यस्तो पनि हुन्छ हाम्रो देशमा ! बिकासका लागि भन्दै मत माग्ने जनप्रतिनिधिले सडक नै वेचिदिन्छन्



सैघाली खबर, २७ असार ।

सगरमाथा राजमार्गको जग्गा बिक्री गरेको आरोपमा पक्राउ परेका त्रियुगा नगरपालिका वडा नम्बर ३ की महिला सदस्यसहित ६ जनालाई उदयपुर अदालतले जेल चलान गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले महिला वडा सदस्य हरिमाया शाही, नापी कार्यालयका नापी सर्वेक्षक शिवचन्द्र ठाकुर, जग्गा बिक्री गर्ने ७८ वर्षीय शिवप्रसाद दाहाल र उनका छोरा ५४ वर्षीय बुद्धिप्रसाद दाहाल, जग्गा खरिद गर्ने नेपाल डंगोल, लेखापढी व्यवसायी हरिप्रसाद ढुगानालाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।

६ जनालाई मंगलबार नै थुनाका लागि जिल्ला कारागार शाखा बोक्सेमा पठाइएको छ ।  सरकारी जग्गा खरिद बिक्रीमा संलग्न रहेको भन्दै बिक्री गर्ने दाहाल बाबुछोरा, खरिद गर्ने डगोल, नापी सर्वेक्षक ठाकुर, महिला वडासदस्य शाही र लेखापढी व्यवसायी ढुगानालाई पक्राउ गरी ठगीमा मुद्धा चलाइएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए।

खरिद गर्ने डंगोल र बिक्री गर्ने दाहाल बाबुछोरासँगै अन्य भूमिका निर्वाह गर्ने महिला वडासदस्य सहितलाई मुद्धा चलाइएको थियो । दाहाल बाबुछोराले राजर्मागले ओगटेको सडक डंगोललाई १ करोड २७ लाख २० हजार रुपैयाँमा जेठ १६ गते बिक्री गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिक्री भएको जग्गा सदरमुकाम गाइघाटबाट झण्डै दुई किलोमिटरको दूरीमा पर्छ । महिला वडा सदस्य शाही, नापी सर्वेक्षक ठाकुर, लेखापढी गर्ने ढुगानको मिलेमतोमा दाहालले डंगोललाई राजर्मागको जग्गा रजिष्ट्रेसन पास गरिदिएका आधारमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।त्यस प्रकरणमा जग्गा धनीको नाती विरेश दाहाल, नापी प्रमुख कुशेश्वर चौधरी, जगन्नाथ आचार्य र दिपेन्द्र चौधरी फरार रहेको जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्