आङ सान सुकीको सम्मान फिर्ता



एमनेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ आङ सान सुकीलाई दिएको आफ्नो सर्वोच्च सम्मान फिर्ता लिएको छ । रोहिंग्या अल्पसंख्यक समुदायप्रति उनको व्यवहार नराम्रो भएको भन्दै एमनेस्टीले सम्मान फिर्ता लिएको हो । नोबेल पुरस्कार विजेता सुकीलाई एमनेस्टीले सन् २००९ मा आफ्नो सर्वोच्च सम्मान ‘एम्बेस्डर अफ कन्शियन्स अवार्ड’ प्रदान गरेको थियो ।

त्यतिबेला सुकी आफ्नै घरमा नजरबन्दमा थिइन् । ७३ वर्षीया सुकीलाई दिइएको कुनै सम्मान फिर्ता भएको यो पहिलो घटना हो । एमनेस्टी त्यही संस्था हो जसले एकपटक सुकीलाई लोकतन्त्रको प्रकाशस्तम्भ भनेको थियो ।

एमनेस्टी इन्टरनेशनलका सचिव जनरल कुमी नाइडुले म्यानमारका नेतालाई पत्र लेखेर सम्मान फिर्ता लिइएको जानकारी दिएको बीबीसीले जनाएको छ । सुकी म्यानमार सरकारको नजरबन्दबाट मुक्त भएको आठ वर्ष पुगेको छ र रिहाइ भएको ठीक आठ वर्षकै दिन एमनेस्टीले सर्वोच्च सम्मान फिर्ता लिइएको जानकारी दिएको छ ।

सुकीलाई म्यानमार सरकारले १५ वर्षसम्म उनकै घरमा नजरबन्द गरेर राखेको थियो । उनलाई एमनेष्टीले १९८९ मा ‘राजनैतिक बन्दी’ घोषणा गरेको थियो । राजनैतिक बन्दी घोषणा गरेको ठीक २० वर्षपछि एमनेस्टीले सुकीलाई सर्वोच्च सम्मान दिएको थियो । यसअघि एमनेस्टीको उक्त सर्वोच्च सम्मान नेल्सन मन्डेलाले पाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्