‘वैदेशिक रोजगारीलाई शुद्ध बनाउन सबै पक्ष जिम्मेवार हुन आवश्यक’



काठमाडौं, पुस ४ । वैदेशिक रोजगारीको भयावह रूप देखिन थालेको छ । पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका ४ हजार १ सय ५३ जना कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन् । पैसा कमाएर आफ्नो र परिवारको जीवन सुखमय बनाउने सपना बोकेर गएका उनीहरू शव बनेर फर्किएका हुन् । त्यसको बदलामा राज्यले भने पाँच वर्षमा ३६ खर्ब ११ अर्ब रेमिट्यान्स भित्र्याएको छ ।

यसलाई आधार मान्दा हरेक दिन वैदेशिक रोजगारमा गएका कम्तीमा दुई युवाको शव मुलुकमा भित्रन्छ । त्यसको बदलामा राज्यले दिनको औसत २ अर्ब रेमिट्यान्स भित्र्याइरहेको छ ।५ वर्षको अवधिमा नेपालबाट २१ लाख ७२ हजार ५ सय १० युवा विभिन्न मुलुकमा गएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मलेसिया नेपाली कामदारको पहिलो गन्तव्य हो । र, वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढी युवाको मृत्यु हुने मुलुक पनि मलेसिया नै हो । विगत ५ वर्षमा मलेसियामा मात्रै १ हजार ५ सय ३७ कामदारले ज्यान गुमाएका छन् । यो अवधिमा ३ खर्ब ९२ अर्ब रुपैयाँ रेमिट्यान्स मलेसियाबाट आएको छ ।

यसैबीच यता वैदेशिक रोजगार बोर्डका निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारीलाई शुद्ध बनाउन सबै पक्ष जिम्मेवार हुन आवश्यक रहेको औंल्याएका छन् । व्यवसायी, वैदेशिक रोजगारीमा जाने व्यक्ति तथा सरोकारवाला निकाय सबै उत्तिकै जिम्मेवार हुन आवश्यक रहेकोमा उनले जोड दिए ।

लोकदर्शन बचत तथा ऋण सहकारीको १०औं वार्षिक साधारणसभामा श्रेष्ठले यस्तोमा जोड दिएका हुन् । उनले १० वर्षको अवधिमा करिब १८ हजार नेपालीले वैदेशिक रोजगारीमा ज्यान गुमाएको भयावह तथ्यांक रहेको भन्दै यससँग सम्बन्धित सबै सरोकारवाला पक्ष जिम्मेवार हुनुपर्ने बताए ।राज्यको नीति नै बाध्यकारी श्रमको अन्त्य गर्नु रहेकाले यसमा सबै पक्षलाई सहयोग गर्नसमेत उनले आग्रह गरे ।

५ सय ४५ जना जेलमा
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपाली कामदारमध्ये ५ सय ४५ जना विदेशी जेलमा छन् । तीमध्ये १९ जना महिला रहेको बोर्डको तथ्यांक छ । जेलमा रहेकामध्ये १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । तीमध्ये मलेसियामा १६ जनालाई मृत्युदण्ड सुनाइएको छ । साउदी अरब रियादमा ५ जना, कुवेतमा ३ र युएईमा १ जनालाई मृत्युदण्ड सजाय तोकिएको छ ।

विदेशी जेलमा रहेकामध्ये ७ जनालाई आजीवन कारावासको सजाय भएको छ ।विदेशी जेलमा रहेका कामदारमध्ये सबैभन्दा बढी नेपाली मलेसियाको जेलमा २ सय ५ जना छन् । वैदेशिक रोजगारीका लागि दैनिक करिब १ हजार ५ सय नेपाली बिदेसिन्छन् । तर, कति कामदार बेपत्ता भए भन्ने यकिन तथ्यांक कतै पनि छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्