जनशक्ति बिना उपकरण थप्नुको कारण के ?



सैघाली खबर, ७ असार ।
कञ्चनपुरस्थित महाकाली अञ्चल अस्पतालमा दक्ष जनशक्तिको अभावमा करोडौं रुपैयाँका उपकरण थन्किएर बसेका छन् । वर्षे्नि महँगा तथा आधुनिक उपकरण भित्र्याउने गरिए पनि दरबन्दी अनुसार चिकित्सक नहुनु तथा ती उपकरण सञ्चालन गर्ने प्राविधिकसमेत नहुनाले सेवाग्राहीले लाभ लिन सकेका छैनन् । महाकाली अञ्चल अस्पताल एक सय शैयासहितको भौतिक सुविधा सम्पन्न भए पनि जनशक्ति अभाव हुँदा सेवाग्राही मारमा परेका छन् ।

जनशक्ति पूर्ति गर्नुको साटो अस्पतालले वर्षे्नि स्वास्थ्य उपकरणमात्र माग गरिरहेको छ । नयाँ किन्नेभन्दा भएकै उपकरण सदुपयोग गर्न धेरैको सुझाव छ । दरबन्दी अनुसारका जनशक्ति नहुँदा सेवा प्रभावकारी बन्न नसकेको हो । सामान्य खालका स्वास्थ्य समस्यामा पनि सेवाग्राहीलाई चर्को मूल्य तिरेर भारतीय अस्पताल र निजी क्लिनिक धाउनुपर्ने बाध्यता छ । अस्पताल आधुनिक रुपमा सुविधासम्पन्न हुँदाहुँदै पनि जनशक्तिको अभाव हुँदा सेवा पाउन नसकेको हो ।

यन्त्र, उपकरण किनेर अतिरिक्त लाभ लिन कर्मचारीमा होडबाजी नै चल्ने गरेको सेवाग्राहीको आरोप छ । अस्पतालमा एकजना मेडिकल सुपरिटेण्डेन्ट, ६ जना मेडिकल अफिसर, १९ जना विशेषज्ञ डाक्टर, एक जना डेण्टल र एक जना परिवार नियोजनतर्फ गरी २८ जना चिकित्सकको दरबन्दी छ । तर हाल १ जना मेडिकल अफिसर र ३ जना विशेषज्ञ चिकित्सकबाहेक अरु पद रिक्त छ । जसका कारण सामान्य प्रकारका सेवा बाहेक अरु विरामीलाई अन्यत्रै पठाउने गरिएको महाकाली अञ्चल अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थी बताउँछन् ।

सरकारले औषधि किन्न दिएको रकम कम भएको, थप रकम माग्दा सुनुवाइ नभएको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयको भनाइ छ । त्यस्तै अस्पतालमा वर्गीकृत समूहले पाउने निःशुल्क औषधि पनि छैनन् । उपकरण खरिदमा मरिहत्ते गर्ने तर औषधि किन्न चासो नदेखाएकामा सेवाग्राही रुष्ट बनेका हन् । जनशक्ति र औषधि आपूर्तिमा ध्यान दिएर स्वास्थ्य जस्तो अत्यावश्यक सेवा पाउने नागरिकको अधिकार कुण्ठित हुन नदिन सबैको ध्यान जानु जरुरी छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्