यी हुन् सन् २०१८ मा भाईरल भएका अनुहारहरु



इन्टरनेटको संसारमा भाइरल भन्ने शब्द खुबै चलेको छ । यो शब्दले त्यस्तो फोटो, भिडियो, पेज, लेख, समाचार वा लिङ्कलाई जनाउँछ जुन इमेल वा सोसल मिडिया पोर्टलबाट रातारात धेरै भन्दा धेरैले हेर्छन्, सुन्छन्, पढ्छन्, सेयर वा क्लिक गर्छन् ।

जसरी ‘भाइरल फिभर’ एक मानिसबाट अर्को मानिसमा शीघ्र सर्दै जान्छ, त्यसैगरी कुनै फोटो वा भिडियो सोसल साइटका एउटा प्रयोगकर्ताबाट अर्कोमा चाँडै सर्दै जाने भएकाले प्रतीकात्मक रूपले यसलाई भाइरल भनिएको हो ।

सन् २०१८ मा पनि त्यस्ता धेरै विषय, घटना एवं व्यक्तित्वहरू भाइरल भएका छन् । तीमध्ये नाम छुटाउन नहुने व्यक्ति हुन्— अशोक दर्जी, जो लगभग मार्च महिनादेखि भाइरल फेमको खुड्किला चढ्न थाले र आजसम्म रोकिएका छैनन् ।

संगीतकार टङ्क बुढाथोकीको मनबिनाको धन गीत गाएर थप चर्चामा आएका दर्जी लामो समयसम्म युट्युब सेन्सेसन बनिरहे । यी नौ वर्षीय बालकलाई क्यामेराको फ्रेममा कैद गरेर आफ्नो च्यानलको भ्युज बढाउने होडबाजी वर्षभरि नै चलिरह्यो ।

१२ मार्चमा युएस–बङ्ला एयरलाइन्स्को फ्लाइट–२११ ढाकास्थित शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । चिकित्सक टोलिका डा. बालकृष्ण थापाले पनि उक्त दुर्घटनाबाट ज्यान गुमाउनुप¥यो । उक्त प्लेन क्र्यास मार्चमा भाइरल समाचार बन्यो ।

अप्रिलमा पानामाका एल चोम्बोले गाएको दामेतुकोसिता गीतमा एलिएन भ्यागुतासँग नाच्नेहरूको लर्कै लागेको थियो । अप्रिलको दोस्रो साता दीपक बज्राचार्यले आफ्नो युट्युब च्यनलमा अपलोड गरेको मन मगन गीतले पनि निकै ख्याति कमायो ।

१ करोडभन्दा बढीले हेरेको यो गीत नेवारी तथा हिन्दी भाषामा समेत सार्वजनिक भएको छ भने अन्य अन्तर्राष्ट्रिय भाषामा आउने तयारीमा छ । गीतकै कुरा गर्दा सेप्टेम्बरको पहिलो साता म्युजिक नेपालले सार्वजनिक गरेको नेपाली व्याकरण शिर्षकको गीत पनि प्रशस्त रुचाइयो ।

शारदा पराजुलीले गाएको यो गीतका रचनाकार शंखमूलस्थित एआईए स्कुलका नेपाली शिक्षक बिमल घिमिरे हुन् । यो गीतले नेपाली व्याकरणका नियमहरू सरल तरिकाले सिकाउ“छ ।

जुलाईमा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले अन्तरर्राष्ट्रिय श्रम सम्मेलन जेनेभामा दिएको हास्यास्पद अंग्रेजी भाषणले सोसल मिडियामा निकै आलोचना खेप्यो । अ

र्थोपेडिक सर्जन डा. गोविन्द केसी जुम्ला जिल्ला प्रहरी कार्यालयमा बसेको आमरण अनसन र देशभरि उक्त समाचारले सिर्जना गरेको तरङ्ग पनि जुलाईको पहिलो साता चर्चित रह्यो । २६ जुलाईमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्त र उनका बाबु–आमा एबम् जनताले न्याय पाउन गरेको अटुट संघर्ष अद्योपान्त देशको प्रमुख समाचार बनिरहेको छ ।

देशका प्रधानमन्त्री केपी शर्मा ओली झन भाइरल नहुने कुरै भएन । बेलाबखत टुक्का र अरिङ्गाल, बुद्धिजीवी वा नयाँ युगको सुरुवातजस्ता अनेकन् शब्दावलीले ओलीलाई समाचारमा राखिरह्यो ।

केपी ओलीले सन्दीप लामिछानेको क्रिकेट कौशलको प्रशंसा गर्दै व्यक्त गरेको ‘नेपालीले पायो भने गर्छ’ भन्ने वाक्यांश पनि उत्तिकै गुञ्जियो । त्यसैगरी रवि लामिछने पनि प्रशंसित भए । लामिछानेले नै फेब्रुअरी महिनाभरि भाइरल भएको टीकाथलीको भूतकाण्डको पर्दाफास गरेका थिए ।

दसैं आउनु ठीक अघि अक्टोबरको पहिलो सातातिर आशिका तामाङ खसी काण्डका कारण लाइमलाइटमा आइन् । उनी एक भिडियोमा मासु खानुपर्छ तर अरूको हत्या गरेर होइन, हत्या गर्नु परे घरबारविहीन खसीको हत्या गर्नु भन्दै रोएकी थिइन् । अचम्मको अभिव्यक्तिपूर्ण उक्त भिडियो खुबै चम्कियो ।

अक्टोबरको अन्तिम साता बखत विष्ट र प्रतिभा चौधरीको जोडीले युट्युबमा राम्रै अड्डा जमायो । बखतको छोटो कदलाई विशेष मसला बनाएर हरेक च्यानलले उक्त जोडीलाई चर्चाको सगरमाथा चढाए । यो जोडीले म्युजिक भिडियो हुँदै हास्यश्रृंखला मेरी बास्सैमा समेत अभिनय गर्न भ्यायो ।

नोभेम्बर र डिसेम्बर महिनामा मिस वल्र्ड नेपाल श्रृंखला खतिवडा पनि सोसल मिडियामा चर्चित रहिन् । अबिन भोछिभोयाले बनाएको उनको परिचयात्मक भिडियो पनि खुब लोकप्रिय भयो ।

यसपटक नेपाल आइडलले विचित्रका तीन भाइरल व्यक्तित्व जन्मायो– झक्कड थापा, नरेश पातली र काउली बूढी । यी तीनै अनौठा पात्रले पछि भद्रगोल टेलिसिरियलमा अभिनय गर्ने अवसर पाए ।

नेपाल आइडलबाट बाहिरिएका विश्व आनन्द पोखरेलको आर्थिक स्थितिलाई उछाल्दै तयार पारिएका भिडियोहरू नोभेम्बर महिनामा भाइरल भए । पुष्पन प्रधानदेखि आइडलका अन्तिम चार रवि ओड, विक्रम, अमित र अस्मिता पनि सामाजिक सञ्जालहरूतिर प्रख्यात भए ।

त्यसैगरी राजनीतिक वृत्तमा नेपाल टेलिभिजनकर्मी राजु थापासँगको अन्तर्वाताको सन्दर्भमा सञ्चारमन्त्री गोकुल बासकोटा, काठमाडौंबाट चुनाव लड्ने विषयमा वामदेव गौतम, निजगढ विमानस्थल विवाद तथा वाइडबडी खरिदका सम्बन्धमा पर्यटन मन्त्री रवीन्द्र अधिकारी पनि बेलाबखत समाचारका हेडलाइन बने ।

डिसेम्बरमै नेपाली कांग्रेसको महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले डा. प्रकाश शरण महतलाई गरेको सम्बोधन खिसिट्युरीको बिषय बन्न पुग्यो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्