नयाँ वर्षको सम्बोधनमा किम जोंगले दिए यस्तो चेतावनी



काेरिया । उत्तर कोरियाली नेता किम जोङ उनले परमाणु अस्त्र निश्शस्त्रीकरणप्रति आफू प्रतिबद्ध रहेपनि अमेरिकाले उसको नाकाबन्दी कायम राखे आफूले बाटो परिवर्तन गर्ने चेतावनी दिएका छन् ।

नयाँ वर्षको सम्बोधनमा उनले यसबारे घोषणा गरेका हुन् । उनको उक्त सम्बोधनमा धेरैको चासो थियो ।

मंगलवार बिहानै सरकारी टेलिभिजनमा प्रसारण गरिएको घोषणामा किमले भने, ‘यदि अमेरिकाले सारा संसार सामु व्यक्त गरेको आफ्नो प्रतिबद्धता कायम राख्दैन र हामीमाथि नाकाबन्दी र दबाव जारी राख्छ भने हाम्रो सार्वभौमसत्ता र हाम्रो स्वार्थ सुरक्षार्थ नयाँ बाटो लिनुको विकल्प छैन।’

सोलस्थित बीबीसीकी लोरा बीकर भन्छिन्, ‘यसको अर्थ उत्तर कोरिया सन २०१९ मा अमेरिकाले केही गरोस भन्ने चाहन्छ अन्यथा अहिले रोकिएको आणविक हतियार परीक्षणको समय समाप्त हुन सक्छ । उसको प्रतिबन्धित आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमका कारण संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको विभिन्न प्रकारको नाकाबन्दी झेल्दै आएको छ ।’

किमले भने, ‘उत्तर कोरियाले आणविक हतियार उत्पादन, प्रयोग र प्रसार नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ र त्यसो हुन नदिन ठोस कदमहरू कार्यान्वयन गरेको छ।’

उनले आफू ट्रम्पसँग कुनै पनि समय भेटवार्ता गर्न तयार रहेको बताए ।

एनके न्यूजका ओलीभर होथमले बीबीसीलाई भने, ‘उनको लवज धेरैले अपेक्षा गरेजस्तै थियो । आफ्नो देशमा मुख्य मुद्दाहरूमा अडान, अमेरिकाप्रति मेलमिलापमुखी तर दृढ सन्देश र सोलप्रति परस्परको सहयोगको संभावना सहितको भाषण थियो।’

गत वर्षको घोषणाले उत्तर कोरियालाई दक्षिण कोरिया र अमेरिकासँग कुटनीतिक रुपमा नजिकिन मार्ग प्रशस्त गरेको थियो ।

किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सन् २०१८ को जुनमा ऐतिहासिक भेट गरेर परमाणु अस्त्र निश्शस्त्रीकरणबारे छलफल गरे । तर त्यसको परिणाम निकै कम देखियो ।

कम्युनिष्ट मुलुकका संस्थापक तथा उनका हजुरबु्वा किम इल सङको परम्परा कायम राख्दै किम जङ–अनले नयाँ वर्षका दिन महत्वपूर्ण घोषणा गर्ने गरेका हुन्।

घरेलु श्रोता लक्षित गरेर अर्थतन्त्रबारे कुराकानी गर्ने लक्ष राखिएपनि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले उनका भनाइका हरेक लाइनमा प्योङयाङको अन्तर्राष्ट्रिय एजेन्डाको भेउ खोज्ने गर्छन् ।
बीबीसी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्