वैदिक हिन्दु धर्मीहरु विदेशी थिए त ?



नेपाली समाजमा आज यौटा यस्तो विद्वत् गुटको निर्माण भएको छ जसले आफ्नो अस्तित्वलाई नै विदेशी भूमिको राष्ट्रियतासँग जोडिरहेको छ । इतिहासका पुस्तकहरुदेखि सांस्कृतिक रुपमा आफूलाई मध्य एसियाबाट प्रवासित भएर भारत प्रवेश गरेको मनगढन्त इतिहासको निर्माण गरेर आफ्नो इतिहाससँग नै खेलवाड गर्ने वर्तमान परम्परामा राष्ट्रियता कतिसम्म हितप्रद छ त्यो तिनै तथाकथित वैदिक गुटले नै जानोस् परन्तु हाम्रो अभिप्राय यति हो कि सत्यको अन्वेषण र तर्कको पाथेयमा कैवल्यको खोजी गर्ने राष्ट्रभक्तहरुको संस्कृतिसँग खेलवाड गर्नु मानवतामाथिको कुठाराघाट नै हो ।

वैदिक धर्मको कुरा गर्दा पनि संसारका सबै सम्प्रदायहरुप्रति निरपेक्ष , खुला मान्यता दिने यो सम्प्रदाय आज आफ्नो अन्धभक्तहरुबाट प्रताडित छ । निर्मलमणि अधिकारीजीको शब्दमा भन्नुपर्दा आफ्नै जरो किलो भएको यो संस्कृति जसको विस्तार न्यायशास्त्र , तर्कशास्त्र , विमानिका देखि गणित , जैविक चिकित्सा तथा रसायन शास्त्रसम्म छ त्यसका सन्ततिले आज आफ्ना पितापुर्खाको अस्मितालाई केही खोकुला विदेशीको बहकाउमा आएर बदल्नु अशोभनीय कुरा हो ।

त्यसै प्रसंगमा आर्य हिन्दु जातिहरुको इतिहास मध्य एसियाको भूमिबाट प्रवासित भएको मान्नु तथा नेपाल तथा भारतमा आक्रमक शैलीमा प्रविष्ट हुनु अपमान जनक विषय नै हो । वास्तवमा विश्वको धार्मिक इतिहासलाई हेर्दा संसारको सबैभन्दा पुरानो मत हिन्दु सम्प्रदाय नै हो जसको विशुद्ध नाम वैदिक सनातन धर्म हो । पाश्चात्य चिन्तनमा संसारमा दुइवटा मजहबी धारा छन् जसको विभाजन युनानी पैगम्बर नूहका सन्तानहरुको आधारमा भएको छ । नूहका सन्तान सेमको वैधानिक उत्तराधिकारीको रुपमा सेमिटिक सम्प्रदायहरुको उदय हुन्छ जसको धारा यहुदी , इशाइयत तथा इस्लामको आधारमा विभाजित हुन्छ ।

त्यो सेमिटिक मत भयो भने सेम बाहेकका अन्य मतहरु असेमिटिक मानिन्छन् जस्तो कि वैदिक धर्म तथा बौद्ध आदि मत सम्प्रदायहरु । यसरी हेर्दा वैदिक धर्मलाई गौण रुपमा प्रस्तुत गरेको छ पाश्चात्य साम्प्रदायिक परिभाषाले । संसारको आदि मूल हेर्दा ऋग्वेदका ऋचाहरुका ऋषिहरुकै इतिहासलाई हेर्ने हो भने पनि वशिष्ठादि ऋषिहरुको वंश परम्परा हेर्दा मात्र ऐतिहासिक दृष्टिले ऋग्वेदको भाषा र इतिहास संसारको सबैभन्दा पुरानो संग्रहालय प्रतीत हुन्छ । त्यस बाहेक हिन्दु आस्थाको दृष्टिले हेर्ने हो भने पनि वेदहरुलाई पुस्तक विशेषको रुपमा नलिएर अपौरुषेय नित्य ज्ञानको रुपमा लिइएको छ जसको अनन्तता नेति नेति उद्गारले व्यक्त गर्दछ ।

संसारमा बौद्धिक आतङ्कको श्रीगणेश बाइबलको पुस्तकबाट नै भएको छ । चाहे त्यो राजनीतिक धरातलमा क्याथोलिक र प्रोटेस्टेन्टको संघर्ष होस् या चर्च अफ गड यो मोर्मनिजमको उहापोह । संसारमा इभान्जेलिज्मको लागि इसाइ मिसनरीहरुको आदर्श कहिल्यै पनि शुद्ध रुपमा फैलिएको छैन । जुन देशमा उनीहरु आफ्नो विस्तार चाहन्छन् त्यो राष्ट्रको सांस्कृतिक इतिहासलाई कलुषित पार्ने उनीहरुको परम्परा पुरानो हो । मूलतः हामी येशुको विरोधी होइनौँ परन्तु विधिले अहिले स्वयं वर्तमान इशाइ समाजलाई येशुको विरोधी बनाएको छ । येशुको सन्देशमाथि अमल गर्ने संसारमा कमै मात्र इशाईहरु विद्यमान छन् ।

लेखको विषयमा केन्द्रित रहँदा हामी बाइबलमा इजरायल या बेबिलोन आदि स्थलको वर्णन सुन्छौँ या पढ्छौँ । यस रूपमा आर्य जातिहरुको विकसित सभ्यतालाई नै इजरायलसँग जोडेर धार्मिक गिरोहहरुले हाम्रो प्राचीन सभ्यतालाई नै कलुषित पारेका छन् । यो देश , जो आज नेपाल या भारतको नामले लोक विख्यात छ , यसको प्राकृतिक सांस्कृतिक प्रवाह यति सम्मको स्वच्छ छ कि यहाँको प्रत्येक अंगअंगमा हामी आर्य संस्कृतिको गन्ध पाउँछौँ । मध्येकालमा भारतमा आएका इस्लामीहरुले यहीको रसमा भुलेर सुफिज्मको विकास गरे जसको आधार आदि शंकराचार्यको अद्वैत दर्शन रहेको पाइन्छ । यहीको रंगमा रंगिएका दाराशिकोह आदिले भारतमा वेदधर्मको तथा आर्य धर्मको प्रशंसा गरे । वास्तवमा कुरआन , इन्जिल (सुसमाचार) , तौरात ( पुरानो करारका आदि पुस्तक ) तथा जबुर (राजा दाउदका गीत ) हरुको अध्ययन गर्दा थाहा हुन्छ कि अब्राहामिक धर्मको मूलता कतै न कतै वैदिक धर्मको मूल नै हो । वेदमा पशुबलिको नामले विकृत स्वरुपको दर्शन अब्राहामले आफ्नो पुत्रको बलि तथा स्थल स्थलमा थुमाको बलि गर्दा आगो र वेदीको निर्माणबाट सिद्ध हुन्छ । महिलाहरुको रजस्वलाको आशौच बार्ने चलन यहुदी धर्म र वैदिक धर्मको एकै जस्तौ छ । वैदिक अक्षरहरुका कतिपय स्वरहरुको उच्चारण तथा संस्कृत शब्दहरुको अनुकरण परवर्ती इस्लामिक तथा हिब्रू साहित्यहरुमा देख्न सकिन्छ ।

वामपन्थी आन्दोलनका अग्रणी राहुल सांकृत्यायनका मानसपुत्रहरुले मूलरुपमा आर्यहरु विदेशी भएको , सिन्धुघाँटीको विकसित सभ्यता ध्वंस गर्ने आर्यहरु तथा आर्य द्रविड युद्धको वृथा प्रकल्पना अलाप्ने उनको निराधार तथ्यहरु स्वीकार गरेर नेपाली वामपन्थीहरु आफ्नो जरो किलो उच्छेदन गर्न तत्पर रहेको देख्न सकिन्छ । भोल्गा से गंगा नामक साहित्यमा आर्यहरुको मूलता जंगली , आफ्नी मातासँग यौन सम्पर्क राख्नेहरुबाट सभ्यताले विकास लिएको तथ्य सांकृत्यायन जीको उल्लेख छ । परन्तु म यो दावाका साथ भन्न सक्छु कि यो एक निराधार मनोरंजनात्मक उल्लेख मात्र हो जसले हाम्रो गरिमालाइै धेरै हदसम्म तल झारेको छ ।

आर्यहरु यो देशका अग्रज हुन् जसको बौद्धिक धरातलले विज्ञान र प्रविधिको चरम उत्कर्ष नाघेको थियो । हाम्रा गणितीय सुत्रहरुको गहिरोपन तथा व्याकरण – गणित जस्ता वस्तुपरक विषयमा पनि दर्शनद्वारा तत्वसाक्षात्कार गर्ने प्रविधि किन संसारका अरु सम्प्रदायमा छैन यदि हाम्रो संस्कृति आयातित संस्कृति भएको भए । यस विषयमा स्वयं इस्लामी तथा इसाइ सम्प्रदायका आदि सम्प्रदाय यहुदीका एक विख्यात दार्शनिक अरस्तुले ( ३८४– ३२२ ई.पू ) भारतबाट नै यहुदी दार्शनिकहरुको मूल भएको तथ्य प्रकाशित गर्दछन् । यहुदी राष्ट्रहरुको समुद्र पारिको व्यापारको यात्रा (१ राजा १०÷२२ ) बाट तथा भारतमा चन्द्रगुप्त मौर्यको समयमा सिकन्दरको चढाइबाट पनि स्पष्ट हुन्छ । केवल केही हजारवर्षको सभ्यताबाट करोडौ वर्षको सभ्यतालाई तुलना गर्नु मूर्खता पनि हो ।
वर्तमान नवबौद्धहरुका सरताज बाबासाहेब भीमराव अम्बेडकर पनि आर्यहरु विदेशी नभएको तथ्य आफ्ना साहित्यमा उल्लेख गर्नुहुन्छ ।
महर्षि वात्सायनको कामसूत्रमा पनि दाक्षिणात्यहरुमा लिंग छेदन गर्ने परम्पराको उल्लेख छ जसबाट यो परम्परा पनि हिन्दुस्थानको दाक्षिनात्यमा व्याप्त ग्रामीण परम्परा जो पछि तिनीहरुको प्यालेस्टाइन प्रवास सँगै यहुदी धर्मसँग प्रकाशित भएको प्रमाणित हुन्छ ।

यसको प्रमाण –

दाक्षिणत्यानां लिंगस्य कर्णयोरिव व्यधनं बालस्य । ( कामसूत्र ७/२/१५ )
प्रसिद्ध इतिहासविद् रामास्वामी अय्यरजीको विचार छ कि सिरियामा अरस्तुका शिष्य प्रसिद्ध लेखक “कलियरक्स ”को लेखबाट यहुदीहरुमा दाक्षिणत्य भाषा तमीलको व्यापक प्रचार भएको स्पष्ट हुन्छ जसको युनानी मिश्रण हिब्रू भाषा हो । यहुदीहरुका इतिहास लेखक जोजक्सको लेखबाट स्पष्ट हुन्छ कि गुजरातको पालीताणा नगर दाक्षिणात्यहरुको अधिकारमा थियो जसको सम्पर्कले प्यालेस्टाइन नगरको नामाकरण नजीकको छ ।

गुजरातको पालीताणा नगर जैनहरुको प्रसिद्ध नगर हो जहाँ समय समयमा यहुदीहरुको आवागमन भइरहन्थ्यो । यहुदी दमन सहन नसकेर यही प्रदेश हुँदै अग्निपूजक पारसीहरुको भारत आगमनले पनि यो क्षेत्र र यहाँको (तत्कालीन दाक्षिणात्य संस्कृतिले ) यहुदीधर्मको मूलताको आकार दिएको स्पष्ट हुुन्छ । त्यसबाहेक येशुको उपवास पनि जैनहरुको चालिस दिने उपवाससँग समानान्तरमा यही आएर जैन दर्शन र वैदिक दर्शनको प्रकाश भएको कुरा अनुमान गर्न सकिन्छ जसको विकसित स्वरुप येशुको सुसमाचारमा निर्देशित सिद्धान्तहरु हुन् ।

यस बाहेक आर्यहरुको इतिहासको लागि श्रोत सामग्रीहरु खोतल्दा हजरत नूह र उनको ईश्वरसँगको करार मनु महाराज र उहाँको वैदिक मनुस्मृति नै हो । बेथेलहेमको राजा हेरोदको शिशु संहार कंसको दुष्टताको प्रस्तुति नै हो । त्यसबाहेक आर्य इतिहासको धेरै कथाहरुको परिकल्पना नै युनानी संस्कृतिको मूल हो भन्दा अत्युक्ति नरहला पनि ।

आदमको स्वर्गको बगैँचा पनि यही हिन्दु देश नै थियो जसको फैलावट लंकासम्म व्याप्त थियो किनकी मरुभुमिमा फूल वृक्षहरुको वर्णन खोकुलो नै हो । स्वयं एक हदीसमा महम्मद साहब भन्नुहुन्छ कि उहाँलाई हिन्द देशबाट जन्नत (स्वर्ग ) को बासना आउँछ । जन्नत त्यही हो जहाँ प्रकृतिको मनोरमता , स्वच्छता र विधिको शासन होस् । हिन्द देश भनेर भारतीय उपमहाद्विपलाई नै भनिन्छ ।

यसरी सबै तर्कले हामी यो मान्न सक्छौँ कि आर्यहरुको आगमन कहिल्यै पनि बाहिरबाट भएन । सनातन धर्म यो देशको मूल धर्म हो जसको आदर्शले नै यहाँको विधि र नियमहरु संस्कारोचित रुपमा प्रस्तुत गर्दछ । हामी यस भूमिमा पुस्तौ पुस्ता देखि रहेका छौँ । बौद्ध – जैन – किराँत र बोन सबै यहाँका रैथाने सम्प्रदाय हुन् जसको आदर्श परनिर्भर युनानी इतिहाससँग भिन्न छ । शमित्योम्

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्