हामी आफै निम्त्याउँछौं दुर्घटना, बचाउने कसले ?



समीक्षा गाहा ।

‘’ए दिदी, बहिनी अलि भित्र जानुस् त । त्यहाँ त्यती धेरै ठाउँ खाली छ त । ’’ सहचालक चर्को स्वरमा भन्छन् । हामी  त्यो कुरा सहर्ष स्वीकार गरेर लुरुक्क पछाडि कोचिन्छौं । काठमाडौंको माइक्रो र बसहरुमा प्रायः यस्तै संवाद भइरहन्छन् । र, यात्रुको नियती त्यसरी नै दोहोरिरहन्छ ।

सवारीसाधनले कति यात्रु वा सामान बोक्न सक्छ त्यो निश्चित गरिएकै हुन्छ । क्षमताभन्दा बढी यात्रु वा सामान बोक्न हुन्न भन्ने नियम पनि सबैलाई थाहा छ । सवारी धनी र चालकलाई धेरै यात्रु राखिनु ट्राफिक नियम विपरीत हो भन्ने पनि राम्रोसँग थाहा छ । तर, उनीहरु यो नियम मान्न तयार हुँदैनन् ।

ट्राफिकको आँखा छलेर सवारी हुँइक्याउँछन् । किन भने उनीहरु बढी भन्दा बढी नाफा कमाउन चाहन्छन् । नाफाको मुख्य स्रोत यात्रु संख्या बढाउने नै हो । उनीहरु त्यसै गर्छन । डेलमेल गरेर यात्रुलाई कोचर यात्रा गराउँछन् ।

यात्रुका पनि आफ्नै बाध्यता छन् । भनेको समयमा अर्को साधन पाइँदैन । नगएर पनि के गर्नु । त्यस्तै जोखिम मोलेर यात्रा गर्न बाध्य हुन्छन् । अर्को साधन पर्खिदा समयमा गन्तव्यमा पुग्न सक्ने सम्भावना हुँदैन । आउँछ कि आउँदैन कुनै टुंगो नै हुँदैन । अनि सकेसम्म कोचाकोच गरेरै जान्छन् ।

दुर्घटनाको कारक

नेपालमा दिनहुँ ठूलासाना दुर्घटनाहरु भइरहेका छन् । धेरै दुर्घटना सामान्य छैनन् । तर, त्यसका कारण सामान्य जस्तै लाग्छ । हुन त हवाइजहाज र हेलिकोप्टर दुर्घटनाको जस्तो समिति बनाएर त्यति धेरै छानबिन गरेको पाइदैन । तर, दुर्घटनाको अनुसन्धानमा खटिएका प्रहरी अनुसन्धान अधिकृतहरुले सामान्य कारणले दुर्घटना भएको बताइरहेका हुन्छन् । धेरै यात्रु, तीव्र गति, चालकले मदिरा सेवन गर्नु, खराब सडक, ट्राफिक नियम उल्लंघन, थोत्रा गाडी आदि दुर्घटनाका कारण हुन्छन् ।

यस्ता कारणबाट सार्वजनिक यातायातका साधन दुर्घटनामा पर्ने गरेको सबैलाई थाहा छ । कारण थाहा भइसकेकोले दुर्घटना न्यूनिकरण गर्न सकिन्न भन्ने पनि थाहा छ । तर, पनि हामी अटेर गछौै । जसको परिणामले मृत्यु निम्त्याउँछ । हामी केही दिन त सम्झिन्छौं । सबै नियम पालना गर्नु पर्छ भन्ने अनुभूति पनि हुन्छ । तर, केही दिनमै बिर्सिन्छौं ।

जेब्राक्रसिङमा चालकको दादागिरी

हामी सानासाना कुरा भनेर ध्यान दिंदैनौं । तर, ती साना कुराले नै ठूलो दुर्घटना निम्त्याएको हुन्छ । जेब्राक्रसिङमा मान्छेले कसरी क्रस गर्छ रु सवारी चालकले कसरी स्थान दिइरहेका हुन्छन् भन्ने कसैले ध्यान दिदैन । मुख्य सहरहरुमा हेर्ने हो भने बाटो क्रस गर्नु नै मृत्यु जिते जस्तो हुन्छ । जेब्राक्रसिङमा सवारीसाधन रोकिदैनन् । गति सिमित हुँदैन । यसर्थ बाटो काट्नै निकै कठिन छ । एक त सहरमै पनि धेरै ठाउँमा जेब्राक्रसिङ नै छैन । यसले पैदल यात्रुलाई सास्ती छ ।

नियमानुसार जेब्राक्रसिङ बाटै पैदल यात्रीले बाटो काट्नु पर्छ । सवारीसाधनले पहिले पैदल यात्रुलाई नै बाटो क्रस गर्न दिनु पर्छ । त्यसपछि मात्रै अगाडि बढ्नु पर्ने हो । तर, त्यसरी बाटो खुला गरिदिनुको साटो चालकहरुले गाडी हुँइक्याएरै ल्याउँछन् । जतिबेला पैदल यात्रुको सातो उड्न । मरिन्छ कि बाँचिन्छ भन्ने तिर सोच्न बाध्य बनाइदिन्छ । कयौं पटक जेब्राक्रसिङमै कतिले त ज्यान गुमाउनु परेको छ । अझ बढी सडकमा हिँड्ने अपाङगता भएकाहरुको अवस्थामा बिजोक छ । दृष्टिविहीन र ज्येष्ठ नागरिकलाई सास्ती छ ।

हामी आफै निम्त्याउँछौंं काल

सडकमा दुर्घटना हुनुको कारण स्वयम हामी पनि हौं । हामीले थाहा पाएका नियम कानूनको समेत वास्था गर्दैनौं । थाहा पाएर पनि छिटोका लागि पैदल यात्रीहरु जोखिमपूर्ण ठाउँबाट बाटो काटिरहेका हुन्छन् । जान्ने बुझ्नेले नै जेब्राक्रसिङको प्रयोग गर्दैनन् ।

मुख्य ठाउँमा जेब्राक्रसिङका लागि पनि टाइमिङको व्यवस्था गरिएको हुन्छ । धेरैले थाहा नपाएको पनि हुन्सक्छ । तर, थाहा पाएकाले पनि यो नियम मान्न तयार हुँदैनन । गन्तव्यमा पुग्न हातारिएका हुन्छन् । हामी केही समय पनि पर्खिन असमर्थ हुन्छौं । अनि नियम उल्लंघन गरिदिन्छौं । यसले ठूलो दुर्घटना निम्त्याउँछ ।

सवारीसाधनको प्रयोग गर्दा पनि हामीले सानो स्वार्थ मात्रै सम्झिएका हुन्छौं । समयमा गन्तव्यमा पुग्ने स्वार्थ हुन्छ । सवारीमा ठाउँ छैन भन्दा भन्दैै हामी जबरजस्ती चढ्न खोज्छौं । जसले गर्दा ट्राफिक नियम त उल्लंघन हुन्छ नै त्यससँगै गाडी क्षमता भन्दा भार बढी हुन्छ ।

यसले दुर्घटना निम्त्याउँछ । अप्ठेरो सडकमा यात्रा गर्न बाध्य बनाउने पनि सचेत भनिएका हामी नै हुन्छौं । चालकले अघि बढ्न सकिदैन भन्दा भन्दै हामी जबरजस्ती गर्छौ । यसरी पनि धेरै दुर्घटना भएका छन् ।

नियमन कसले गर्ने ?

देशको सर्वोच्च निकाय भनेको सरकार नै हो । सरकारले गर्न चाहे जे पनि गर्न सक्छ । यातायातसँग सरोकार राख्ने सरोकारवालाहरुलाई परिचालन गर्ने हो भने दुर्घटना नियन्त्रण हुन सक्छ । तर, सरोकारवाला नियकाले दुर्घटना न्युनिकरणका लागि त्यती तदारुकता देखाएको पाइँदैन । उनीहरुले पनि निश्चित समयका लागि काम गरेपछि अभियानकै रुपमा निरन्तर काम गर्दैनन् ।

सरोकारवाला निकाय नै सुस्ताएपछि यातायात व्यवसायीको समेत मनपरी चल्छ । अझ सरकारले नै उनीहरुलाई हातमा लिइसकेका हुन्छ् । व्यवसायीको निर्देशनमा सरोकारवाला निकाय चल्नु पर्ने विडम्बना सिर्जना भएको छ ।

ब्यवसायीलाई चलाउने हो भने सरकारकै विरुद्धमा उत्रिन्छन् । सरकार आफैले थेग्न नसकी सम्झौता गरिदिन्छ । जनता आफैले सहीलाई सही भन्न सक्दैनन् । जता बलियो उतै ढलियो भने जस्तै हुन्छ ।

फेरि सुरु हुन्छ लापरबाही र मनपरी । सवारीसाधनका लागि धेरै मापदण्ड बनेका छन्, नियम, कानून पनि छन् । तर, ती कडाइका साथ कार्यान्वयन गर्न सरकारले नै सेकेको छैन ।

अतः सवारी दुर्घटना कोही एक जनाको कारणले मात्रै हुँदैन । यसमा पहिले त हामी आफै चनाखो भएर सचेत हुन जसरी छ । सानासाना गल्तिले नै ठूलो दुर्घटना हुने भएकोले त्यस्ता गल्तिहरु बिर्सिएर पनि गर्न हुन्न । सवारी चालकको त सबैभन्दा ठूलो भूमिका हुन्छ ।

तसर्थ सानो स्वार्थ बोकेर होइइन कयौं मान्छेको जिन्दगी बोकेको छु भन्ने सम्झिनु पर्छ । नियमनकारी निकायले जागिर बचाउन मात्रै होइन । कयौं मान्छे बचाउने गरी काम गर्नु पर्छ । सरकारले नियम, कानून कडा बनाएर पूर्णरुपमा कार्यान्वयन गर्न जरुरी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्