श्रमिकलाई तलब नदिने मलेसियाको कम्पनीलाई कारबाही गर्दै सरकार



मलेसिया- कामदारलाई पारिश्रमिक नदिने मलेसियाको डब्लूआरपी कम्पनीलाई मलेसिया सरकारले कारबाही गर्ने भएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयले डब्लूआरपी एसिया प्यासिफिक कम्पनीलाई कारबाही गर्ने बताएको हो ।
तलब नदिएपछि नेपाल र बाङ्लादेशसहित विभिन्न देशका दुई हजारभन्दा धेरै कामदारले हडताल सुरु गरेका थिए । कम्पनीले तीन महिनादेखि तलब रोकेको, अतिरिक्त समय काम गरेको रकम नदिएको र अनावश्यक तरिकाले पैसा काटेको कामदार बताएका छन् ।
तर कम्पनीले भने कामदारको यो भनाईको खण्डन गरेको छ । कम्पनीका मुख्य कार्यकारी लि सोन होंग कम्पनीमा कार्यरत सबैलाई समयमै तलब दिएको र उनीहरुलाई मलेसियाको कानुन अनुसारको सुविधा पनि दिइएको दाबी गरेको मलेसियाको एक अनलाइन पत्रिका मलाया मेलले लेखेको छ ।


रबरको पञ्जा उत्पादन गर्ने यो कम्पनीले अघिल्लो वर्षको नोभेम्बरदेखि विदेशी श्रमिकको तलब रोकेको थियो । मंगलबार श्रमिकको तलब दिने सहमति भएपनि कम्पनीलाई कारबाही गरिने मानव संशाधन मन्त्रालये स्पष्ट पारेको छ ।
कम्पनीले फेरि यस्तो गल्ती नगरोस र अरु कम्पनीका लागि पनि नजिर बनोस भनेर कारबाही गर्नुपर्ने मन्त्रालयको भनाई छ । श्रम विभागले कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाएको बताएपनि के कारबाही गर्ने भन्ने चाहिँ स्पष्ट पारेको छैन ।
श्रमिकले हडताल गरेपछि नेपाल, बङ्लादेशको मलेसियामा रहेका दूतावास र कम्पनीका प्रतिनिधिको सामुहिक बैठक बसेको थियो । बैठकपछि रोकिएको तलब दिने र अबदेखी समयमै तलब दिने सहमतिपछि श्रमिकहरु काममा फर्किएका छन्  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्