नाइजेरियाको राष्ट्रपतिमा बुहारी पुनः विजयी



अफ्रिकी मुलुक नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । नाइजेरियाको निर्वाचन आयोगका अनुसार राष्ट्रपति बुहारीले एक करोड ५१ लाख अर्थात् ५५ प्रतिशत मत प्राप्त गरेका छन् । उनका मुख्य प्रतिद्वन्द्वी अतिकु अबुबाकरले एक करोड १२ लाख अर्थात् ४१ प्रतिशत मत प्राप्त गरेका छन् । नाइजेरियाको यसपटकको चुनावमा करिब ३६ प्रतिशत मात्र मतदान भएको थियो ।

पूर्वसैनिक तानाशाहसमेत रहेका राष्ट्रपति मोहम्मदु बुहारीले अन्य राजनीतिज्ञले जनताको भावनाको सम्मान गर्न नसकेका कारण विजयी भएको बताएका छन् ।
मुलुकमा व्याप्त भ्रष्टाचार, असुरक्षा र अर्थव्यवस्थामा सुधार ल्याउन आफूलाई पुनः मौका दिन राष्ट्रपति बुहारीले आमजनतासमक्ष आग्रह गरेका थिए । उनका प्रतिद्वन्द्वी अबुबाकरले नाइजेरियालाई नयाँ र समृद्ध बनाउने योजनासहित ठूलो चुनावी अभियान चलाएका थिए ।

औपचारिक नतिजा घोषणा भएलगत्तै उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै राष्ट्रपति बुहारीले जितबाट आफू जनताप्रति ऋणी भएको बताए । चुनावी हिंसाका कारण दर्जनौँ व्यक्तिको मृत्यु भएकाप्रति उनले दुःख प्रकट गरे ।चुनावी नतिजा सार्वजनिक भएलगत्तै राष्ट्रपति बुहारीका समर्थकले राजधानी अबुजाका सडकमा नाचगान सुरु गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्