कक्षा ११ र १२ मा यो वर्ष किन लागू हुन सकेन नयाँ पाठ्यक्रम ?



सैघाली खबर, ५ असार ।
कक्षा ११ र १२ का लागि तयार पारिएको राष्ट्रिय पाठ्यक्रम एक वर्ष परीक्षण गरेपछि मात्रै पूर्ण कार्यान्वयनमा ल्याइने भएको छ । नयाँ पाठ्यक्रम २०७६ को शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याइने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । नयाँ पाठ्यक्रमबारे विवाद बढेपछि राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले तत्कालका लागि परीक्षणका रूपमा मात्रै कार्यान्वयन गर्ने निर्णय सोमबार गरेको हो । शिक्षाविद्, गणितरविज्ञानका विषयविज्ञ, निजी शैक्षिक संस्था र पुस्तक प्रकाशकहरूले यसै वर्षदेखि नयाँ पाठ्यक्रम लागू गर्ने निर्णयको विरोध गरेका थिए ।

गणित र विज्ञान विषय आवश्यकताअनुसार नसमेटिएको विज्ञहरूको भनाइ थियो भने निजी विद्यालय सञ्चालक र पुस्तक प्रकाशकहरूले तयारीपछि मात्रै कार्यान्वयनमा ल्याउन दबाब दिएका थिए । शिक्षाविद्हरूले समेत हतारमा पाठ्यक्रम कार्यान्वयन गर्न लागिएको भन्दै विरोध जनाएपछि रोकिएको हो । ‘केही विद्यालयमा नमुनाका रूपमा नयाँ पाठ्यक्रम लागू गर्छौं,’ परिषदका सदस्यसचिव कृष्णप्रसाद काप्रीले भने, ‘एक वर्षसम्म बहस छलफल गरेर मात्रै अब यो कार्यान्वयनमा आउनेछ।’ यसअघि केन्द्रले कक्षा ११ को पाठ्यक्रम आगामी साउनबाट लागू गर्ने तयारी गरेको थियो ।

‘विषयअनुसार पाठ्यक्रमहरू बन्ने क्रममा छन्। एक वर्षसम्म सबै विषयका पाठ्यक्रम, पाठ्यपुस्तक र शैक्षिक सामग्री उत्पादन गरेर आगामी वर्षबाट पूर्ण कार्यान्वयनमा जान्छौं,’ उनले भने । परिषदको नयाँ निर्णयअनुसार कक्षा ११ को साउनबाट सुरु हुने शैक्षिक सत्रमा पुरानै पाठ्यक्रमअनुसार पठनपाठन हुने भएको छ। परिषद् बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विज्ञसँग छलफल गर्न एक वर्षका लागि पाठ्यक्रमलाई परीक्षणका रूपमा लागू गर्न सुझाव दिएका थिए ।

‘पाठ्यक्रम सबैको साझा विषय हो । बृहत्तर छलफल गरेर मात्रै लागू गरिनुपर्छ,’ उनले भने, ‘असन्तुष्टि पनि समेटेर लैजानुपर्छ।’ पाठ्यक्रमबाट गणित र विज्ञान विषय हटाइएको भनेर भ्रम छरिएको मन्त्रीले दाबी गरे । नयाँ पाठ्यक्रमबारे स्थानीय तहसम्म छलफल चलाएर कार्यान्वयनमा जाँदा उपयुक्त हुने पोखरेलले बताए । केन्द्रका प्रमुख काप्रीले सबै विद्यार्थीले गणित पढ्न पाउने गरी बाटो खुल्ने बताए।

कक्षा ११ र १२ मा अहिलेकै पाठ्यक्रममा पनि अनिवार्य विज्ञान र गणित छैन । कतिपय शिक्षकरविद्यार्थीले जागिर जोगाउन गणितको मुद्दा बढी उठाएको नयाँ पाठ्यक्रम निर्माणमा संलग्नहरूको आरोप छ । ‘कक्षा ११ मा साढे ३ लाख विद्यार्थी पढ्छन्, तीमध्ये निकै थोरै मात्र विज्ञान पढ्ने विद्यार्थी छन्,’ परिषदका एक सदस्यले भने, ‘सबैलाई गणित र विज्ञानको बोझ बोकाउन हुँदैन ।।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्