प्रेमसप्ताहका सात दिन,कुन दिनको के अर्थ ?



भ्यालेन्टाइन डे अर्थात् १४ फेब्रअरीलाई डे अफ लवका रुपमा मनाइन्छ तर त्यसभन्दा अघि अर्थात् फेब्रुअरी ७ देखि फेब्रुअरी १४ सम्मको सातालाई विक अफ लवका रूपमा प्रेमप्रति समर्पित गरिँदै आएको छ ।
फेब्रअरी ७ रोज डे

भ्यालेन्टाइन सप्ताहको पहिलो दिन फेब्रुअरी ७ लाई ‘रोज डे’ मानिछ । यो दिनलाई प्रेमको प्रतीक गुलाफप्रतिसमर्पित गरिएको छ । गुलाफको भाषामा रातो गुलाफले भन्छ– म तिमीलाई प्रेम गर्छु । सेतो गुलाफ भन्छ, हाम्रो प्रेम पवित्र छ । पूर्ण रूपले फक्रिएको रातो गुलाफले भन्छ, तपाईं धेरै सुन्दर हुनुहुन्छ । एउटा पूर्णरूपले फक्रिएको गुलाफका साथमा राखिएको दुईवटा गुलाफको कोपिलाले सुरक्षाको आश्वासन दिन्छ ।

सुन्तला रंगको गुलाफले मेरो प्रेम अनन्त छ र तिमी मात्र मेरी हौं भन्ने बुझाउँछ । लामो डाँठ भएको र डाँठमा काँडासहितको गुलाफको कोपिलाले प्रेम गरेको छु, गरिरहन्छु, कसैबाट डर छैन भन्ने बुझाउँछ । यदि डाँठमा काँडा मात्र छ भने त्यसले तिम्रो सुन्दरता, तिम्रो मधुरतामा मेरो सम्पूर्ण चेतना हराएको छ भन्ने सन्देश दिन्छ ।

लामो डाँठमा भएको रातो गुलाफले म अझै तिमीलाई प्रेम गर्छु भन्ने कुरा दर्साउँछ । पूर्ण रूपले फक्रिएको गुलाफको फूलको गुच्छाले कृतज्ञता, आभार एवं श्रद्धालाई बुझाउँछ । गुलाफको कोपिलाले मैले पनि प्रेम गरेको छु भन्ने सन्देश दिन्छ । फक्रिएको गुलाफले म तिमीलाई सधैं सम्झिरहन्छु भन्ने कुरा दर्साउँछ । दुईवटा कोपिलाका साथमा फक्रिएको एउटा गुलाफ गोपनीयताको प्रतीक हो ।

फेब्रुअरी ८ प्रपोज डे

दोस्रो दिन अर्थात् फेब्रुअरी ८ लाई प्रपोज डेका रूपमा मनाइन्छ । यो दिन आफूले लामो समयदेखि मनपराएको व्यक्ति समक्ष प्रेम प्रस्ताव राखिन्छ ।

फेब्रुअरी ९ चकलेट डे

तेस्रो दिन अर्थात् फेब्रुअरी ९ लाई ‘चकलेट डे’का रूपमा मनाइन्छ । यो दिन प्रेमी–प्रेमिका वा श्रीमान्–श्रीमतीले एक अर्कालाई विभिन्न प्रकारका चकलेट उपहार दिन्छन् । गुड मुड र रोमान्सका लागि चकलेटको भूमिका महत्वपूर्ण हुने भएकाले प्रेम र आत्मीय सम्बन्धलाई चकलेटले थप मिठासयुक्त बनाउँछ भन्ने विश्वास गरिन्छ ।

फेब्रुअरी १० टेड्डी डे

चौथो दिन अर्थात् फेब्रुअरी १० लाई ‘टेड्डी डे’ का रूपमा मनाइन्छ । विशेष गरी युवतीहरू टेड्डी अर्थात् भालुका बच्चाका गुडियाहरूप्रति बढी लगाव राख्छन् । अत: आफ्नी प्रियसीको चाहना बुझेर नरम कपास, भुवा, भेल्भेट, फेल्ट आदिबाट निर्मित आकर्षक टेड्डी उपहार प्रदान गरिन्छ ।

फेब्रुअरी ११ प्रोमिस डे

पाँचौं दिन अर्थात् फेब्रुअरी ११ लाई ‘प्रोमिस डे’ भनिन्छ । यो दिन आफ्नो प्रेमप्रति वचनबद्धता दर्साइन्छ । त्यस क्रममा कहिल्यै नभुल्ने, मन नदुखाउने, जस्तोसुकै परिस्थितिमा पनि साथ नछोड्ने, खुसी राख्ने, धोका नदिने आदि वचनबद्धता व्यक्त गरिन्छ ।

फेब्रुअरी १२ हग डे

प्रियतमको अँगालोलाई सबैभन्दा न्यानो र सुरक्षित मानेर, सबैकुरा भुलेर प्रियतमप्रति विश्वस्त हुँदै उनमै हराउने छैटौं दिन अर्थात् फेब्रअरी ११ लाई हग डेका रूपमा अत्यन्त सुखदायी र रोमाञ्चक मानिन्छ ।

फेब्रुअरी १३ किस डे

सातौं दिन अर्थात् फेब्रुअरी १३ किस डेका रूपमा मनाइन्छ । चुम्बन प्रेम सम्बन्धमा रहेका जोडीले एक–अर्कालाई दिने सबैभन्दा सहज, अविस्मरणीय एवं अलौकिक उपहार हो ।

फेब्रुअरी १४ भ्यालेन्टाइन डे

यो भ्यालेन्टाइन सप्ताहको सबैभन्दा महत्वपूर्ण दिन हो जसलाई भ्यालेन्टाइन डेका रूपमा मनाइन्छ । भ्यालेन्टाइन सप्ताहका अन्य दिनहरूको तुलनामा यो दिन सबैभन्दा विशेष र रोमान्टिक हुन्छ । आफ्नो प्रेमी–प्रेमिकासँगको सामिप्यता, आत्मीयता एवं प्रेमलाई थप प्रगाढ बनाउने तथा नयाँ उचाइमा पुर्‍याउने सबैभन्दा राम्रो अवसरका रुपमा लिइन्छ यो दिनलाई ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्