प्रियंका गान्धी बनिन् भारतीय कांग्रेस पार्टीकी महासचिव, को हुन् उनी ?



काठमाडौं — सन् २०१९ को लोकसभा चुनावको सन्दर्भमा भारतीय कंग्रेस पार्टीले प्रियंका वाड्रालाई महासचिव बनाएको छ ।

उनलाई महासचिव बनाएर कंग्रेसले युवावर्गको मन जित्ने दाउ खेलेको विश्लेषकहरूको भनाइ छ ।

फेब्रुअरीको पहिलो हप्तामा प्रियंकाले कार्यभार सम्हाल्ने बताइएको छ । उनलाई उत्तर प्रदेशको पूर्वाञ्चल क्षेत्रको जिम्मेवारी दिइएको छ ।

महासचिव बनेसँगै प्रियंकाले सक्रिय राजनीतिमा पाइला चालेकी छन् । यसअघि उनी कंग्रेसमा पर्दापछाडि बसेर काम गरिरहेकी थिइन् ।

सन् २०१८ मा भएको गुजरात विधानसभा निर्वाचनमा प्रियंकाले राम्रो चुनावी व्यवस्थापन गरेको कंग्रेस नेताहरू बताउँछन् । सानासाना कुरामा उनले ध्यान दिने गरेकी थिइन् ।

उनले मञ्चमा बोल्ने वक्ताहरूको सूचीलाई अन्तिम रूप दिएकी थिइन् र युवा तथा अनुभवी वक्तालाई बोल्ने मौका दिएकी थिइन् । अनि राहुल र सोनिया गान्धीका भाषणमा फ्याक्ट चेक गर्ने काम पनि उनैले गरेकी थिइन् ।

तर चुनावी अभियानका बेलामा उनले आफ्नो तस्वीर कतै पनि नआओस् भनी सावधानी अपनाएकी थिइन् । मानिसहरूको ध्यान कांग्रेस अध्यक्ष राहुल गान्धीमै केन्द्रित होस् भन्ने उनको चाहना थियो ।

राहुल कंग्रेस अध्यक्ष बनेपछि प्रियंका निकै सक्रिय थिइन् तर पछि राहुल आफैं सक्रिय हुन थालेपछि प्रियंका पर्दापछाडि गइन् । अझ गान्धीहरूको निर्वाचन क्षेत्र अमेठी र रायबरेलीमा पनि प्रियंकाको चर्चा कम हुन थाल्यो ।

कंग्रेसमा यदाकदा प्रियंका गान्धीलाई सन् २०१९ को लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई टक्कर दिनका लागि पार्टीको अनुहारका रूपमा प्रस्तुत गर्नुपर्ने माग उठ्ने गरेको थियो । तर सोनिया गान्धी राहुललाई मात्र नेतृत्वको अनुहारका रूपमा देखाउन चाहन्थिन् ।

प्रियंकाले राजनीतिमा कदम राख्दा दिदीभाइको तुलना हुन थाल्ने सोनियाको बुझाइ थियो । यसले गर्दा पार्टीमा गुटबन्दी हुन सक्ने पनि उनको अनुमान थियो । यसले कंग्रेस पार्टीलाई नोक्सानी गर्ने अनि राहुल गान्धीको राजनीतिक ग्राफमा पनि समस्या पर्ने सोनियाको आँकलन थियो ।

तर त्यस अनुमानलाई लत्याउँदै सोनिया गान्धीले अहिले प्रियंकालाई सक्रिय राजनीतिमा प्रवेश गर्ने अनुमति दिएकी छन् । राहुल गान्धीको नेतृत्वलाई नस्वीकार्ने संकेत विपक्षी दलका अन्य नेताहरूले दिएपछि भाजपाविरुद्धको महागठबन्धनमा प्रियंकाको नेतृत्व हुने सम्भावना छ ।

तर प्रियंकाका पति रोबर्ट वाड्रामाथि लागेको भ्रष्टाचारको आरोप उनको सबभन्दा ठूलो कमजोरीका रूपमा रहेको छ । प्रियंका अब सक्रिय राजनीतिमा आएपछि अन्य दलहरूले रोबर्ट वाड्राको बहानामा प्रियंकामाथि आक्रमण गर्ने सम्भावना छ ।

सन् १९७२ को जनवरी १२ मा जन्मिएकी प्रियंकाले मोडर्न स्कूलबाट विद्यालय स्तरको शिक्षा हासिल गरेकी हुन् । दिल्ली विश्वविद्यालयको जिसस एन्ड मेरी कलेजबाट उनले मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् ।

सन् १९९७ मा व्यापारी रोबर्ट वाड्रासँग उनको बिहे भयो ।

सन् २००४ को चुनावमा उनले आमा सोनिया गान्धीका लागि प्रचार गरिन् ।

प्रियंकाका दुई सन्तान छन् : एक छोरा र एक छोरी ।

एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्