अफगानिस्तानका विद्यालयमा आक्रमण बढ्दो



अफगानिस्तानका विद्यालयमा आक्रमणका घटना बढ्दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ । युनिसेफले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार सन् २०१८ मा आक्रमणका घटना तीन गुणाले बढेको छ ।

विद्यालयमाथि निरन्तर भएका आक्रमणले बालबालिकाको शिक्षामा नकारात्मक असर परेको पनि युनिसेफले जनाएको छ । युनिसेफका अनुसार सन् २०१७ मा विद्यालयमा ६८ पटक आक्रमण भएको थियो । सन् २०१८ मा १९२ वटा आक्रमणका घटना भए ।

सन् २०१५ देखि विद्यालयमा आक्रमण हुने क्रम बढेको युनिसेफले जनाएको छ । अफगानिस्तानमा पछिल्लो १८ वर्षदेखिको सशस्त्र युद्धका कारण एक हजारभन्दा बढी विद्यालय बन्द भइसकेका छन् । युनिसेफका अनुसार शिक्षकको हत्या र अपहरण पनि बढेको छ ।

गत वर्ष संसद्को निर्वाचनका लागि मतदाता दर्ताका रूपमा विद्यालयलाई प्रयोग गरिएका कारण पनि विद्यालयमा आक्रमण बढी भएको युनिसेफको भनाइ छ । ७ देखि १७ वर्षको उमेरका झन्डै ३७ लाख स्कुले बालबालिका विद्यालय शिक्षाबाट वञ्चित रहेको युनिसेफले जनाएको छ ।

युनिसेफका अनुसार असुरक्षा, गरिबी र विभेदका कारण पनि विद्यालयमा बालिकाको उपस्थिति पातलो छ । तालिवानी शासनकालमा सन् १९९६ देखि २००१ सम्म बालिका शिक्षामा प्रतिबन्ध थियो । तर, सन् २००१ मा तालिवान सत्ताच्यूत भएपछि फेरि बालिकाहरूको शिक्षा खुला गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्