श्रमिकको पासपोर्ट लिएर पैसा नदिएसम्म विदेश पठाउन्न भन्ने म्यानपावरको व्यवसाय रोकिन्छ : महानिर्देशक भूषाल



काठमाण्डौ । श्रमिकको पासपोर्ट जफत गर्ने म्यानपावरको व्यवसाय रोकीने भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्म कुमार भूसालले श्रमिकको पासपोर्ट जफत गर्ने म्यानपावर कम्पनीको व्यवसाय रोक्ने चेतावनी दिएका छन् ।

पछिल्लो समय म्यानपावर कम्पनीले श्रमिकसंग पैसा माग्ने र नदिए पासपोर्ट नै नदिने प्रवृति देखिएको भन्दै त्यस्ता कम्पनीलाई कानुनी दायरामा ल्याएर कारवाही गरिने उनले बताए । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले वैदेशिक रोजगार विभाग तथा बोर्डको कार्य सञ्चालन प्रभावकारिता सम्बन्धी गरेको कार्यक्रममा महानिर्देशक भूसालले यस्तो चेतावनी दिएका हुन् ।

श्रमिकबाट पासपोर्ट लिएर पैसा नदिएसम्म विदेश पठाउन्न भन्ने म्यानपावरको व्यवसाय रोक्ने चेतावनी उनले दिए ।
विभागले डण्डा लिएर हिँड्दैमा व्यवसायीहरु नसुध्रने र त्यसका लागि सबै मिलेर अघि बढ्नुपर्छ भुसालले भने ’’यो निक्कै ठूलो समस्या रहेको छ, समस्यामा परेका व्यक्तिहरुले विभागमा जानकारी गराएमा उनीहरुलाई सहयोग गर्न विभाग तयार छ।’’

विभागले पछिल्लो तीन महिनामै ३७ वटा म्यानपावरमा अनुगमन गरेको भुसालले बताए । वैदेशिक रोजगार सुधार गर्न विभाग एक्लैले नसक्ने भन्दै भुसालले सुधारका लागि स्टेक होल्डर पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वैदेशिक रोजगार विज्ञ तथा अनुसन्धानकर्ता रामेश्वर नेपालले झुक्याउन पाईंदैन भन्दै सरकारले एजेण्टको व्यवस्था खारेज गरेको भए पनि वैदेशिक रोजगारीमा जाने धेरैजसो युवा एजेण्टकै भरमा रहेकाले यो व्यवस्था प्रभावकारी नभएको टिप्पणी गरे ।

साथै सरकारले विदेशबाट नेपाली कामदार माग्ने कम्पनीको अवस्था कस्तो छ अध्ययन गरेर मात्र मागपत्र प्रमाणीकरण गर्न दूतावासलाई जिम्मेवार बनाए पनि अहिले पनि श्रमिकले उही समस्या भोग्नुले मागपत्र प्रमाणीकरणमै समस्या भएको उनको भनाइ थियो ।

वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष कमलदेव मल्लले एजेण्ट बिचौलिया लगायतका कारण म्यानपावर व्यवसायीले पनि समस्या भोगेको भन्दै यो समस्याबाट आफूहरु पनि मुक्त हुन चाहेको र यसका लागि संघ समन्वय गर्न तयार रहेको बताए ।

‘हामीले माग ल्याउँछौं, कतिपय मानिस मसँग यति पासपोर्ट छ भन्दै बार्गे्निङ गर्न आउनुहुन्छ, हामी के गर्ने के नगर्ने अवस्थामा हुन्छौं,’ उनले भने ,‘ ‘यो समस्याबाट संघ पनि मुक्ति चाहन्छ ।’

मल्लले व्यवसायीले अनधिकृत शुल्क लिने गरेको आरोप स्वीकार गर्दै व्यवसायी संघले यसका लागि काम गर्ने बताए ।

कार्यक्रममा सहभागीहरुले विभाग र बोर्डले प्रभावकारी रुपमा काम गर्नका लागि अध्ययन, अनुसन्धानसँगै प्रविधिको विकासमा ध्यान दिन सुझाव दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्