आकास खुल्दा घरी



रेशम विसी

कालो विघ्न कुरूप रात रजनी,आयो नि आँधी हुरी!
लाग्यो घात विछट्ट नै अधरको,कालो अँधेरो गरी!!
बाधा विघ्न अघोर जँगल हुँदा,पर्यो विचल्ली चरी!
काट्छे त्यो ननिदाइ रात विचरी,वर्षे झरीमा परी!!

कोल्टे फेर्न दिदैन रातभरि नै,बाधा हजारौँ भए!
बाढी त्यो पहिरो गयो झन गयो,बढ्दै छ पीडा भय!!
के के हुन्छ रहन्छ या अब झनै,लैजान्छ सर्वश्व नै!
प्यारा प्राण सतासले लुछि लियो,पारेर टुक्रा झनै!!

गाल्दै गो सब मृत्तिका र पहरा,खस्यो तलै त्यो झरी!
ढाल्दै गो घर गोठ दुष्ट पहिरो,भित्रै दबायो पुरी!!
जे जे थ्यो घर भित्र बाहिर सबै,आयो उडायो हुरी!
बाढी औ पहिरो गएर झुपडीमा भो निकै मन्परी!!

वर्षा आउँछ खस्छ दुष्ट पहिरो,भत्किन्छ हाम्रो घर!
मार्यो ज्यान लियो गरीव घरको,को सुन्छ पीडा पिर!!
लाग्यो श्रावणको छ विघ्न महिना,वर्षातको भो झरी!
के पो लाग्छ गरीवको मुटुभरी, बर्सिन्छ आँसू झरी!!

खुल्दा पूर्व दिशा सुवर्ण ललिता धर्ती उज्याला हुँदा!
कालो रात र विघ्नका पलहरू, जाँदा खुशीले छुदा!!
झुल्के घाम उदाउँदा वनभरी,आकास खुल्दा घरी!
गर्दै चिर्विर चित्रका रुख बसी,गाए रमाए चरी!!

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्