चिनियाँ सामानमा करवृद्धि स्थगन गर्ने



अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा ‘सन्तोषजनक प्रगति’ भएको भन्दै चिनियाँ सामानको आयातमा यसअघि घोषणा गरिएको करवृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताएका छन् । दुई मुलुकबीचको व्यापार सम्झौताका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिखर वार्ता हुन सक्ने ट्रम्पले जानकारी दिए । ‘अर्को दुई साताभित्रै निकै ठूलो समाचार आउनेछ,’ राष्ट्रपति ट्रम्पले भने ।

वार्तामा थप प्रगति भएमा फ्लोरिडास्थित मार–ए–लेगो रिसोर्टमा चिनियाँ राष्ट्रपति सीलाई भेट्ने योजना रहेको उनले जानकारी दिए । वासिंटनमा यसै साता सम्पन्न वार्तामा दुई मुलुकका वरिष्ठ अधिकारीले भाग लिएका थिए ।

अमेरिकाले वार्तामा सहमति नभए आगामी मार्च १ तारिखदेखि नै लागू हुने गरी करिब २ सय अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने राष्ट्रपति ट्रम्पले घोषणा गरेका छन् । तर, ट्रम्पले वार्ता निकै सन्तोषजनक रूपमा अघि बढेकाले करवृद्धि स्थगन गर्न आफू तयार रहेको जानकारी दिए । ‘चीनसँग जारी व्यापार वार्ता सकारात्मक रूपमा अघि बढेकोमा मलाई खुसी लागेको छ । खासगरी, चीनले बौद्धिक सम्पत्तिको संरक्षण, प्रविधि हस्तान्तरण, कृषि, सेवा, मुद्रा तथा अरू विविध विषयसमेतका महत्वपूर्ण संरचनागत मुद्दामा सकारात्मक जवाफ दिएको छ,’ ट्रम्पले ट्विट गर्दै भनेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्