दिल्लीमा प्रचण्डले भने ‘नेपाल–भारत सम्बन्ध पुनः परिभाषित गरौँ’



दिल्ली २३ भदौ ।  पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीच सम्बन्धको नयाँ धरातल निर्माणको अवसर आएको बताएका छन् । भारतीय विश्व सम्बन्ध परिषद् (आइसिडब्लुए)ले शुक्रबार अपरान्ह नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले भारतसँग नेपालको सम्बन्ध विशिष्ठ रहेको तर, नयाँ परिप्रेक्ष्यमा परिभाषित गर्नुपर्नेमा आवश्यकता रहेको बताए ।

‘पहिला सामन्ती राजतन्त्रात्मक व्यवस्था थियो, अहिले लोकतान्त्रिक परिस्थिति निर्माण भएको छ । नयाँ परिप्रेक्ष्यमा सम्बन्ध परिभाषित गर्ने अवसर आएको छ,’ प्रचण्डले भारतीय बुद्धिजीवी तथा कूटनीतिक समुदायमाझ भने, ‘राजतन्त्रले फुटाउ शासन गरको शैलीमा विदेश नीति सञ्चालन गरेको थियो । अहिले त्यो अवस्था छैन । अहिले भारत र चीनबीच एकअर्काविरुद्ध प्रयोग हुने अवस्था छैन । सर्वसाधारण र नेपालका बुद्धिजीवीले यो कुरामा विश्वास पनि राख्दैनन् ।’

अर्को सन्दर्भमा प्रचण्डले पार्टी एकताका क्रममा प्रधानमन्त्री केपी ओलीसँग सरकारको नेतृत्व परिवर्तनसम्बन्धी सम्झौता भएको संकेत पनि गरे । पाँच वर्षे कार्यकालमध्ये एक समय ओली र त्यसपछि प्रचण्डले नेतृत्व लिनेबारे सोधिएको प्रश्नमा प्रचण्डले यस्तो बताए ।

पार्टी एकताका सन्दर्भमा हामीबीच समझदारी भएको छ, तर त्यसले पाँच वर्षे सरकारको स्थायित्वलाई फरक पार्नेछैन, हामीले जनतालाई चुनावमा अपिल पनि गरिसकेका छौँ,’ प्रचण्डले भारतीय बुद्धिजीवी तथा पूर्वराजदूतमाझ भने, ‘बाँकी के–के घटनाक्रम हुन्छ, तपाईँहरूले थाहा पाइहाल्नुहुनेछ ।’

करिब आधा घन्टा प्रस्तुतीकरण र आधा घन्टा भारतीय बुद्धिजीवीका प्रश्नको उत्तर दिएका प्रचण्डले नेपालको विदेश नीतिको प्राथमिकताका साथै शान्ति प्रक्रियामा आउँदाको अनुभव पनि सुनाए ।

गृहमन्त्री राजनाथसँग भेट
अध्यक्ष प्रचण्डले शुक्रबार भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । भेटमा प्रचण्डले सीमावर्ती क्षेत्रमा नेपालीहरूमाथि भएका दुव्र्यवहारबारे ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ । जबाफमा गृहमन्त्री सिंहले कुनै घटना हुन नदिने आश्वासन दिएका छन् ।

मोदीसँग आज भेटवार्ता
पूर्वप्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार दिउँसो भेटवार्ता हुँदै छ । मोदीनिवास ७ लोककल्याण मार्गमा हुने भेटवार्तामा नेपाल र भारतबीच हालसम्म भएका सहमति र सम्झौता कार्यान्वयनमा प्रचण्डले जोड दिनेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्