वैदेशिक रोजगारीका कारण समस्या झेलेकाहरुको लागि आकस्मिक कोष



काठमाडौं । सप्तरीमा वैदेशिक रोजगारीका कारण जटिल समस्यामा परेका पीडित तथा आश्रित परिवारलाई सहयोग गर्न आकस्मिक कोष स्थापना गरिने भएको छ ।

अन्तरपालिका समन्वय बैठकले आर्थिक रुपमा विपन्न व्यक्ति रोजगारीका लागि विदेश जाने गरेको तर विभिन्न कारणले समस्या पर्दा घर फर्कन नसक्ने, श्रम अवधि कटेका आश्रित परिवारले आर्थिक सहायता तथा क्षतिपूर्ति नपाउने र पीडित परिवारका बालबालिकाको शैक्षिक विकासमा सहयोग गर्न आकस्मिक कोष स्थापना निर्णय गरेको जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले जानकारी दिए ।

बैठकले जिल्लाका सबै स्थानीय सरकारले संयुक्त रुपमा आकस्मिक कोष निर्देशिका बनाएर पहिलो चरणमा प्रत्येक स्थानीय तहले १ लाख रुपैयाँका दरले जम्मा गरेर स्थापना गर्ने निष्कर्ष निकालेको हो ।

यस्तै स्थानीय सरकारले वैदेशिक रोजगारीमा जाने, अनुभव लिएर फर्किएका र तिनका परिवारका सदस्यलाई लक्षित गरी सीप विकासका कार्यक्रम सञ्चालन गर्ने र वैदेशिक रोजगारीबाट भित्रिएको रकमलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न प्रेरित गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ ।

सप्तरीबाट वैदेशिक रोजगारीमा जाने युवाले दलाललाई विश्वास गर्ने, सूचना नलिई जाने गरेक कारण धेरै ठगीमा पर्ने गरेको पाइएको छ । वैदेशिक रोजगारका धेरै सकारात्मक पक्षहरु हुँदा हुँदै पनि सीप नसिकी जाँदा ठगिने समस्या बढेको कार्यक्रमका सहभागीले बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्