सभामुख महरा र तिब्बतका पार्टी सचिव यु बीच भेट



ल्हासा, २३ भदौ । सभामुख कृष्णबहादुर महरा र चीनको तिब्बत स्वशासित प्रदेशका कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच भेटवार्ता गर्नुभएको छ । चीन भ्रमणमा रहनुभएका सभामुख महराले ल्हासामा सचिव यु यिंग्जेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटका क्रममा सभामुख कृष्णबहादुर महराले नेपाल–चीन सम्बन्ध निकै पुरानो भएको बताउँदै तिब्बत र नेपालबीचको ऐतिहासिक, साँस्कृतिक, सामाजिक सम्बन्धले नेपाल–चीन सम्बन्ध थप सुदृढ भएको बताउनुभयो ।

‘नेपाल–चीन सम्बन्धको इतिहास आफैमा निकै पुरानो छ, सभामुख महराले भन्नुभयो, ‘त्यसमा तिब्बत र नेपालको ऐतिहासिक, साँस्कृतिक, सामाजिक सम्बन्धले दुई देशबीचको सम्बन्ध मजबुत र प्रगाढ बनाउन थप मद्धत पुगेको छ ।’नेपालले लिएको विकास र समृद्धिको लक्ष्यमा चीन सरकारको तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो । ‘नेपालको विकास र समृद्धिका लागि चीनको ठूलो सहयोग रहेको छ’ सभामुख महराले भन्नुभयो, ‘नेपालको विकास र सफलताले चीनलाई पनि सहयोग पुग्नेछ ।’ नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै सभामुख महराले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि नहुने बताउनुभयो ।


नेपालमा लामो राजनीतिक संघर्षपछि शान्ति, स्थिरता र स्थायित्वतर्फ देश अघि बढिरहेको भन्दै सभामुख महराले नयाँ संविधान कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । आफूहरुले संघीय शासन प्रणालीको भर्खरै अभ्यास गरिरहेको भन्दै महराले संघीय पद्धति र प्रक्रियाको लामो अभ्यास गरिरहेको चीनबाट आफूहरुले धेरै कुरा सिक्ने बताउनुभयो ।भेटमा चीनको तिब्बत स्वायत प्रदेशका कम्युनिष्ट पार्टीकासचिव यु यिंग्जेले दुई देशबीचको सम्बन्धमा जोड दिदै विकास र समृद्धिको एजेण्डामा आफूहरुको सहयोग जारी रहने बताउनु भयो । अहिले दुई देशबीच सम्झौता भएका निर्माणाधीन परियोजनाहरु कार्यान्वयनको तहमा रहेको भन्दै उहाँले आपसी सहयोग अझै बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालले लिएको एक चीन नीतिको प्रशंसा गर्दै युले असल छिमेकीले निर्वाह गर्नुपर्ने भूमिका नेपालले पूरा गरिरहेकोा बताउनुभयो ।
यसैबीच चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रर्दशनीमा प्रमुख अतिथिका रुपमा चीन आउनुभएका सभामुख महरालाई स्वागत गर्न तिब्बत जनकंग्रेसका उपाध्यक्ष च्यू च्यनहवा ल्हासा विमानस्थल पुग्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्