अस्तव्यवस्त क्षेत्रीय आयुर्वेद अस्पताल



दाङ १६ साउन ।   दाङमा रहेको मध्यपश्चिम क्षेत्रीय आयुर्वेद चिकित्सालय अस्तव्यवस्तताको सिकार बन्दै गएको छ । अस्पताल विकास समिति र अस्पताल प्रशासन वीच समन्वय हुन नसक्दा यस्तो अवस्था आएको हो । चिकित्सालय प्रमुख र कर्मचारीहरुले अस्पताल विकास समितिलाई बेवास्ता गरी आ–आफ्नै ढँगले अगाडि बढदा त्यसको असर चिकित्सा सेवामै पर्न थालेको छ ।
बाहिरी रुप हेर्दा सफा र सुन्दर देखिए पनि चिकित्सालयको भित्रि रुप अर्कै छ । अस्पताल भित्र जताततै फोहर छ भने उपचारका लागि आउने विरामीहरु त्यही फोहर भुईँ मै वस्न बाध्य छन् । अझ अस्पतालको शौचालय भित्र पस्न सक्ने अवस्था नै छैन । “नजिकमा भएको यही एउटा अस्पताल हो, जस्तो भएपनि यहाँ नआई सुख्ख छैन । यहाँ नआए कि तुलसीपुर, कि घोराही जानु पर्छ, वर्षातको मौसममा अलि गह्रो हुन्छ”, एक स्थानियले भने ।
चिकित्सालयमा सेवा लिन आउने बिरामीहरु दिन प्रतिदिन घट्दैछन् । अस्पताल भवन जिर्ण हुदै गएको छ । भवन मर्मत गरिएको भनिए पनि रंग रोगन मात्र गर्ने गरेको कर्मचारीहरु वताउँछन ।
अस्पतालमा एक्सरे मेसिन भए पनि प्राविधिकको अभावमा संचालनमा छैन । भिडियो एक्सरे सेवा पनि भर्ना भएका विरामीहरुको लागि दिने गरिएको छ ।
कर्मचारी र चिकित्सालय प्रमुख विचको असमझदारीका कारण खरिद गरिएका ईन्भरटर, कुर्सी र पञ्चकर्मका सामग्री लामो समय वितिसक्दासम्म स्टोरमा दाखिला भएको छैन ।
यस्तै अस्तव्यस्तका बीच चिकित्सालय प्रमुख डाक्टर ठाकुर दवाडी काजमा स्वास्थ्य विभाग गएका छन् । अर्को व्यवस्था नभएसम्मका लागि काजमा जाँदा पनि डा. दवाडीले कार्यालयको चाँवी समेत नदिई आफै संग लिएर गएको निमित्त प्रमुख डा. गोकर्ण दाहालले वताए ।
आफूले निमित्त पाए पनि आर्थिक अधिकार नपाउँदा अस्पताल संचालनमा कठिनाई उत्पन्न भएको डा. दाहालको भनाई छ ।
कमिशनको खेलमा एउटा जेनेटर हुँदा हुँदै आवश्यकता भन्दा ठूलो क्षमताको जेनेटर खरिद गरिएको पाईएको छ ।
यस्तो लथालिँग हुदाँ पनि अस्पताल विकास समितिले भने केहि पनि गर्न सकेको छैन । आफू विकास समितिको अध्यक्ष भएको पाँच महिनासम्म एउटा पनि बैठक नबोलाएर चिकित्सालय प्रमुखले आफूलाई काम गर्नै नदिएको अध्यक्ष प्राध्यापक भैरब मजगैयाँ वताउछन् ।
चिकित्सालय कति सम्म अस्त व्यस्त भएको छ भने पिउने पानीका लागि बोरिङ गरेको महिनौ वितिसक्दा समेत परिक्षण नभएकै कारण अस्पतालका चिकित्सक एवं कर्मचारीहरु ईनारको पानी पिउन बाध्य छन् ।
अस्पताल विकास समिति र अस्पताल प्रशासन विचको वेमेल र व्यक्तिगत ईगोका कारण अस्पतालको अवस्था खस्किएको यहाँका जानकारहरु वताउँछन । यस्तै अवस्था रहि रहे क्षेत्रिय आयुर्वेद चिकित्सालयको अस्तित्व जोगाउन समेत गाह्रो हुने देखिएको छ

रोशनमान श्रेष्ठले अन्नपूर्ण पोष्टमा लेख्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्