हडतालमा सहभागी हजारौँ श्रमिकको गुम्यो रोजगारी



हडतालमा सहभागी भएको आरोपमा बंगलादेशमा कपडा उद्योगमा कार्यरत ५ हजार श्रमिकको रोजगारी गुमेको छ । उचित ज्यालादर कायम गर्न माग गर्दै एक महिनादेखि आन्दोलनमा सहभागी विभिन्न कपडा उद्योगमा काम गर्ने श्रमिकको रोजगारी गुमेको हो । हडतालमा देशभरबाट दशौँ हजार व्यक्ति सहभागी हुँदा ३० अर्ब अमेरिकी डलर लगानीमा सञ्चालित कपडा उद्योग ठप्प भएका थिए ।

बंगलादेशको असुलियामा कपडा सिलाइसम्बन्धी कम्पनीहरू एच एन्ड एम, वालमर्टलगायतका कम्पनीविरुद्ध भएका प्रदर्शनका क्रममा भएका झडपमा एकजनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते पक्राउ परेका थिए । प्रदर्शन चर्किएपछि हजारौँ कामदारले उद्योगबाट सामानहरू लुटेको र तोडफोड गरेको कपडा उद्योगहरूले आरोप लगाएका छन् ।

तर, श्रमिकहरूको संगठन ट्रेड युनियनले उद्योगले कामदारलाई अनावश्यक धम्की तथा कानुनी कारबाही गर्ने चेतावनी दिएको गुनासो गरेको छ । अहिलेसम्म विभिन्न कपडा उद्योगले ४ हजार ८ सय ९९ कामदारलाई निकालेको छ ।

बंगलादेशको एउटै गार्मेन्टमा वर्षौं काम गर्दै आएका र मासिक ९५ अमेरिकी डलर कमाउने १२ सयभन्दा बढी कामदारलाई हटाइएको युनियनको दाबी छ । विभिन्न उद्योगबाट सात हजारभन्दा बढी कामदार हटाइएको र एक सय पक्राउ परेको पनि युनियनको दाबी छ ।

तर, इन्डस्ट्री अल बंगलादेश काउन्सिलका महासचिव सलाउद्दिन सापोनले युनियनको आह्वानमा आन्दोलनमा सहभागी मजदुर आफूमाथि मुद्दा लाग्ने डरमा काममा नफर्किएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्