विभेदका बिषयमा मेरा कुरा : लेख



यति बेला काठमाडौँमा जात थाहा पाए पछि कोठा भाडामा नदिने घरबेटी सरस्वती प्रधान र कोठा सानो जात भएकै कारण नपाउने रुपा सुनारको यो घटनाले सामाजिक सञ्जालमा जताततै यही विषयमा आ आफ्ना तर्क , बिचार र कमेन्टले रगडिएको छ ।

एकातिर नेवा सघ सस्था रुपा सुनारले गलत आरोप लगाइन भन्दै आन्दोलन गरेका छन् भने दलित समुदायहरू विभिन्न जिल्लामा समेत शिक्षा मन्त्रीको पुत्ला दहन र राजीनामा माग गर्दै आन्दोलन गरेका छन् । कोटा र कोठाका बहस , आरक्षण लिने अनि दलित भन्यो भनी मुद्दा दर्ता गर्ने ? जस्ता तर्कहरू आइरहेका छन् । – गायक शिव परियारले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका बिचार … यस्तो लेख्छन् ….

विभेदका विषयमा मेरा कुरा 

“नरिसाउँ ल नानी,बरु यसो बस्ने अरू साथी खोजिदेऊ है,यसो आउँदै गर है | कामी भन्ने बित्तिकै म झस्केँ..” | बा,हजुरबा पुस्तामा ठाडै अपशब्द गाली वचन बोलेर गरेको विभेद मात्रै विभेद थियो,अहिले त माया गरेर बोलेर पो व्यवहार गरेको रहेछ नि, यस्तो नि विभेद हुन्छ र ? भन्ने पुस्ता एसपटक सामाजिक सञ्जालमा धेरै देखिए | यो अहिलेको पुस्ताले चैँ विभेद गर्ने शैलीमा अलिक आधुनिकता भित्र्याएको पाइयो | जस्तै हुन्छ नि माया गरे जस्तो गर्दै विभेद कायम राख्ने खतरनाक विभेदको आधुनिक शैली |

“गाली गरी गरी घाटी रेटे पनि, अथवा ग्वाम्लाङ्गै अङ्गालो हालेर गालामै च्वाप्प च्वाप्प मोई खाँदै घाटी रेटे पनि परिणाम त आखिर मृत्यु नै हो ।तर,माया गरेको रैछ नि त, चुम्मा पनि त खाकै रहेछ, तेस्ले घाटी रेटेर मारेको पनि मारेको हो र ? रिसाको, गाली गलौज त्यस्तो केहि गरेको थिएन त, कति राम्रो सँग म्वाइँ खाएर घाँटी रेटेको रहेछ नि, त्यसरी रेट्दा पनि मृत्यु हुन्छ र ?

सामाजिक सञ्जालमा यसपालि यही सोच स्थापित गर्न बिचार प्रस्तुत गर्ने क्रम जारी देखियो | प्रस्तुत बिचार अनुसार जातीय विभेद गर्ने शैलीमा पनि अहिले यस्तै आधुनिकतावाद छिरेको प्रस्ट भएको छ |

हिजो सम्म हामी जातीय विभेद रहित समता समाजको पक्षमा छौँ भन्नेहरूको मुकुन्डो उत्रेको पनि देखियो | उनीहरूले यही ठान्ने रहेछन् कि माया गरेर,मिठो बोलेर गरिने विभेद विभेद नै होइन भनेर | मैले माथि भनिने च्वाप्प च्वाप्प मोई खाएर घाँटी रेटेर मार्ने अपराध होइन भने जस्तै | यस्तो सोच सहित आधुनिक शैलीको जातीय विभेद कायम राख्न चाहनेहरूलाई रुपा सुनार र सरस्वती प्रधानको यो विषयले झस्काई दिएको हुन सक्छ |

अशान्ति भो ,सामाजिक सद्भाव खल्बलियो, यस्तो के गरेको भन्नेहरूलाई मेरो प्रश्न छ ” हिजो आफूलाई उच्च जात भनिने पुस्ताले, हिजोको कथित तल्लो जात भनिने पुस्तालाई,विभेद गर्दा, कथित तल्लो जात बनाइएका पुस्ताले प्रतिवाद या विरोध गर्न सकेनन् | आफू माथि भएको विभेद सहन बाध्य भए, किनकि उनीहरूलाई कानुन बनाएर हात खुट्टा बाँधिएको थियो,अत्यन्तै कमजोर बनाइएको थियो |

आफू माथि जबर्जस्ति लादिएको विभेदको प्रतिवाद गर्न नसक्ने अवस्थामा, विभेद सहन बाध्य पारिएका बर्गले विभेद सहिदिएकै कारण समाजमा कथित उच्च वर्गले शान्ति महसुस गरे | किनकि उनीहरूलाई आफ्नो शान्तिको मात्र चिन्ता थियो| आफूलाई उच्च जातको मसिहा मान्नेले बोली बचन र जुत्ताको नोकले कथित तल्लो बनाइएका जाति माथि प्रहार गरिरहेर आफ्नालागि निर्माण गरेको शान्ति ति जातीय उत्पीडित वर्गलाई त सधैँ मुर्दा शान्ति झैँ महसुस भइरह्यो |

तर आज समय फेरिएको छ | गाउँ गाउँ, सहर सहरमा धेरै रुपा सुनारहरू छन् | उनीहरू छदम भेषी सोचलाई बुझ्न चुक्दैनन् | अन्याय सहदैनन | विरोध गर्छन् | अनि आज पनि आफू उच्च भई राखेर अरूलाई निचको दर्जामा देखिरहन चाहनेहरूको फेरि टाउको दुख्न सुरु हुन्छ |

‘नरिसाउँ ल नानी’ भनी भनी आधुनिक शैलीमा विभेदलाई निरन्तरता दियि नै रहने हो भने यो विभेद समाजमा राखिरहेसम्म सरस्वती प्रधान र रुपा सुनार चरित्रको द्वन्द्व समाजमा जारी नरहला भन्न सकिन्न र त्यो पक्कै पनि नेपाली समाजका लागि हितकर हुने देख्दिन म | त्यसैले आमा,बाबा, हजुरआमा हजुरबुवाका अपराध अपराध नै होइन भन्ने कुतर्क छोडेर जातीय समता कायम गर्ने बाटो तर्फ सबै नेपाली लाग्न जरुरी छ |

किन भने उत्पीडित बर्गले छदम भेषी जातिया समानता खोजेको हैन | राज्य, समाज र व्यक्तिबाट मान्छेले मान्छेलाई गर्ने समता मुखी व्यवहार अपेक्षा गरेको हो |

पहिलो कुरा यो दलित भन्ने शब्द वर्ग वा सम्प्रदाय होइन| यो विभेद अन्त्यका लागि सङ्घर्ष गर्न बनाइएको साङ्गठनिक मोर्चाको नाम हो | हिजोको दिनमा समाजले पानी चल्दैन है भनेर चरम जातीय विभेद गरेका नेपालका करिब 20 देखि माथि जातहरूको साझा सङ्गठन हो दलित | जातीय विभेद विरुद्ध जातीय समानता होइन कि जातीय समताको लागि यसको आन्दोलन जारी छ |

यहाँ खै किन हो पछिल्लो चरणमा दलित दलित समुदाय भनेर यसलाई जात नै बनाइएको छ यो गलत छ | २०६२/६३ पछि बनेको गणतान्त्रिक सरकारले हिजो चरम विभेद भोगेका दलित,मधेसी, जनजातिलाई वर्ग उत्थानको लागि आरक्षण व्यवस्था गरेको हो,समावेशी हैसियतमा कोटा उपलब्ध गराएको हो | जसमा दलितको जम्मा 9% पर्दछ |

तर आफूलाई सर्वहारा जनताको मसिहा ठान्ने सरकारले अहिले त्यो पनि पूर्ण कार्यान्वयन गर्न बन्द गरेको छ | हरेक विभेदको घटनामा एउटा सामन्त वर्गको पीढी सामाजिक सञ्जालमा कोटा खारेज गर, दलित कोटा खारेज गर भनी भनी कुर्लन्छ | उसको मुख्य टार्गेट नै दलित कोटा खारेज गराउनु हो |

उसले महिला आरक्षण खारेज गर भन्न सक्दैन किनकि महिला आरक्षणका नाममा त 33% उसैको वर्गको प्रतिनिधित्व छ | यो विषयमा बोल्दा उसको आफ्नै वर्गको टाउको फुट्छ भन्ने उसलाई थाहा छ, त्यै भएर डराउँछ, |उसले जनजातिको आरक्षणको विषयमा त झन् बोल्ने कुरै भएन एक नं. प्रदेश नै बन्द हुने सम्भावना भो,जनजातिहरुहरुसंग भिड्न अलि आँट पुगेन उसको |

अब आयो मधेसी समुदाय अहिले तराईका मधेसी समुदायको आरक्षण कतौटिका विषयमा उसले चुईक्क बोल्न सक्दैन, किनभने देश नै दुइटा बनाउँछु भन्ने थ्रेट र तराई झर्नै बन्द हुने अवस्था आउन्न सक्दछ |

त्यसैले अब बाँकी को रह्यो भन्दा हिजो चरम जातीय विभेद गरेर दासत्व स्वीकार गर्न बाध्य पारिएका दलित, यिनीहरूलाई पेलेरै ठिक पार्नु पर्छ ,यिनीहरूलाई जे गर्दा नि हुन्छ भन्ने सोचका साथ दलित कोटा खारेज गर भन्ने अभियानका साथ निशाना साँधिएको छ |

के २०६२/६३ अगाडि विभेद थिएन? दलितको कोटा खारेज हुने बित्तिकै सबले समता मूलक आधिकार पाउँछन्? जातीय समता सहितको समानता कायम हुन्छ ? कदापि हुँदैन | यो त जातीय रूपमा हिजो दबाइएका, दलनमा पर्न बाध्य बनाइएका, मान्छे पनि होइन कि चरम जनावर भन्दा पनि नीच व्यवहार खप्न बाध्य पारिएका,दलितका आजका पुस्ता, जो समाजमा शिक्षित भएर बोल्न थाले, उनीहरूको पनि पहुँच पुग्न थाल्यो, उनीहरू पनि हजुर हजुर गरेर टाउको निहुराएर बोल्नुको सट्टा आँखामा आँखा मिलाएर व्यवहार गर्न थालेपछि, अहो अब हाम्रो भाग खाने भो, भन्ने डरले फेरि उनीहरूलाई त्यही दासत्वको जीवन बाँच बाध्य पारिनका लागि सामन्त जहिले पनि कोटा खारेज गर भन्दै छ |

उसले जातीय विभेद हुनु हुँदैन भन्दैन बरु कोटालाई कोठासङ जोडेर बहस गर्छ यो त्यै सामन्तको पीढी हो जसले हिजो मान्छे लाई मान्छे बन्न नदिएकै कारण आज देशमा यत्रो परिवर्तन भई सक्दा पनि एउटा वर्ग हरेक दिन मान्छे हुँ म भनेर आफ्नो अस्तित्व मान्छे भएको संसारलाई बताउन बाध्य छ |

आफ्नो व्यक्तिगत सम्पत्तिलाई यदि कसैले आम्दानी गर्नकै लागि सेवाको माध्यम अपनाएर पब्लिक प्लेटफर्म सम्म लान्छ भने चाहे मिठो बोलेर होस चाहे तितो बोलेर होस त्यहाँ जातीय विभेद गर्न पाइँदैन |

– गायक शिव परियारको फेसबुक बाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्