बेल्जियमका पूर्वराजाले बुझाए डिएनएको नमुना



बेल्जियमका पूर्वराजा अल्बर्ट दोस्रोले डिएनएको नमुना बुझाएका छन् । अल्बर्टकी छोरी दाबी गर्दै एक महिलाले अदालतमा मुद्दा दायर गरेपछि नमुना बुझाउन सर्वोच्च अदालतले पूर्वराजालाई समयसीमा तोकेको थियो । समयमै नमुना नबुझाए पाँच हजार युरो जरिवाना हुने अदालतको आदेश थियो ।

८४ वर्षीय पूर्वराजाले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । पूर्वराजाले डिएनएको नमुना बुझाएको उनका वकिल एलाइन वेरेनबुमले पुष्टि गरेका छन् । ‘अदालतले गरेको निर्णयअनुसार यस परीक्षणको निष्कर्ष त्यतिवेलासम्म गोप्य रहनेछ, जतिवेलासम्म नयाँ न्यायिक निर्णय हुनेछैन,’ वेरेनबुमले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

अल्बर्टले ६ वर्षअघि आफ्ना छोरा फिलिपका लागि गद्दी परित्याग गरेका थिए । बेल्जियमकी ५१ वर्षीया नायिका डेल्फिन बोइलले विगत एक दशकदेखि अल्बर्ट आफ्ना बाबु रहेको दाबी गर्दै आएकी छिन् । अल्बर्टका वकिलहरूले बोइलका वैध पिता हुँदाहुँदै अल्बर्टको परीक्षण गरिनु परिपक्व नहुने दाबी गर्दै आएका छन् । बोइलका पिता ज्याक्वेज बोइल बेल्जियमका धनाढ्य परिवारका सदस्य हुन् । तर, स्थानीय अदालतको फैसलाअनुसार डेल्फिन र ज्याक्वेजको डिएनएको नमुना मिलेको छैन । यही फैसलाका कारण सर्वोच्च अदालतले पूर्वराजाको डिएनए परीक्षण गर्न लागेको हो । सर्वोच्च अदालतले वर्षको अन्त्यसम्म यस विषयमा फैसला गर्ने अपेक्षा भने गरिएको छैन । बोइलले पैसाका लागि पूर्वराजाविरुद्ध मुद्दा नहालेको बताएकी छिन् । उनले पूर्वराजाकी छोरी हुँ भनेर प्रमाणित गर्न मुद्दा हालेको बताइन् ।

महारानीको आत्मकथाले विवाद
सन् १९९९ मा महारानी पाओलाले सार्वजनिक गरेको आत्मकथामा राजा अल्बर्टको अन्य महिलासँग पनि सम्बन्ध रहेको उल्लेख थियो । यस आत्मकथामा परस्त्रीसँगको सम्बन्धबाट सन् १९६० मा राजाकी छोरी जन्मिएको उल्लेख छ । त्यसयता, बोइल चर्चामा आएकी थिइन् ।

सञ्चारमाध्यमहरूले उनी राजाकी छोरी हुन सक्ने अनुमान गरेका थिए । अहिले कुनै पनि पदमा नरहेका पूर्वराजा अल्बर्टले महारानी पाओलासँग आफ्नो वैवाहिक जीवनमा समस्या रहेको स्विकारेका छन् । तर, बोइलका विषयमा कुनै टिप्पणी गरेका छैनन् । अल्बर्ट र पाओलाका तीन छोराछोरी छन् र नाति–नातिनासमेत छन् ।

त्यसमध्ये जेठा छोरा फिलिप अहिले राजगद्दीमा छन् । राजा फिलिप र महारानी माथिल्डीकी छोरी राजकुमारी इलिसावेथ अहिले १७ वर्षकी भइसकेकी छिन् । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्