कम्युनिस्ट एकताका पाँच सन्देश



भ्रष्टाचार नियन्त्रण गरी राज्यलाई व्यवस्थित ढंगले अगाडि बढाउन पार्टी एकताले निकै ठूलो योगदान पुर्‍याउँछ

मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच एकता भएको केही समय बितेको छ । यस एकताको निकै ठूलो तरंग राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पुुगेको छ । पार्टी एकताले अन्तर्राष्ट्रिय जगत्को सद्भाव पाएको छ । एकतापछि जनतामा अपार उत्साह देखिएको छ । दुवै पार्टीका नेता, कार्यकर्तामा भावनात्मक रूपमा एकताको नयाँ आयाम देखिएको छ । केन्द्रीय समिति, संसदीय समितिको बैठकमा एकरूपता देखिएको छ ।

समाजवादउन्मुख राज्य व्यवस्था
ऐतिहासिक प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा जनतामाझ जाँदाखेरी नै उहाँहरूलाई यो चुनावी गठबन्धन होइन, दुई पार्टीलाई एउटै बनाएर अघि बढ्ने महान् अभियान हो भनेर आश्वस्त पारिएको थियो । जनताले हाम्रो भनाइमाथि विश्वास गरेर सरकार बनाउन सुविधाजनक बहुमत दिएको सर्वविदितै छ । जनादेशलाई समाजवादउन्मुख राज्य व्यवस्था लागू गर्नका लागि पार्टी एकीकरणको दबाब दिएको अर्थमा हामीले बुझेका छौँ ।

जनताले जनादेश दिएपछि धेरै चरणका बहस, छलफल भएका छन् र अन्ततः पार्टी एकता सफल भएको छ । यो एकतापछि निर्वाचनमा जनतामाझ प्रतिबद्धता गरिएको राजनीतिक स्थिरता, पूर्वाधार विकास र समृद्धिलाई अहिले मुख्य रूपमा ध्यान दिइएको छ । देशको समृद्धि अभियानको नयाँ अध्याय सुरुवात भएको छ । पार्टी एकता विश्वव्यापी महत्वको परिघटना हो । ७० वर्षदेखिको नेपालको अस्थिरता, विकृति र अराजकता अन्त्य गरी स्थायित्व र विकासको युग सुरु भएको छ ।

समृद्धिको अभियान
सरकारमा संघीय समाजवादी फोरमको प्रवेश भएको छ । यसले के देखाउँछ भने बिस्तारै परिवर्तन र अग्रगमनका पक्षधर थप एकताबद्ध हुने र सुदृढ हुने दिशामा गइरहेका छन् । यस कार्यले सिंगो राष्ट्रलाई एकताबद्ध गर्ने दिशा समातेको छ । जब कम्युनिस्ट पार्टीको एकता भयो, यहाँको परिवर्तनशील र अग्रगामी पार्टी पनि एकता हुने, साझा गठबन्धन बनाउने दिशातिर गइरहेका छन् ।

यसले सिंगो राष्ट्रलाई एकीकृत गर्ने, केन्द्रीकृत गर्ने आवश्यकता छ भन्ने देखाउँछ । विकास र समृद्धिका लागि सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गरी राज्यलाई व्यवस्थित ढंगले अगाडि बढाउन पार्टी एकताले निकै ठूलो योगदान गर्न सक्छ । यसका केही संकेत पनि देखिइसकेका छन् । उदाहरणका लागि भ्रष्टाचार नियन्त्रणका लागि ३३ किलो अवैध सुन आयातका विषयमा मसिनो गरी अनुसन्धान भइरहेको छ । अनुसन्धानबाट धेरै रहस्यको खुलासा हुने क्रम चलिरहेको पनि छ ।

यातायात क्षेत्रमा भएको सिन्डिकेट खारेजीका लागि सरकारले निकै कडा कदम चालेको छ । विभिन्न वस्तु तथा सेवाको कार्टेलिङ रोक्न सरकारले कदम चालिसकेको छ । यसले के देखाउँछ भने राष्ट्रिय स्वभिमान, स्वाधीनता, सार्वभौमिकता र अखण्डता रक्षा गर्दै देशलाई एकताबद्ध गर्ने दिशामा सरकार र पार्टी अघि बढेको छ ।

छिमेकीसँग सन्तुलित सम्बन्ध
अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका क्षेत्रमा सकारात्मक संकेत देखा परेका छन् । खासगरी सीमा जोडिएका दुई छिमेकी राष्ट्र चीन र भारतबीच सन्तुलित सम्बन्ध कायम हुँदै छ । ०६५ सालमा कोसीमा बाढी आउँदा भारतले मोरङको विराटनगरमा राखेको दूतावासको सम्पर्क कार्यालय हटाउनुलाई ठोस रूपमा भारत र नेपालबीच राम्रो समझदारी बन्दै छ भन्ने कुराको उदाहरणका रूपमा लिँदा हुन्छ ।

वर्तमान सरकारकै पहलमा १० वर्षपछि सो सम्पर्क कार्यालय भारतले हटाउनु दुई देशबीचको सम्बन्ध प्रगाढ बन्दै गएको सकारात्मक संकेत हो । प्रधानमन्त्री केपी शर्मा ओलीको केही समयअघि भएको भारत भ्रमणले दुई देशको सम्बन्ध न्यानो भएको छ । केही समयपछि प्रधानमन्त्री ओली उत्तरी छिमेकी राष्ट्र चीन जानुहुँदै छ, त्यसबाट चीनसँगको सम्बन्ध पनि थप सुमधुर हुने पक्का छ ।

प्रधानमन्त्री ओलीले तीन वर्षअघि चीनको भ्रमण गर्दा समझदारी भएको पारवहन तथा यातायात सन्धि, बन्दरगाह प्रयोग, इन्धन आयातलगायत ‘वान बेल्ट वान रोड’का विषयमा भएका समझदारीलाई कार्यान्वयनमा लैजान अब हुन लागेको चीन भ्रमणले महत्वपूर्ण भूमिका खेल्नेछ । दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच भएको देशमा विशाल जनमत प्राप्त वर्तमान सरकारले उच्च राजनीतिक तथा कूटनीतिक कौशल प्रयोग गरी तत्कालीन र दीर्घकालीन फाइदाका काम र विषय उठान गर्नेछ ।

जनताको जीवनस्तरमा सुधार
अहिले समृद्धिको दिशा समात्न सबै आधार तयार भइसकेका छन् । गणतन्त्र, संघीयता हुँदै तीन तहको निर्वाचनसमेत सम्पन्न भइसकेको स्थिति छ । तसर्थ, यो वेलाको चुनौती भनेको परिवर्तनको प्रतिफल देखाउनु हो । अर्थात् जनताको जीवनमा देखिने गरी आर्थिकस्तर वृद्धि गर्नु हो । यो कामका लागि समृद्धिको अभियानमा जनसागरलाई कसरी जोड्ने, मूल प्रवाहमा कसरी ल्याउने भन्ने चुनौतीको सामना गर्नु छ ।

देशलाई समृद्धिको दिशा दिने कृषि पेसामा आश्रित ठूलो जनसंख्या हामीसँग छ । तर, कृषियोग्य भूमिको उत्पादनले ५ महिनाभन्दा बढी खान पुग्दैन । यस्ता किसानको जीवनमा परिवर्तन कसरी ल्याउने भन्ने विषयमा वर्तमान सरकारले सोच्नुपर्छ । किनभने, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएपछि मात्र अहिलेसम्मको उपलब्धिको सार्थकता सिद्ध गर्न सकिन्छ । पिछडिएका वर्ग र गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउनुपर्छ । मुलुकका सबै नागरिकलाई कामको समान अवसर दिनुपर्छ । सीपअनुसारका काम र कामअनुसारको ज्याला पाउने वातावरण बनाइदिनुपर्छ । जनताबीच रहेको अन्तरविरोधलाई मैत्रीपूर्ण हिसाबले सम्बोधन गर्नु आवश्यक छ ।

गुट अन्त्यको यात्रा
पार्टी एकता भइसकेपछि गुट, उपगुटका विषय सबैले बिर्सनुपर्छ । एकतामा सामेल भएको फलानो पार्टीको भागचाहिँ खोई भनेर अत्तो थाप्नु हुँदैन । यद्यपि वरिष्ठता, वरीयतालगायत विषयमा सन्तुलन कायम गर्ने गरी अघि बढ्नुपर्छ । पार्टीभित्रका नेतामा विभिन्न मनोविज्ञान हुन्छन्, तिनलाई पनि सम्बोधन गर्दै लानुपर्छ । यी सबै विषयमा छलफल गर्दै अघि बढ्ने र उठेको प्रश्नको हल गर्दै जानुपर्छ ।
हिजोका दिनमा पार्टीमा गुट, उपगुटको समस्या थियो तर एकता प्रक्रियाले गुट, उपगुटलाई अन्त्य गर्ने धेरै ठूलो आधार तयार भएको छ । यहाँ सकारात्मक सोच राखेर परिवर्तनका लागि समर्पित कार्यकर्ताको मिलन भएको छ । यो मिलनले पुराना नराम्रा प्रवृत्तिलाई निस्तेज पार्ने देखिन्छ । गुट अन्त्यका लागि पनि नयाँ वातावरण बनेको छ । अहिले विशाल पंक्ति समाजवादी प्रतिस्पर्धासहित अग्रगामी चेतनासाथ अघि बढेको छ । यसर्थ, अहिले गुट अन्त्य गर्ने यात्राको आरम्भ भयो भनेर बुझ्दा ठीक हुन्छ ।

(सापकोटा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हुन्)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्