जापानमा रहेका नेपालीलाई सुरक्षित रहन दूतावासको आग्रह, गर्यो सहयोग गर्ने प्रतिबद्धता



काठमाडौं । जापानको टोकियोस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सुरक्षित रहन आग्रह गरेको छ। जापानमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग छलफल गरी दूतावासले भविष्यमा समस्या परे सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

‘कोरोनाको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउने एवं सावधानी अपनाउन जापानमा रहनु हुने सबै नेपालीलाई आ–आफ्नो संघ संस्थाको तर्फबाट अनुरोध गर्ने, नेपाल सरकार एवं जापान सरकारले जारी गरेका सचेतनामूलक सूचनाहरू यथाशक्य सम्पूर्ण नेपालीहरू समक्ष पुर्‍याउने, भविष्यमा आइपर्न सक्ने समस्याहरूका बारेमा सबै संघसंस्थाहरूले दूतावाससँग समन्वय गरेर काम गर्ने विषयमा छलफल भयो,’ दूतावासद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।

छलफलमा जापानमा रहेका नेपालीहरुलाई भविष्यमा पर्न सक्ने सम्भावित समस्याहरूको समाधानका लागि सम्पूर्ण संघसंस्थाहरूले दूतावासले गर्ने पहल एवं प्रयासहरूमा साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

छलफलमा गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय समन्वय समितिका पूर्व अध्यक्ष, समितिका कोषाध्यक्ष, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापानका सभापति एवं महासचिव, व्यवसायी संघका अध्यक्षलगायतको सहभागिता रहेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्