशिक रोजगारीमा जाने विपन्न वर्गको आर्थिक स्तर उठ्न नसक्ने बताए ।त्यसका लागि वैदेशिक रोजगारीमा जाने युवा युवतीहरुलाई वित्तीय साक्षरता अभिमुखीकरण तालिमको आवश्यक भएकाले त्यसलाई वैदेशिक रोजगार बोर्डले तालिमको पाठ्यक्रममा नै समावेश गर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकका सहायक कार्यकारी अधिकृत महेश शर्मा ढकालले विदेशमा नेपाली युवायुवतीले गरेको आर्जन सुरक्षित तरिकाले घरसम्म आउनु एउटा पक्ष भएपनि उक्त रकमलाई प्रतिफल दिने क्षेत्रमा लगानी गरेर सुरक्षित गरिनुपर्नेमा जोड दिए । त्यसका लागि कामदारमा वित्तीय साक्षरताको चेतना हुनु आवश्यकमा उनले जोड दिए । कामदार वित्तीय रुपमा साक्षर भएमात्र हुण्डी लगायतका अवैधानिक माध्यमको प्रयोग न्यून हुने उनको भनाइ थियो ।

कार्यक्रममा वैदेशिक रोजगारीमा जाने कामदारमा हुनुपर्ने वित्तीय साक्षरताका विषयमा कार्यपत्र प्रश्तुत गरिएको थियो । कार्यपत्रमाथि टिप्पणी गर्दै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले अभिमुखीकरण तालिम तथा यसको पाठ्यक्रममा नै केही कमिकमजोरी रहेको भन्दै सुधारको प्रकृयामा रहेको बताए । सरकारले वार्षिक १५ हजार युवालाई तालिम दिई दक्ष बनाएर वैदेशिक रोजगारीमा पठाउने योजना कार्यान्वयन गरिहेको भन्दै कार्यकारी निर्देशक श्रेष्ठले पाठ्यक्रम परिमार्जन गरी दैनिक ६ घण्टाका दरले तिन दिनमा १८ घण्टाको तालिम प्रदान गर्न लागेको बताए ।

बैंक तथा वित्तीय संस्थाहरुले गन्तव्य मुलुकहरुमा श्रमिकहरुको पहुँच सहज बनाउनुपर्ने विषयमा भूमिका खेल्नुपर्ने , मुलुकहरुबाट श्रमिकहरुले बैंकिङ च्यानलमार्फत रकम पठाउन चाहे पनि उनीहरुको पहुँचमा बैंकको सुविधा नभएको र भएपनि झन्झटिलो प्रणालीले उनीहरु बैकिङ प्रणालीमा नआएर हुण्डी लगायत अवैधानिक च्यानल प्रयोग गर्न बाध्य भएकाले त्यसलाई रोक्न बैंकहरुले कार्यक्रम ल्याउनुपर्ने माग सहभागीहरुले माग पनि गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्