दशदिनमा उपन्यास तयार गर्न सक्छु : प्रियासन



प्राय लेखकहरुले एकदुई वर्षको फरकमा किताब निकाल्छन् । कतिले त वर्षौवर्ष सम्म पनि नयाँ पुस्तक निकाल्दैनन्, तर नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन एकैवर्षमा तीन वटा उपन्यास निकालेर यतिबेला चर्चाको शिखरमा छन् । पत्रकारिता क्षेत्रमा केन्द्रीय स्तरमै राम्रो हैसियत बनाएका प्रियासनले आठ वटा उपन्यास प्रकाशित गरिसकेका छन् । उनले एउटा कथा संग्रह र एउटा सम्पादकीयको संग्रह पनि प्रकाशित गरेका छन् । प्रियासनको पछिल्लो प्रकाशन ब्रेकअप डायरी नामक उपन्यास हो । जसलाई बिएन पुस्तक संसार काठमाडौले बजारमा ल्याएको छ । प्रियासनले यसवर्ष तीन वटा उपन्यास प्रकाशित गरेर ह्याट्रिक हानेका छन् । प्रस्तुत छ, भविष्यमा सबै भन्दा धेरै उपन्यास निकाल्ने उपन्यासकारकारुपमा आपूmलाई चिनाउने लक्षय लिएका प्रियासनसँग यी र यावत विषयमा हामीले गरेको कुराकानीको सारसंक्षप । (सम्पादक)
१ ब्रेकअप डायरी कसको कथा हो ?
– प्रेमको परिभाषाभित्र रहेर साँचो प्रेम गर्दा धोका पाएका दुई आत्माको कथा हो । प्रेम पीडाबाट आफूलाई मुक्ति दिएर मनमा लागेका घाउहरुलाई निको बनाउँदै जिन्दगीको सुन्दरलाई आत्मसात गर्नुपर्छ भन्ने सोँचहरुको कथा हो । व्यथित मन बोकेर संघर्षशील जीवन अगाडी बढाउँन सफल हुने आम युवाहरुको कथा हो ब्रेकअप डायरी ।
२) यो उपन्यासले मुख्य के सन्देश दिन खोजेको छ ?
– यो उपन्यासले प्रेम गहिराईमै डुबेर गर्नुपर्छ । कदम कदाचित प्रेममा बिछोड भएमा जिन्दगी बाँकी छ, ब्रेकअप भएमा जिन्दगी सकिदैन, भन्ने मुख्य सन्देश दिएको छ । अहिले पनि प्रेममा पीडा पाएकाहरुले आफ्नो जिन्दगीलाई नारकीय बनाएको हामीले देखिरहेका छौ । कतिपयले प्रेम वियोगपछि कुलतको बाटो समात्छन्, कोही अपराधी बन्छन्, कसैले सुसाइट गर्छन् । कसैले घरबारै त्याग्छन् । ब्रेकअप डायरी मार्फत मैले प्रेम वियोग भएपछि आफूलाई कसरी सम्हाल्न सकिन्छ, सम्हाल्नुपर्छ भन्ने कुरा सिकाउन खोजेको छु । मानिसको जिन्दगी अमूल्य छ, ब्रेकअप हुँदैमा जिन्दगीको महत्वलाई बिर्सनु हुँदैन, मेरो यस विषयमा मान्यता यही छ ।
३) हरेक पटक नयाँ नयाँ कथा, विषय बस्तुमा उपन्यास निकाल्नु हुन्छ ? यसवर्ष तीन वटा उपन्यास निकाल्नुभयो, दिमागमा कसरी अटाउँछन् यी सब कुराहरु ?
–सबै कुरा लत अर्थात बानी रहेछ । आजकाल उपन्यास लेख्ने, निकाल्ने लत लागेको छ । जहाँ जाँदा पनि नयाँ नयाँ कुराहरु सोँच्ने, यसैमा चिन्तन् मनन् गर्ने गर्छु । मेरो दिमागमा शव्दको भण्डारी छ त म भन्दैन, तर लेख्न लागेपछि कहाँबाट आउँछ आउँछ ।
४) सधैभरी अन्यको तुलनामा युनिक नाम छनौंट गर्नु हुन्छ, कसरी जुराउनु हुन्छ नाम ?
– म कथा अनि त्यसले दिन खोजेको सन्देश अनुसार नाम छनौंट गर्छु । नाम छनौट गर्दा सबैको दिलदिमागमा घण्टी हान्न सक्ने किसिमको नाम राख्छु । ताकी नामले पनि उपन्यास पढ्नका लागि केहीलाई बाध्य बनाओस् ।
५) तपाई एकैवर्षमा तीनतीन वटा उपन्यास निकाल्नु हुन्छ, कति दिनमा उपन्यास लेखन कार्यलाई बिट मार्नु हुन्छ ?
– समयका हिसाबले भन्नु पर्दा मलाई फुर्सद नै हुँदैन । तर उपन्यास लेख्न बसेपछि दिनमा आधा घण्टा भएपनि लेख्छु । दिनका हिसाबले भन्नु पर्दा दशदिनमा एउटा उपन्यास लेख्छु ।
६) त्यसो भए लेख्न बसेपछि पात्रहरु आफसेआप अगाडी बढ्छन् ?
–म पहिलेनै कथालाई कहाँ, कसरी अगाडी बढाउने भन्ने बारेमा सोँच्छु, त्यसैले लेख्न बस्दा सरसरर्ती कथा अगाडी बढ्छ ।
७) तपाई पत्रकार पनि ! समाचार लेख्दा आनन्द आउँछकी उपन्यास ?
–पत्रकारिता मेरो पेशा हो । यसले मलाई बचाएको छ । तर नढाँटेर भन्ने हो भने मलाई उपन्यास लेख्दा नै आनन्द आउँछ ।
८) छोटो समयमा नै आठवटा उपन्यास निकाल्नुभयो, गिनिज बुकमै नाम लेखाउने विचार छ कि कसो ?
– उपन्यास लेख्ने मेरो बानी बनेकाले अरु त धेरै कुरा सोचेको छैन, नेपालमा सबै भन्दा धेरै उपन्यास लेख्ने व्यक्ति बन्ने सोँचमा छु ।
९) अग्रीम शुभकामना छ, हाम्रो तर्फबाट यहाँलाई, अब कुन उपन्यास निकाल्ने, लेख्ने तयारीमा हुनुहुन्छ ?
– यतिबेला म कथाको खोजीमा छु । सन्देशमुलक अनि फरक कथा भेटिएमा केही समयमा उपन्यास लेख्न कार्यमा जुट्नेछु ।
१०) यहाँले लेखेको तर ननिकालेको नायीका नम्रता श्रेष्ठको बारेमा लेखिएको नोभेल नम्रता अहिलेसम्म ननिकाल्नुको कारण ?
–नोभेल नम्रता तयार नै छ । नायीका नम्रता श्रेष्ठले मैले लेखेको बाहेक केही कुराहरु थप्छु, त्यसपछि निकालौला भन्नु भएको थियो । संयोग त्यसै भन्नुपर्छ, उहाँ र मेरो भेट हुन सकेको छैन । म दाङमा व्यस्त छु, उहाँ काठमाडौमा । त्यसैले नोभेल नम्रता निकाल्न पाएको छैन ।
११) तर उहाँले मेरो अनुमति छैन भनिरहनु भएको छ त ?
– उहाँको कथामा लेख्दा स्वाभाविकरुपमा उहाँको अनुमति आवश्यक पर्छ । समय र परिस्थितिले उहाँलाई उपन्यास ननिकाल्ने सोँचमा पु¥याएको छ भने मैले जबरजस्ती निकाल्न राम्रो हुँदैन ।
१२) तपाई पत्रकारितामा पनि अत्यन्त क्रियाशिल हुनुहुन्छ ? कतिबेला साहित्य सिर्जना गर्न भ्याउनु हुन्छ ?
– सबै भन्दा ठूलो कुरा समय व्यवस्थापन हो । पत्रकारिता मेरो पेशा हो । साहित्य मेरो रुची । त्यसैले दुबै कुरालाई साथसाथै अगाडि बढाएको छु ।
१३) पुस्तकहरु निस्कन्छन्, तर पाठक भेटिदैनन् । यसमा यहाँको भनाइ के छ ?
– यसमा विभिन्न कारणहरु छन् । यस मध्य पाठकहरुको मनमा स्थान बनाउने किसिमका पुस्तकहरु ननिस्किएकै कारणले पाठकहरु नभेटिएका होलान । तर पनि केही पुस्तकहरु पाठकहरुको अत्यधिक रोजाईमा परेका छन् ।
१४) यहाँले प्रकाशित गरेका लक्कीचाम, सेल्फी, सहनशीला, पल्लवीलगायतका उपन्यासहरुले विमोचन भएकै केही दिनमा राम्रो बजार लिएको सुनियो । हजुरले लेखेको उपन्यासहरु राम्रो भएर हो कि, प्रकाशक संस्था वा तपाईको व्यक्तित्वका कारणले बजार ओगटेको हो ।
– उपन्यास राम्रो नराम्रो छुट्याउने काम पाठक हो । जहाँसम्म बजारमा आएको केही दिनमै राम्रो प्रतिक्रिया आएको थियो भन्ने कुराको पछाडि सबै कुराले काम गरेको छ । जसले गर्दा त्यति बिक्री हुनु स्वाभाविक छ ।
१५) अन्तमा केही भन्नु छ कि ?
– समय गतिशिल छ । जीवनको महत्वलाई बुझेर गतिशिल समयभित्र समाज अनि देशको समृद्धिका लागि आ–आफ्नो क्षेत्रमा भूमिका खेलौ । जिन्दगीको महत्वलाई बुझौ । कुनै पनि ठाउँमा ब्रेकअप हुन्छ भने निराश नबनौ । दिन सबैको आउँछ, म सबैलाई यही भन्न चाहन्छु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्