सल्यानका मेयर र उपमेयरद्वारा एकअर्काप्रति भ्रष्टचार गरेको आरोप



 नारायण खड्का 

सल्यान ६ श्रावन । प्रदेश नं. ६ अन्तर्ग सल्यानको एउटा नगरपालिकामा मेयर र उपमेयर बिचको विवाद छताछुल्ल भएको छ। उनीहरू एक अर्काबिरूद्ध सार्वजनिक रूपमै भ्रष्टचार गरेको आरोप प्रत्यारोपमा उत्रिएका छन्।

बजेट प्रस्तुत गर्ने प्रक्रियामै नपुगेर मेयर र उपमेयर आपसमा हिलो छ्यापा–छयाप गर्न व्यस्त हुँदा  सल्यानको वनगाड कुपिण्डे नगरबासी अन्यौंलमा परेका छन्।

न्याय निसाफ दिने स्थानीय सरकार नै सार्वजनिक रूपमा आरोप प्रत्यारोपमा उत्रिएपछि को सही भन्ने विषयमा सर्वसाधारण दोधारमा परेका हुन्।

बिहिबार बिहान ८ बजे सार्वजनिक चोकमा पत्रकार सम्मेलन गर्दै उपमेयर मञ्जु यरीले मेयर गोविन्दकुमार पुन माथि आर्थिक अनियमितता गरेको, हुकुमी शासन  लादेको जस्ता १३ वटा आरोप लगाइन्।

बिहिबार बेलुका ८ बजेनै त्यसको प्रतिरक्षामा मेयर पुनले कार्यालयमा पत्रकार सम्मेलन गर्दै उपमेयरमाथि त्यस्तै जवाफ फर्काए।

उपमेयर यरीले अनुशासनहिन गतिविधि गर्दै आएको, बैठकस्थलमै अपशब्द प्रयोग गरेको, आफूमाथि हातपात गर्न खोजेको, श्रीमानमार्फत भ्रष्टचार गरेको जस्ता आरोप मेयरले लगाए।

आर्थिक अनियमिताको कुरा उछालेर नगरवासीलाई भ्रम सृजना गर्न खोजेको भन्दै मेयरले उपमेयरको व्यवहारले आफू आश्चर्यमा परेको गुनासो गरेका छन्।

यता उपमेयरले यरीले मेयरको आरोप खण्डन गर्दै मेयरले व्यापक रुपमा अनियमितता गर्दै आएको आरोप लगाइन्।

मेयरले किर्ते गरेर भ्रष्टचार गरे – उपमेयरको यरी

वनगाड कुपिण्डे नगरपालिकाकी उपमेयर मञ्जु यरीले आफू अनुगमन संयोजक भए पनि मोटो रकम लगानी भएको स्थानमा मेयर गोविन्दकुमार पुन एक्लै गएर आर्थिक अनियमितता गर्दै आएको आरोप लगाएकी छन्। ‘ठूलो लगानी भएको स्थानमा मेयर एक्लै जानुको पछाडि रहस्य लुकेको छ। उहाँ ठाडो आदेशमा व्यापक अनियमितता गर्दै आउनुभएको छ। त्यसको निष्पक्ष छानविन हुनुपर्छ,’ उपमेयर यरीले सेतोपाटीसँग भनिन्।

उनले मेयरले कार्यपालिकामा छलफल र आफूहरूसँग समन्वय नै नगरी मौखिक आदेशमा काम गराउँदै संस्थागत भ्रष्टचार गरेको आरोप लगाइन्।

उपमेयर यरीले  मेयर पुनले किर्ते गर्दै आफू अनुकुलको माइन्यूट गर्दै भ्रष्टाचार गरेको आरोप लगाएकी हुन्।

उनले असार १० गते नै नगरसभा सम्पन्न गरिसक्नुपर्ने भए पनि मेयरकै कारण हुन नसकेको आरोप लगाइन्।

असार २७ गतेदेखि साउन १ गतेसम्म नियमित वैठक बसे पनि मेयरले किर्ते गरेर त्यो मिति असार १० गते नै सम्पन्न गरेको देखाउन दबाव दिइरहेको बताइन्।

‘साउनमा भएको कामलाई असार १० गते भएको हो भनेर किर्ते माईन्यूट गरौं भन्ने मेयर गतिलो मेयर हो,’ उपमेयर यरीले भनिन्।

आफूहरूलाई उपस्थितिमा सही गराएर बलजफती गर्न खोज्दा मैले माइन्यूट खोस्न जाँदा मेयरले हातपातको आरोप लगाएको उनले दाबी गरिन्।

उनले मेयरको यस्तै रवैया कायमै रहे नगरसभाको बहुमतबाट नगरसभा सम्पन्न गरि आफू अगाडि बढ्ने संकेत गरिन्। ‘म जनताको पक्षमा लड्दै आएको व्यक्ति हुँ र अब पनि जनतालाई अन्धकारमा राख्न कदापी दिने छैन,’ यरीले भनिन्।

नगरमा खानेपानीको राम्रो व्यवस्था नभएको, शिक्षाको राम्रो प्रवन्ध नभएको, अस्पतालको राम्रो प्रवन्ध नभएको हुँदा आफू त्यो निर्माणमा अग्रसर बन्नुपर्छ भन्दा मेयर पुनले विलाशिताका कुराहरु रंगशाला, रिङरोड जस्ता कुरा निर्माण गर्न खोजेर अनियमितता गर्न खोजेको यरीले दाबी गरिन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्