नेपालीको ज्यान विदेशी औषधि परीक्षणको प्रयोगशाला, परीक्षणको औषधि भनेर सुईको समेत दिईदैन ।।



सैघाली खबर, २४ जेठ।
औषधिको नयाँ उत्पादनले काम गर्छ कि गर्दैन, शरीरमा के फरक पार्छ ? प्रयोगशाला बनेको छ नेपाल । विदेशमा उत्पादित नयाँ–नयाँ भ्याक्सिन र औषधिको प्रभावकारिता जाँच्न नेपालीलाई प्रयोग गर्ने गरिएको छ । बर्षेनी हजारभन्दा बढी संघसंस्थाले नेपालीमाथि अनुसन्धान गर्दै आएकोमा केही औषधि, इन्जेक्सन, भ्याक्सिन र मेडिकल डिभाइस परीक्षण पनि हुने गरेको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार सन् २०१७ मा मात्र परिषद्बाट ५०० भन्दा बढी संस्थाले नेपाली जनतामा अनुसन्धान गर्न अनुमति लिएका छन् । सन् २०१८ को अप्रिलसम्म चार महिनामा मात्रै परिषद्बाट एक सय ७६ संस्थाले अनुसन्धानका लागि अनुमति लिइसकेका छन् । यसबाहेक मेडिकल कलेजलगायत ३० संस्थाले पनि स्वास्थ्य अनुसन्धानको अनुमति दिने गर्छन् । ती संस्थाले परिषद्ले जत्तिकै संख्यामा अनुमति दिने गरेको परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले बताए ।

ललितपुरका २० हजार बालबालिकामाथि टाइफाइडको भ्याक्सिन परीक्षण…
हाल ललितपुरका २० हजार बालबालिकामाथि टाइफाइडविरुद्धको ‘टाइभ्याक भ्याक्सिन’ परीक्षण भइरहेको छ । मुख्यतः पाटन अस्पतालमा आउने नौ महिनादेखि १६ वर्षसम्म उमेरका बालबालिकालाई यो भ्याक्सिन लगाउने गरिएको छ । अमेरिका र बेलायतमा बनेको यो औषधिको प्रभाव कस्तो हुन्छ भनेर परीक्षण गर्न नेपालका बालबालिका छानिएको हो ।

अमेरिकाको युनिर्भ्सिटी अफ मेरिल्यान्ड एन्ड स्कुल अफ मेडिसिनको सेन्टर फर भ्याक्सिन डेभलपमेन्ट र बेलायतको युनिभर्सिटी अफ अक्सफोर्डअन्तर्गतको अक्सफोर्ड भ्याक्सिन गु्रपको सहकार्यमा यो भ्याक्सिन नेपाल ल्याइएको हो । ‘हो, पाटन अस्पतालमा यो भ्याक्सिन परीक्षण भइरहेको छ । यसमा अन्यथा केही पनि छैन,’ परीक्षणमा संलग्न डा. बुद्ध बस्नेतले बताए । अफ्रिकी मुलुक मराबीमा पनि यो भ्याक्सिनको परीक्षण भइरहेको छ ।

लागुऔषध प्रयोगकर्तामाथि परीक्षणमा हेपाटाइटिस सीविरुद्धको भ्याक्सिन………….
काठमाडौं र ललितपुरका सुधारगृहमा रहेका तीन सय लागुऔषध प्रयोगकर्तामा ‘हेपाटाइटिस सी’विरुद्धको भ्याक्सिन परीक्षण भइरहेको छ । अमेरिकी फर्मास्युटिकल्स कम्पनी सेरिङ प्लो कर्पोरेसनले उत्पादन गरेको ‘डाइरेक्ट एक्टिङ एन्टिभाइरल भ्याक्सिन’ परीक्षणका लागि नेपाल ल्याइएको हो । हेपाटाइटिस सीविरुद्धको यो भ्याक्सिनले काम गर्छ कि गर्दैन, अथवा शरीरमा कस्तो प्रभाव पार्छ भनेर अनुसन्धान गर्न अरूलाई होइन लागुऔषध प्रयोगकर्तालाई छानिएको छ ।

लागुऔषध प्रयोगकर्तालाई सहयोग गर्न सञ्चालन भइरहेका सुधारगृहको सहकार्यमा यो भ्याक्सिन परीक्षण भइरहेको छ । परीक्षणका अगुवा अनुसन्धानकर्ता डा. समीरमणि दीक्षितले भने, ‘लागुऔषध प्रयोगकर्तामाथि काम गर्ने समुदायको पहलमा उनीहरूकै सदस्यमाथि भ्याक्सिनको प्रभावकारिता परीक्षण गरिएको हो, पाकिस्तानमा पनि यसको परीक्षण भइरहेको छ ।’

ललितपुरको लेलेस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगसम्बन्धी नयाँ औषधि……..
ललितपुरको लेलेस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगविरुद्धको औषधि परीक्षणको तयारी भइरहेको छ । कुनै पनि बिरामीलाई यस्तो औषधि दिँदा यो औषधि परीक्षणमा छ तपाईंलाई स्वीकार छ कि छैन भनेर सहमति पनि लिनुपर्छ । तर, आनन्दवन अस्पताल प्रशासनले यो औषधिको विषयमा जानकारी दिन चाहेन, बिरामीको संख्या खुलाउनसमेत चाहेन ।

‘धेरै जानकारी दिन मिल्दैन, सेन्सेटिभ विषय हो । ट्रायल सुरु भइसक्या छैन, प्रोसेसमै छ,’ अस्पतालका एक चिकित्सकले नाम नबताउने सर्तमा भने, ‘औषधि नयाँ हो, नाम पनि छैन ।’ उनका अनुसार उक्त औषधि भने नेपाल ल्याइसकिएको छ । परीक्षणका लागि नेपाल ल्याइएको कुष्ठरोगविरुद्धको औषधिको नामसमेत खुलाइएको छैन । तर, यो औषधिको उत्पादनकर्ता पनि अमेरिकी कम्पनी नै भएको आनन्दवन अस्पतालले जनाएको छ ।।enayapatrika

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्