नेपाली कामदार किन हराउँछन् विदेशमा ?



काठमाडौं : वैदेशिक रोजगारीका लागि २०७२ सालमा साउदी अरब गएका गोरखा दर्बुङका गणेश गुरुङ रोजगारीमा पुगेको ७ महिनासम्म परिवारको सम्पर्कमा थिए, त्यसपछि सम्पर्कमा छैनन् । सँगै काम गर्ने गुरुङका साथीहरुले उनी सडक दुर्घटनामा घाइते भएको र उपचारको क्रममा मृत्यु भएको समाचार परिवारलाई दिएका छन् । तर, श्रीमानको शब नदेखेकी श्रीमती पुजा गुरुङ त्यसलाई पत्याउँदिनन् ।

निरन्तर श्रीमानको खोजीमा रहेकी उनी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस, २०१९ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को अन्तरक्रियामा उपस्थित भएकी थिइन् । कार्यक्रममा उनले भनिन्, ‘४ वर्षभन्दा बढी भइसक्यो श्रीमानसँग सम्पर्क भएको छैन, कम्पनीले श्रीमानका सम्बन्धमा केही आधिकारिक जानकारी पठाएको छैन, साथीभाइहरुले गणेशको मृत्यु भएको भनेका भएपनि अझैसम्म पुष्टि हुन सकेको छैन । म कसरी पत्याउँ ।’

उनले श्रीमानको खोजीका लागि पठाउने म्यानपवार कम्पनी, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर कार्यालय र साउदीस्थित नेपाली दूतावासमा सम्पर्क गरिन् तर उनले श्रीमानका विषयमा स्पष्ट खबर पाउन सकेकी छैनन् ।

पुजाको जस्तै समसया छ, सिन्धुलीकी सुकु राईको । २०६६ सालमा रोजगारीका लागी मलेसिया गएका उनका श्रीमान घर नफर्किएको १० वर्ष पूरा भइसकेको छ । उनका श्रमिान शुरुमा फर्निचरको काममा थिए, पछि खेतीपातीको काममा परे । एक्कासी छ वर्षसम्म सम्पर्कमा नरहेका उनी एक वर्ष अघि रुँदै परिवारको सम्पर्कमा आएका थिए । तर त्यसपछि कुनैपनि माध्यमबाट सम्पर्क नभएका कारण उनी मलेसियाको कुन ठाउँमा छन् भन्ने सवितालाई थाहा छैन ।

सविताले भनिन्, ‘एक वर्ष अगाडि रुँदै भिडियो फोन गर्नुभयो, म यहाँ जवरजस्तीमा परेको छु । म घर फर्कन चाहन्छु, जसरी हुन्छ मलाई निकाल भन्नुभएको थियो । त्यत्तिकैमा उहाँसँगै रहेकी एक फिलिपिनी महिलाले उहाँको फोन खोसेर थप कुरा गर्न दिइनन् । त्यस यता उहाँ सम्पर्कमा हुनुहुन्न । म विरामी छु, कति खोजें तर कहाँ खोज्ने समस्यामा छु ।’

सुकुको भनाइमा उनका श्रीमानलाई एक फिलिपिनी महिलाले पनि पति बनाएकी छन् । ती फिलिपिनी महिलाबाट पनि सन्तान भएका छन् । उनलाई घर फर्किने चाहना छ तर फिलिपिनी महिलाको नियन्त्रणबाट मुक्त हुन सकेका छैनन् । खोजीमा लागेका संस्थाहरुलाई पनि उनलाई कसरी खोज्ने भन्ने समस्या छ ।

‘पिएनसीसी’ले २०१३ देखि हालसम्म रोजगारीको सिलसिलामा गएका युवाहरु परिवारको सम्पर्कमा नभएको भन्दै ३ सय ८८ वटा उजुरी परेको र त्यसमध्ये २ सय ३१ जना सम्पर्कमा आएको बताएको छ । ती मध्ये केही नियतीले हराउने भन्दा नियतले हराउने गरेको पनि देखिएका छन् । मलेसियामा सम्पर्क विच्छेद हुने २ सयबढी र साउदीमा हराएका ६७ वटा उजुरी परेका छन् । सम्पर्कविहिन हुनेमा महिलाभन्दा पुरुष बढी रहेको पिएनसीसीले बताएको छ ।

पीएनसीसीले आफुसँग आएका खोजीका निवेदनका आधारमा वैदेशिक रोजगारीका क्रममा सम्पर्कमा आएका युवतीसँग लसपस र प्रेम परेर परिवार भुल्नेको संख्या पनि बढी रहेको बताएको छ । केही घटना श्रीमान श्रीमतीबीचको मनमुटाव, लेनदेनमा अनियमितता जस्ता विषय पनि सम्पर्क विहीनताको कारण बनेको देखिएको छ ।

परराष्ट्र मन्त्रालयका अधिकारी कृष्णकुमार सुवेदीले मध्यपूर्ण र मलेसिया भन्दा अमेरिका र युरोप छिर्ने सपना देख्नेहरुका पीडा र भोगाइ दर्दनाक रहेको बताउँछन् । ल्याटिन अमेरिकी देश हुँदै अमेरिका प्रवेश गर्नेहरुले ९५ लाख रुपैयाँ सम्म खर्च गरेर अलपत्र परेको उनले सुनाए । कतिपयले यात्राका क्रममा डुंगाको भार बढी भयो भनेर आफ्नै साथीलाई नदीमा मिल्काएर यात्रा गर्ने गरेको जस्ता दर्दनाक कथाहरु समेत रहेको उनले बताए ।

कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले उद्धार समन्वयका काम आधिकारीक निकायबाट गर्नुपर्ने भन्दै बोर्डमार्फत ती काममा सहजीकरण गर्न आफु तयार रहेको जानकारी दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि गिरीप्रसाद आचार्य, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोका डिएसपी सुधिरराज शाही लगायतले वैदेशिक रोजगारीका सिलसिलामा हराएकाहरुको खोजीका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्