भारतका राष्ट्रपतिले गरे लोकसभा विघटन



भारतका राष्ट्रपति रामनाथ कोबिन्दले शनिबार तल्लो सदन लोकसभा विघटन गरेका छन् । हालै सम्पन्न १७औँ लोकसभा निर्वाचनको अन्तिम नतिजा औपचारिक रूपमा घोषणा भएको भोलिपल्ट राष्ट्रपतिले लोकसभा विघटनको घोषणा गरेका हुन् । तल्लो सदनको विघटनसँगै नयाँ सरकार गठनको चरण सुरु भएको छ ।

भारतीय जनता पार्टी भाजपा नेतृत्वको नेसनल डेमोक्रेटिक अलाएन्सको संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सर्वसम्मत रूपमा चुनिएका छन ।

लोकसभा निर्वाचनमा भाजपाले प्रचण्ड बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री मोदीले शुक्रबार राष्ट्रपतिलाई भेट गरी राजीनामाको प्रस्ताव गर्दै नयाँ प्रधानमन्त्री चयनका लागि मार्ग प्रशस्त गरेका थिए । बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाइने भएकाले निवर्तमान प्रधानमन्त्री मोदीलाई संसदीय दलको नेता चयन गरिएको हो ।

चुनावी नतिजाअनुसार भाजपा नेतृत्वको संयुक्त गठबन्धन ९एनडिए० ले तीन सय ५२ सिटमा जित हासिल गरेको छ भने भाजपा एक्लैले तीन सय तीन सिट ल्याएको छ ।

यो नतिजा सन् २०१४ मा भन्दा २२ सिट बढी हो । एनडिए गठबन्धनमा रहेका अन्य दलहरूमध्ये शिव सेनाले १८, जनता दल युनाइटेड जेडियू ले १६, लोक जनशक्ति पार्टीले ६, अकाली दल र अप्ना दलले दुई–दुई सिट तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रिक पार्टी, मिजो नेसनल फ्रन्ट र नेसनल पिपल्स पार्टीले एक–एक सिट जितेका छन् । त्यसैगरी, भाजपाको समर्थन रहेका एकजना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

प्रमुख विपक्षी कंग्रेस नेतृत्वको युपिए गठबन्धनले कुल ८७ सिट ल्याएको छ । त्यस्तै, कंग्रेस एक्लैले ५२ सिटमा मात्रै जित हासिल गरेको छ । यो संख्या अघिल्लो चुनावको तुलनामा आठ सिट बढी हो । गठबन्धनमा आबद्धमध्ये द्रविडा मुन्नेत्र काझागम डिएमकेले २३, नेसनलिस्ट कंग्रेस पार्टी एनसिपीले पाँच, इन्डियन युनियन मुस्लिम लिगले तीन सिट जितेका छन् । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्