रक्त अल्पता कम गर्न किशोरीहरुलाई आइरन चक्की



ओमप्रकाश गुप्ता ,
भालुवाङ  । आइरन चक्की गर्भवती महिलाहरुले मात्र खानुपर्छ भन्ने मान्यतालाई अन्त्य गर्दै नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यहि २०७५ को श्रावण देखि सुरु गरेको किशारीहरुका लागि आइरन चक्की वितरण गर्ने अभियानलाई गढवा गाउँपालिकाले नियमित र प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ ।

प्रदेश नं। ५ मा मात्र ४४ प्रतिशत किशोरीहरुमा रक्त अल्पताका देखा परेको र यसका कारण किशोरीहरुमा देखापर्ने विविध समस्यालाई न्यूनिकरण गर्न गाउँपालिकाले यो अभियानलाई प्रभावकारीता दिन थालेको गढवा गाउँपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेलले बताए ।

गाउँपालिकाभरका विद्यालयका शिक्षकहरु तथा स्वास्थ्यकर्मीहरु विच विद्यालय स्वास्थ्य शिक्षा पोषण र किशोरीहरुलाई आइरन चक्की वितरण कार्यक्रम सम्बन्धी एकदिने समिक्षा गोष्ठीको आयोजना गरी यो नेपाल सरकारको अभियानलाई सार्थकता दिन बार्षिक कार्ययोेजना समेत तयार गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रजनन् उमेरका १५ देखी ४५ बर्ष उमेर समूहका किशोरी तथा महिलाहरुमा देखापर्ने रक्त अल्पताको कमिगर्न र पोषणको ब्यवस्थापन गर्न नेपालभरका विद्यालयहरुमा यो कार्यक्रम लागु भएको र १३ हप्ता बिराएर २६ हप्ता आइरन चक्की खानुपर्ने स्वास्थ्य शाखाले जनाएको छ ।

विद्यालय जाने उमेर समुहका किशोरीहरुले चाउचाउ,बिष्कुट,कुरमुरे जस्ता ड्राइफूडको खाजा खानेगर्दा रक्त अल्पताको समस्या देखिएको चिकित्सकहरुको ठहर छ ।
गढवा गाउँपालिकाले सरकारको यो अभियानलाई सार्थक तुल्याउन आइतवार बार्षिक कार्ययोजना तय गरेको छ ।

जस अनुसार हरेक विद्यालयहरुमा स्वास्थ्य संस्थाले आइरन चक्की उपलब्ध गराउने,किशोरीहरुको संख्या एकिन गर्न डाटा संकलन गर्ने,हरेक महिनाको २१ गते देखी आइरन चक्की खुवाउने र बर्षमा २ पटक पालिका स्तरीय समिक्षा गोष्ठी आयोजना गर्ने र आइरन चक्की वितरणको प्रतिवेदन गाउँपालिकामा पेश गर्ने कार्ययोजना तय भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नोखीराम ओली,सुुआहारा कार्यक्रमका आनन्द कर्ण र शिक्षक बासुदेव पाण्डेयले बोल्नुु भएको थियो भने कार्यक्रमको सहजीकरण स्वास्थ्य संयोजक लोकराज पौडेलले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्