यस्तो बन्दैछ वीर अस्पताल



सैघाली खबर, ३१ जेठ।
नेपालकै जेठो वीर अस्पतालले १२९ औं वर्षगाँठ मनाउदै गर्दा १६ सय ५० बेड सहितका अत्याधुनिक भवन निर्माणको प्रक्रिया अघि बढेको छ । हाल वीर अस्पताल रहेकै ठाउँमा ६५० बेडको अन्तर्रा्ष्ट्रिय मापदण्डको भवन निर्माण शुरु भइसकेको छ । १७ रोपनी जग्गामा सात तले भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेसँगै निर्माण शुरु भएको सो भवन अढाई वर्ष्भित्र बनाइसक्ने लक्ष्य छ । त्यस्तै भक्तपुरको दुवाकोटमा ५७० रोपनी क्षेत्रफलमा एक हजार बेडको अर्को अत्याधुनिक भवन निर्माणको प्रक्रिया पनि अघि बढाउने तयारी छ । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलका पालामा अघि सारिएको यो महत्वाकांक्षी परियोजना पूरा हुनासाथ वीर अस्पतालले एकैपटक करिब २ हजार बिरामीलाई बेड उपलव्ध गराउन सक्नेछ ।

दुवै भवन बनेसँगै वीर अस्पतालमा बेड पाइएन भन्ने गुनासो अन्त्य हुने अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए । १२८ वर्ष पुरानो वीर अस्पतालमा ४० वर्षअघि बनेका भवन छन् । २०७२ सालको महाभूकम्पअघि ४६० बेड सन्चालनमा थिए । भूकम्पछि ३७० वटा बेडमात्र सन्चालनमा छन् । जाइकाको सहयोगमा वीर अस्पतालभित्रै एक सय बेडको अर्को भवन बनिरहेको छ । सो भवनको आधा काम सकिएको बस्नेतले बताए । वीर अस्पतालमा अहिले दैनिक १८ सय विरामीले सेवा लिइरहेका छन् । सस्तो शुल्क, कतिपय निःशुल्क उपचार र अत्याधुनिक उपकरण रहेका कारण विरामीको चाप वीर अस्पतालमा बढिरहेको छ ।

सो अनुसारको सेवा दिनका लागि अस्पतालले पछिल्लो समय उपकरण र नयाँ रोगको उपचार शुरु गरेको छ । बस्नेत अस्पतालको निर्देशक बनेपछि छाती रोग, बाथ रोग र हेमाटोलोजी गरी तीनवटा रोगको उपचार वीर अस्पतालमा शुरु भएको हो । तत्कालै वीर अस्पतालको इमरजेन्सी पनि बिस्तार गर्ने र ट्रायज सिस्टम शुरु गरिने भएको छ । त्यस्तै इमरजेन्सीलाई पेपरलेस बनाउने प्रक्रिया पनि अघि बढेको अस्पतालले जनाएको छ । अब वीर अस्पतालमा रक्तक्यान्सरको उपचार पनि शुरु भएको छ । त्यस्तै चौबिसै घण्टा डायलोसिस सेवा शुरु भएको छ र एचआइभी र हेपाइटाइटिसको उपचार पनि अस्पतालभित्रै थालिएको छ । क्यान्सरको रेडियसन थेरापीका लागि अत्याधुनिक कोब्याक मेसिन खरिद प्रक्रिया अघि बढाइएको खरिद शाखा प्रमुख भगवती थपलियाले जानकारी दिइन् ।

वीर अस्पतालमा अत्याधुनिक एमआरआई र दुईवटा सिटी स्क्यान मेसिन पनि यसबीचमा जडान गरेर विरामीलाई अस्पतालभित्रै सबै सुविधा उपलव्ध गराउन खोजिएको उनको दावी छ । नेपालमै नभएको ग्यास्ट्रो मेडिसिनको एलास्ट्रोग्राफी पनि वीर अस्पतालमा स्थापना गरिएको छ । त्यस्तै आन्द्रा र खाना नलीको रोग पत्ता लाउने म्यानोम्याट्री मेसिन स्थापना गरेर आन्द्राको रोगको उपचार थालिएको छ । कलेजो, आन्द्रा र फोक्सोको रोग पत्ता लगाउने तथा उपचार गर्ने अत्याधुनिक मेसिन राखिएपछि वीर अस्पताल सबै रोगको एकै ठाउँमा उपचार दिन सक्षम रहेको बस्नेतले बताए । फोक्सोमा मेसिन घुसाएर एक्सरे गर्ने इबस नामको प्रविधि विश्वमा २००३ मा विकास भएको थियो ।

भारतमा २००९ मा भित्रिएको सो प्रविधि नेपालमा वीर अस्पतालले भित्र्याएको छ । अस्पतालले सर्वोच्च अदालतको आदेश पालना गर्दै आफ्नै भवनमा सरकारी औषधी पसल सन्चालनमा ल्याएको छ । त्यस्तै टिकट काउन्टरमा टोकन प्रणाली लागु गरेका निर्देशक बस्नेतले अब काउन्टरमै बैंक राख्ने र बैंकमै पैसा बुझाउने व्यवस्था मिलाउने बताएका छन् । वीर अस्पतालले सिंहदरवारमा एक्सटेन्सन हेल्थ डेक्स शुरु गरेको छ । असहायको लागि विपन्न नागरिक कोषमार्फत उपचार सेवा दिइरहेको अस्पतालले स्वास्थ्य बीमा पनि लागु गरेको छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्