सरकार र संसद्



ओनसरी घर्तीमगर

पूर्वसभामुख

 

नयाँ संविधानबमोजिम स्थानीय, प्रदेश र संघ तीनवटै तहका निर्वाचन सम्पन्न भई संघीय संसद्ले गति लिइसकेको छ । प्रदेशसभाले समेत आआफ्ना कामकारबाही अघि बढाइसकेको छ । संसद्को पहिलो कार्यभार संविधानबमोजिम आवश्यक कानुन बनाउने नै हो । किनभने, अझै संविधानबमोजिम झन्डै एक सय हाराहारीमा कानुन बनाउनुपर्ने अवस्था छ । निश्चित अवधिभित्र यी कानुन बनाउनैपर्छ । त्यसपछि मात्रै भइपरी आउने, जनता र देशलाई आवश्यक पर्ने सरकारले ड्राफ्ट गरेका सम्पूर्ण विधेयकलाई हामीले अघि बढाइदिने हो । नेपाली जनता र आजको संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा संसद् उभिनुपर्छ ।

संघीयतालगायत संविधानले निर्दिष्ट गरेको लक्ष्य हामीले प्राप्त गरेकै छौँ । यद्यपि संविधान कार्यान्वयनका लागि गर्नु अझै धेरै छ । हामीले कामको रफ्तारलाई बढाउनैपर्छ । हामीले राजतन्त्र अन्त्यको परिकल्पना गरेका थियौँ, त्यो भयो । आज गणतन्त्र स्थापना आफ्नै प्रकारको भए पनि भएकै छ । समानुपातिक समावेशिता लागू भएको छ । सांसदको शपथग्रहणकै क्रममा पनि हामीले विभिन्न वेशभूषा र सांस्कृतिक पहिरनमा जनताका प्रतिनिधिलाई देख्यौँ । आफ्नै मातृभाषामा पनि विभिन्न सांसदले शपथ लिनुभयो । विविधताबीचको एकता अत्यन्तै गर्व गर्नलायक थियो । यही हो नेपाल भन्ने अनुभूति हामीले संसद्मा समेत पाउँछौँ । अब एकआपसमा हामी एकताबद्ध भएर आफ्नो देशको समृद्धिको रफ्तार अगाडि बढाउनु छ ।

कुनै पनि मुलुकको विकास जनशक्तिसँग पनि जोडिन्छ । अझ युवाजनशक्ति महत्वपूर्ण छ । नेपालको परिवेशमा भन्ने हो भने लाखौँ युवा रोजीरोटीका लागि मुलुकबाहिर पुगेका छन् । युवाशक्तिले विदेशमा पसिना बगाएर मुलुकलाई केही रेमिट्यान्स त भित्रिएला तर युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरेर रोक्न सके मात्र मुलुकको दिगो विकास हुन सक्छ । धेरै युवा जनशक्ति विदेशी भूमिमा जोखिमपूर्ण काममा रहेका छन् । दैनिकजसो विदेशमा मृत्युवरण गरेका नेपालीका शव बाकसमार्फत विमानस्थलमा आइरहेका छन् । हुन त स्वदेश वा विदेश जहाँ भए पनि मानिसको मृत्यु हुन्छ नै । तर, हुनु नपर्ने मृत्यु नेपालीको भइरहेको छ । त्यसकारण सबैभन्दा पहिले हामीले स्वेदशमै रोजगारीको सिर्जना गर्नुपर्छ । युवा जनशक्तिलाई आफ्नै मुलुक विकासमा लगाउन सके मात्र चाँडो विकास सम्भव छ । सरकारले अबका दिनमा विपक्षी दललाई पनि कसरी हुन्छ समेटेर मुलुकलाई आर्थिक रूपमा बलियो बनाउने र जनताको आवश्यकता परिपूर्ति गर्नेतर्फ लाग्नुपर्छ । अब सबै राजनीतिक दल मिलेर विकास र आर्थिक समृद्धितर्फ लाग्नुको विकल्प छैन ।

हाम्रो आफ्नो संसदीय व्यवस्थाअनुसार जसरी विगतमा अभ्यास गर्दै आएका थियौँ, अबको संसदीय व्यवस्थालाई संसदीय व्यवस्थाका रूपमा मात्रै पनि हामीले हेरेका छैनौँ । धेरै नयाँ कुराको व्यवस्था छ । हालको संसद्मा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको बलियो उपस्थिति छ । अझ सरकारलाई विश्वासको मत दिने अन्य दलको समेत सरकारलाई साथ छ । तर, संसद्मा सानो वा ठूलो जुन संख्यामा राजनीतिक दलको प्रतिनिधित्व छ, सबैले बोल्न पाउने, आफ्ना कुरा राख्न पाउने थलो संसद् बन्नुपर्छ । संसद्मा विपक्षी दलले आफ्नो आवाज राख्न पाउनुपर्छ र सरकारले सुन्नुपर्छ । कतिपय सन्दर्भमा प्रतिपक्षले विरोधी धारणा मात्र राख्दैन, त्यतिवेला सरकारले अवश्यै आफ्नो विचार गरिहाल्छ । कहिलेकाहीँ सत्य कुरा एकजनाले मात्रै पनि भनिरहेको हुन सक्छ । त्यसैले यस्तो विचारको कदर गर्नु सरकारको जिम्मेवारी हो ।

हामी नयाँ व्यवस्थामा गएकाले केही आत्तिएका छौँ । संघीयतामा मुलुक गइरहँदा खर्च स्वभावैले बढ्छ । यसको व्यवस्थापन कसरी गर्ने होला भन्ने धेरैलाई लागेको छ ।

 

 

राजनीतिमा धेरै ठुल्ठूला प्रतिबद्धता, सपना हुन्छन् । म के देख्छु भने संघीयता भनेको सरकारका लागि खर्चिलो व्यवस्था हो, तर जनताका लागि कम खर्चिलो, सजिलो र राम्रो व्यवस्था हो । जनताकै सुविधामा प्राथमिकता दिने हो, जनतालाई नै बढी लाभान्वित बनाउने हो भने संघीय व्यवस्था केही खर्चिलो भयो भन्ने किन डर राख्ने ? यो अन्तरविरोधी कुरा राख्नै हुँदैन ।

 

जनतालाई केन्द्रबिन्दुमा राखेर हेर्दा धेरै कम खर्चमा जनताको पहुँचमा सेवासुविधा पु¥याउन सकिन्छ । उदाहरणका लागि जुम्लाको मानिसलाई आजको दिनमा एउटा पासपोर्ट बनाउन एक लाख रुपैयाँ भएन भने नबोले हुन्छ । अब धेरै सस्तो मूल्यमा उसले जुम्लामै पासपोर्ट पाउँछ । उसका लागि धेरै राहत भयो । त्यो सुविधा उतै लगेर दिँदा राज्यका लागि खर्चिलो भयो होला । जनताको कोणबाट हेर्दा संघीयता लाभदायी व्यवस्था नै हो ।

हामीसँग स्रोतसाधन छ । जनशक्तिलाई स्वेदशमै रोजगारी सिर्जना गरौँ । यसो गर्नसके हाम्रा प्रदेश विकसित बन्दै जान्छन् । हाम्रो प्राकृतिक स्रोतसाधनलाई मानवले विकृत बनाइसकेको छैन । यो प्राकृतिक स्रोतसाधनलाई सही सदुपयोग गर्दै विकासका धेरै ढोका खोल्न सकिन्छ । राज्यले आफ्नो पहुँचभित्र ल्याएर योजना बनाएर परिचालन गर्नुपर्छ । जलविद्युत् उत्पादनको प्रचुर सम्भावना छ । पर्यटन प्रवद्र्धन गर्नसके हाम्रा पर्यटकीय क्षेत्रमा लाखाैँ पर्यटक भित्र्याउन सकिन्छ । कुनै पनि सिजनमा यहाँ उत्पादन भएन भनेर बसिरहनुपर्ने अवस्था छैन । हरेक सिजनमा हामीले उत्पादन गर्नसक्छौँ । त्यसैले सबैभन्दा बढी कृषि क्षेत्रमा राज्यले जोड दिनुपर्छ । आधुनिक कृषि प्रणाली अपनाउनेदेखि उत्पादन वृद्धिका लागि युवा जनशक्ति परिचालनतर्फ ध्यान दिन जरुरी छ । धेरै खेतीयोग्य जमिन बाँझै छन् । बाँझो जमिनलाई सिँञ्चित गर्न सके नेपालमा चार बालीसम्म अन्न उत्पादन हुन्छ । यस्ता कुरालाई हामीले जोडजाम गर्नसके हाम्रो देश आत्मनिर्भर बन्न सक्छ । प्रदेश चलाउन गाह्रो पर्दैन ।

अहिले जनता वाम गठबन्धनले भनेका कुरा कसरी लागू गर्छन् भनेर हेर्न इच्छुक छन् । यसैका लागि जनताले मत दिएका छन् । अब वाम गठबन्धन होइन, एउटै पार्टी बनाउनुपर्छ । जनताले चाहेको पनि नेपालको कम्युनिस्ट पार्टी एक होस् भन्ने नै हो । एउटै पार्टी, एउटै सिद्धान्त र विचारले देश बनाउनुपर्छ । यसो भन्दै गर्दा देशभरका कम्युनिस्ट एकताबद्ध भएर अरूमाथि तानाशाही लाद्ने काम हुने हो कि भन्ने भ्रम पनि छ । यसो होइन । हामीले प्रत्येक नागरिकको विचार र स्वतन्त्रतामा ख्याल गर्नुपर्छ । प्रत्येक नागरिकको मानवअधिकारलाई हामी ख्याल गर्छौं । यो व्यवहारमै देखाउने हाम्रो प्रतिबद्धता हो ।

नेपालमा वामपन्थीको चुनौती भनेको कम्युनिस्ट पार्टीहरू एक हुनु नै हो । एमाले र माओवादी केन्द्रको मात्र सवाल होइन । नेपालमा धेरै कम्युनिस्ट पार्टी छन् । उनीहरू पनि नेपाल कम्युनिस्ट पार्टीभित्र आउनुप¥यो । कम्युनिस्टहरूले सोचेको विचारधारा, समृद्धिको कुरा लागू गर्न हामीले हामीसँग भएका सिद्धान्तका आधारमा योजना तयार गर्नुप-यो र लागू गराउनुप-यो । हिजो भएका झैझगडा, एकआपसको मनमुटाव भुलेर मुलुक परिवर्तनका लागि अब प्रतिबद्ध हुनुपर्छ । हिजो मुलुकमा जनयुद्ध भयो, पटक–पटक आन्दोलन भयो, यो सबै मुलुकको परिवर्तनका लागि थियो । परिवर्तनका क्रममा हिँड्दा कहीँकतै त्रुटि भएको हुन सक्छ । त्यस्ता वेला भएका मनमुटाव पचाएर अब भने नेपाली जनताको समृद्धिका लागि हामी लागिपर्नुपर्छ ।

विभिन्न राजनीतिक दलका शीर्ष नेताले भाषणमा त मुलुक समृद्ध बनाउँँछौँ भन्दै आएकै छन् । तर, अब व्यवहारमा देखाउने वेला आएको छ । आज कोही नेता, सांसद वा मन्त्री आफ्नो व्यक्तिगत स्वार्थ र लोभलालचबाट टाढा बस्नुपर्छ । हाम्रो आदर्शबमोजिम देश परिवर्तनका लागि काम गर्नुपर्छ । हामी झैझगडा, स्वार्थ र लोभलालचबाट मुक्त हुन सके देशमा रोजगारी ल्याउन सकिन्छ, समृद्धि हासिल गर्न सकिन्छ । यसो भए कम्युनिस्टले के चाहेका हुन् भन्ने जनतालाई देखाउन सक्छौँ । यदि हामीले यसो गर्न सकेनौँ, सिद्धान्तलाई बिर्सिदियौँ र जसरी अहिले मुलुक चलिरहेको छ, यसरी मात्रै चल्न खोज्यौँ भने अब नेपाली जनताले हामीलाई कुन भरोसामा मत दिने ? यो प्रश्नप्रति गम्भीर बन्ने वेला आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्