‘ब्राजिलको कारागारमा झडप, १५ जनाको मृत्यु



‘ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच आइतबार भएको झडपमा १५ जना कैदीको मृत्यु भएको छ । अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर टाढा सो कारागारमा बिहान ११ बजे झडप सुरु भएको थियो ।

कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले कैदीहरुले दाँत माझ्ने ब्रस लगायतका सामानको प्रयोग गरी एकअर्कामाथि आक्रमण गरेको र कतिपयले चक्कु प्रयोग गरेको जानकारी दिए । घटनाको अनुसन्धान शुरु भइसकेको उनले बताए ।

यही कारागारमा सन् २०१७ को जनवरीमा हिंसा भड्किँदा ५६ जनाको ज्यान गएको थियो । ब्राजिलमा विश्वमै सबैभन्दा बढी मानिस कैदीबन्दीका रुपमा रहेका छन् । सरकारी तथ्याँक अनुसार ब्राजिलमा सन् २०१६ को जुन महिनामा सात लाख २६ हजार ७१२ जना कैदीबन्दी थिए ।

ब्राजिलका कारागारको क्षमताभन्दा दोब्बर बढी मानिस थुनामा रहेका छन् । सन् २०१६ मा कारागारका क्षमता करिब तीन लाख ६८ हजार मात्र थियो ।

निकै भिडभाड देखिने ब्राजिलका कारागारमा समूह भिडन्त हुने गरेको छ । यहाँ कारागारभित्र दङ्गा भड्किने र कारागार तोड्ने प्रयास पनि बेलाबखत भइरहन्छन् ।
अमेजोन जङ्गल नजिकको बेलेम कारागारमा गत अप्रिलमा भएको यस्तै भिडन्तमा २१ जना कैदीबन्दीको मृत्यु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्