सहमतिमा पुगेन ट्रम्प–किम वार्ता



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर वार्ता सहमतिविना टुंगिएको छ । उत्तर कोरियाले आफूमाथि लगाउँदै आएको प्रतिबन्ध पूर्ण रूपमा हटाउन गरेको माग अमेरिकाले अस्वीकार गरेपछि शिखर वार्ता सहमतिविना नै टुंगिएको हो । सहमति हुन नसकेपछि दुवै नेताले हनोईमा भएको दोस्रो दिनको बैठक छोट्याएका थिए ।

आगामी दिनमा पुनः वार्ता हुने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले जनाएको छ । वार्तामा कुनै सहमति नभएको ह्वाइटहाउसकी महिला प्रवक्ता सारा स्यान्डर्सले बताइन् । वार्ता विफल भएपछि ह्वाइटहाउसकी प्रवक्ता स्यारा स्यान्डर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसपटक कुनै सहमति हुन सकेन । तर, दुवै पक्षका टोली भविष्यमा अर्को बैठकका लागि आशावादी छन् ।’

कहाँ अड्कियो सहमति 
सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायले नै निकै चासोका साथ हेरेको सो बैठकमा दुई देशबीच महत्वपूर्ण सम्झौता हुने अपेक्षा गरिएको थियो । तर, निःशस्त्रीकरण र व्यापार प्रतिबन्धमा सहमति नहुँदा वार्ता ठोस निष्कर्षमा पुग्न नसकेको हो ।

वार्तामा वासिंटनले उत्तर कोरियालाई एकपक्षीय ढंगले परमाणु अस्त्र त्याग्नुपर्ने बताएको थियो भने उत्तरले प्योङयाङमाथि लागेको आर्थिक प्रतिबन्ध हटाउनुपर्ने माग गरेको थियो ।

उत्तरले एकपक्षीय रूपमा परमाणु अस्त्र त्यागेपछि मात्र व्यापार प्रतिबन्ध खुकुलो पार्न सकिने अमेरिकाले बताएको थियो । तर, उत्तरमाथि लागेको प्रतिबन्ध पूर्ण रूपमा हटाउन नसकिने ट्रम्पले बताएका थिए । अमेरिकाले निःशस्त्रीकरणको माग गर्दा वार्तामा आफ्नो उपस्थिति नै सैद्धान्तिक रूपमा निःशस्त्रीकरणको संकेत भएको किमले बताएका थिए ।

दक्षिण कोरिया र चीनको प्रतिक्रिया
दक्षिण कोरियाले ट्रम्प र किमबीचको वार्ता विफल हुनुलाई ‘खेदजनक’ बताएको छ । तर, दुई नेताले यसअघिभन्दा अर्थपूर्ण प्रगति गरेको विश्वास सिउलले गरेको छ । ट्रम्प र किमबीचको शिखर बैठक आयोजना गर्न दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले महŒवपूर्ण भूमिका खेलेका थिए । अमेरिका र उत्तर कोरियाबीचको वार्तामा देखिएको जटिलता स्वाभाविक भएको चीनका उच्च कूटनीतिज्ञ वाङ यीले बताए ।

अमेरिकाले प्योङयाङमा सम्पर्क कार्यालय खोल्न सक्ने
वार्ताका क्रममा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच प्योङयाङबीच अमेरिकी कार्यालय खोल्ने विषयमा चर्चा भएको थियो । बैठकमा एक पत्रकारले प्योङयाङमा अमेरिकी कार्यालय खोल्ने सम्भावनाबारे किमलाई प्रश्न गरेपछि सो विषयले चर्चा पाएको थियो । किमले अमेरिकाले प्योङयाङमा सम्पर्क कार्यालय खोले आफूले त्यसलाई स्वागत गर्ने बताएका थिए । पत्रकारको जिज्ञासाको जवाफ दिँदै किमले भने, ‘मेरो विचारमा यो निकै स्वागतयोग्य विषय हो ।’ किमको भनाइको ट्रम्पले स्वागत गरेका थिए ।

के भने ट्रम्पले 
उत्तर कोरियामाथि लागेका प्रतिबन्ध फुकुवा गर्न उत्तर कोरियाली नेता किमले राखेको प्रस्तावलाई आफूले अस्वीकार गरेको ट्रम्पले बताए । तेस्रो शिखर वार्ताको सम्भावनाबारे सञ्चारकर्मीले सोधेको जिज्ञासामा ट्रम्पले सो सम्भावना तत्काल नदेखिएको बताए । उनले भने, ‘चाँडै त्यो सम्भव छैन, पछि के हुन्छ भन्न सकिन्न । ’ ट्रम्पका अनुसार किमले उत्तर कोरियाको योङबायोन कम्प्लेक्स भत्काउने प्रस्ताव गरेको र त्यसको सट्टा अमेरिकाले उत्तर कोरियामाथि लाग्दै आएको प्रतिबन्ध हटाउनुपर्ने माग गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्